बैठकमा ठोस निर्णय नभए पनि सार्कको विपद् व्यवस्थापन केन्द्रलाई वातावरण तथा उर्जा पाकिस्तानमा र विपद् व्यवस्थापन केन्द्र भारतमा राख्ने सहमति भएको छ। सामुदायिक वन, दक्षिण एसियाली नागरिकको गरिबी न्यूनीकरण, जलवायु परिवर्तन न्यूनीकरण, आठै राष्ट्रलाई जोड्ने यातायात सञ्जाल विस्तार गर्ने विषयमा छलफल भयो।
प्रकाश ढकाल
पोखरा, चैत ५ ।
चार दिनदेखि पोखरामा भएको सार्क विदेश मन्त्रीस्तरीय बैठक बिहीबार सकिएको छ । यसपालीको बैठक पनि भारत-पाकिस्ताबीचको सम्बन्धका बिषयमा बढी केन्द्रित भयो। बैठकमै यो विषय एजेण्डाको रुपमा नआए पनि दुर्इ देशको सम्बन्धका विषयमा पटक-पटक छलफल भयो । पोखरा बैठकमा पनि अधिकांश पुरानै एजेण्डामा निर्णय गरिएको छ। सार्कका विशेष अङ्गहरुलाई चुस्त-दुरुस्त बनाउन र बिगतका निर्णयलाई कार्यान्वयन गर्नेतर्फ बैठकमा छलफल भएको सहभागीले बताएका छन्। ‘सार्कका सबै सदस्य राष्ट्रले सार्कका कार्यक्रम नतिजामुखी हुन नसकेको समीक्षा गरेका छन्’-बैठकका अध्यक्ष तथा परराष्ट्रमन्त्री कमल थापाले भने-‘अध्यक्षको हिसाबले हामीले पनि बढी जोड निर्णय कार्यान्वयनमा दियौं, चिन्ता बढेको छ, आगामी दिनमा योजना फोकस गरेर कार्यक्रम गरिने छ।’
चैत एक गतेदेखि सुरु कार्यक्रम अन्तर्गत पहिलो दुर्इ दिन विदेश सह-सचिवस्तरीय कार्यक्रम समितिको बैठक बसेको थियो भने त्यसपछि तीन गते सचिवस्तरीय स्थायी समितिको बैठक बसेको थियो। अन्तिम दिन विदेशमन्त्रीको बैठक भएको हो। बैठकले दक्षिण एसियाली क्षेत्रको विकास र समृद्धिका विषयमा केही महत्वपूर्ण निर्णय गरेको छ। यसअघि पटक-पटक विवादमा आएको सार्कको विपद् व्यवस्थापन केन्द्रको बिषय टुङ्गिएको छ । भारत र पाकिस्तान दुवै देशले केन्द्र राख्न पाउनु पर्ने माग गरेकामा बैठकले त्यसलाई टुक्रयाएर वातावरण तथा उर्जा पाकिस्तानमा र विपद व्यवस्थापन भारतमा राख्ने सहमति गरेको छ ।
यसैगरी, नयाँ विषयका रुपमा सामुदायिक वन व्यवस्थापन कार्याक्रम समावेश भएको छ। सामुदायिक वन व्यवस्थापन कार्यक्रम प्रभावकारी भएपछि नेपालले यसलाई सार्क क्षेत्रमा नै विस्तार गर्न प्रश्ताव गरेको थियो। यसलाई सचिव र मन्त्रीस्तरीय बैठकले पास गरेर शिखर सम्मेलनमा पठाउने निर्णय गरेको थापाले जानकारी दिए। सार्कका पर्यवेक्षकको भूमिका प्रभावकारी बनाउने, उनीहरुलाई प्रोजेक्ट बेस बनाउने, दक्षिण एसियाली नागरिकको गरिबी न्यूनीकरण गर्न पहल गर्ने, जलवायु परिवर्तन न्यूनीकरणमा पहल गर्ने जस्ता विषयहरुले पनि बैठकमा स्थान पायो। बैठकले सार्कका आठ वटै राष्ट्रलाई जोड्ने यातायात सञ्जाल विस्तार गर्ने विषयमा पनि छलफल गरेको मन्त्री थापाले बताए। ‘यातायात सञ्जाल विस्तारका विषयमा लामो समय छलफल भयो’-उनले भने-‘केही राष्ट्रको असहमतिका कारण निर्णयमा पुग्न सकेन, आगामी बैठकमा निरन्तर छलफल भइरहनेछ।’
सहभागीले निकै सौहार्दपूर्ण वातावरणमा बैठक भएको प्रतिक्रिया दिएका छन्। नेपालका परराष्ट्रमन्त्री कमल थापाले पोखरा बैठक सार्क इतिहासकै कोशेढुङ्गा सावित भएको बताए। यस्तै, भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि पोखराको बैठक निकै महत्वपूर्ण भएको बताइन्। ‘पोखराको बैठककै कारण पाकिस्तान र भारतबीचको छलफल पनि सम्भव भयो’-स्वराजले भनिन्-‘एजेण्डा कार्यान्वयनमा बैठक केन्द्रित भयो।’
बैठकमा उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा, भारतका विदेशमन्त्री सुष्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुन्या मौमुन, श्रीलङकाली विदेशमन्त्री मङ्ला समरावेरा, बङ्गलादेशका विदेशमन्त्री अबुल हसल मोहम्मद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाइ र पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज आजिज सहभागी थिए ।
भारत-पाकिस्तान वार्ता
2सार्कको पोखरा बैठककै अवसरमा भारत र पाकिस्तानका विदेश मन्त्रीबीच भेटवार्ता भएको छ। भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तान प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज आजिजबीच बिहीबार भेटबार्ता भएको हो। भेटकै क्रममा आजिजले भारतीय विदेशमन्त्री स्वराजलाई १९ औं शिखर सम्मेलनको निम्तो दिए।
आजिजले पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको निम्तोपत्र स्वराजमार्फत दिएका हुन्। भारत र पाकिस्तानका विदेशमन्त्री बीच बैठक अवधिभर तीनपटक वार्ता भयो। बुधबार नेपालका परराष्ट्रमन्त्री कमल थापाले आयोजना गरेका रात्रीभोजका क्रममा दुर्इपक्ष बीच बैठक भएको थियो भने बिहीबार बिहान फिस्टेल लजमा पनि उनीहरुबीच ब्रेकफास्ट बैठक भयो। अन्तिम पटक कार्यक्रम स्थल पोखरा ग्राण्डमै उनीहरुबीच अको छलफल भयो। भेटमा पाकिस्तान र भारतको सम्बन्ध सुधारका विषयमा छलफल भएको थियो।
विशेषगरी तीन महिनाअघि भारतको पठानकोटमा भएको आक्रमणका विषयमा छलफल केन्द्रित भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार यही महिनाको २८ तारिखबाट आक्रमणसम्बन्धी छानविन गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन् भने पाकिस्तानले सहयोगका लागि २७ तारिखमै बिशेषज्ञ टोली पठाउने जानकारी दिएको छ। आक्रमणमा ७ सुरक्षाकर्मीसहित १५ जनाभन्दा बढीको मृत्यु भएको थियो। वार्तापछि सल्लाहकार अजिजले दुवै देशबीच महत्वपूर्ण कुराकानी भएको प्रतिक्रिया दिएका छन् ।
सार्क सम्मेलनको मिति तोकियो
SAARCदक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को १९ औं सम्मेलन यसैवर्षको नोभेम्बर ८, ९ र १० तारिखमा हुने भएको छ। सम्मेलन पाकिस्तानमा हुने निर्णय भएको भएपनि मिति भने तोकिएको थिएन। सार्क राष्ट्रका विदेशमन्त्री स्तरीय बैठकले बिहीबार शिखर सम्मेलन हुने मिति टुङ्गो लगाएको हो।
यसैबीच बैठकले आगामी शिखर सम्मेलन नोभेम्बर महिनामा मात्रै गर्ने निर्णय समेत गरेको छ। यसअघिका शिखर सम्मेलनहरु बेला-बेला स्थगित हुने गरेको भन्दै त्यस्तो समस्या आउन नदिन आगामी सम्मेलन एउटै महिनामा मात्रै गर्ने निर्णय गरिएको नेपालका परराष्ट्रमन्त्री एवम् बैठकका अध्यक्ष कमल थापाले जानकारी दिए।
‘सार्कको मुख्य समस्या गरिबी’
pm oliप्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रहरुमा व्यप्त गरिबी विकासको सबैभन्दा ठूलो शत्रु भएको टिप्पणी गरेका छन्। ३७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठकको उद्घाटनपछि ओलीले भने(‘गरिबी र पछौटेपन सार्क देशका साझा सत्रु हुन्’-उनी भन्छन्-‘यस क्षेत्रको गरिबी निवारणका निम्ति सार्कका देशबीच आपसी सहकार्य अत्यावश्यक छ।’ गरिबी निवारण गर्नका लागि सार्क देशहरुसँग स्रोत पर्याप्त भएको भन्दै उनले आपसी समन्वयको अभावले मात्रै लक्ष्य पूरा गर्न नसकेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले सार्क क्षेत्रको समृद्धिका लागि कनेक्टिभिटीलाई प्राथमिकता दिनुपर्ने बताए। यातायात, सञ्चार जस्ता क्षेत्रमा एक अर्कालाई जोडेर व्यापार विस्तार गरी आर्थिक समृद्धि गर्न सकिने उनको भनाइ छ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को मर्मलाई मर्न नदिने ओलीले प्रतिबद्धतासकेत जनाए। ओलीले सार्क एकता र सहकार्यका लागि स्थापित संगठन भएकाले यसको उद्देश्य प्राप्तिमा नेपाल सधैँ प्रतिबद्धरहेको बताए। सार्क स्थापनाको उद्देश्य र भावनाको पूर्र्ति गर्न नेपाल पूर्णरुपमा प्रतिबद्ध छ’-उनले भने-‘उद्देश्य प्राप्तिका लागि सबै सदस्य राष्ट्रहरु पनि एकजुट हुनुपर्छ, त्यो नेपालको मात्रै अठोटले पुग्दैन।’
ओलीले नेपालको नयाँ संविधान संसारकै उत्कृष्ट रहेको भन्दै यसको कार्यान्वयन हुन सके लोकतन्त्र संस्थागत हुने स्पष्ट पारे। भूकम्पका बेला मित्र राष्ट्रहरुले गरेको सहयोगप्रति पनि उनले धन्यबाद ज्ञापन गरे। उनले सार्क क्षेत्रमा रहेका स्रोत साधनको अधिकतम उपयोग गरेर जतिसक्दो छिटो आर्थिक उन्नति गर्ने खालका योजना तयार गर्नुपर्नेमा जोड दिए। सार्कका महासचिव अर्जुनबहादुर थापाले सार्क दक्षिण एशियाली मुलुकलाई जोड्ने पुल भएकाले सुख-दुःख साटासाट गर्न यसको भूमिका महत्पपूर्ण भएको बताए। उनले सार्क विकास कोषको फाँटलाई दरिलो पारी संयुक्त फाइदा हुने खालका ठूला परियोजनामा लगानी गर्नुपर्ने बताए। थापाले सार्क राष्ट्रका धार्मिक महत्व उजागर भएमा पर्यटकीय चहलपहल वृद्धी गर्न सकिने विश्वास व्यक्त गरे। बैठकको अध्यक्षता गरेका परराष्ट्र मन्त्री कमल थापाले सार्क राष्ट्रबीच परस्पर सम्बन्ध आवश्यक रहेको बताए।
सियाल नयाँ महासचिव
husainसार्कको नयाँ महासचिवमा पाकिस्तानका अमजाद हुस्सैन बी सियाल चयन भएका छन् । पाकिस्तानले प्रस्ताव गरेको नयाँ महासचिवको नामलाई बिहीबार बसेको विदेशमन्त्री बैठकले अनुमोदन गरेको बैठकमा सहभागी स्रोतले बताएको छ ।
आगामी नोभेम्बरमा पाकिस्तानमा हुने सार्कको १९ औं शिखर सम्मेलनले सियालको नाम औपचारिक रूपमा अनुमोदन गर्नेछ । सियालले सन् २००३ देखि २००६ सम्म नेपालस्थित सार्क सचिवालयमा पाकिस्तानका तर्फबाट निर्देशकका रूपमा काम गरिसकेका छन् । उनी पाकिस्तानका तर्फबाट विभिन्न मुलुकमा राजदूतसमेत भइसकेका कूटनीतिज्ञ हुन् । वर्तमान महासचिव अर्जुनबहादुर थापाको कार्यकाल सन् २०१७ को मार्चमा सकिँदैछ ।

SHARE