दोसल्ला भन्नाले किनाराँ कार्बोची बुट्टा खुट्टाले अडिएको बीचबीचा‘ केही फुलबुट्टाले दुईसरो उनीको मूल्यवान ओढ्ने धरो भन्नु पर्दैन होला । विशेष गरी बिहाँ बेहुला तर्फबाट बेहुलीलाई लगिने महँगो खालको उनीको खास्टो अर्थात भनौ भने कुनै विशिष्ट व्यक्त्तित्व सम्माना खातिर ओढाइने राम्रा राम्रा खास्टा लास्टाँ गतिलालाई गरेनन् वास्ता म भन्दिन के रे हजुर ।

म सानो हुँदा मेरा हजुरबा आमाले घराँ पूजा लगाएको देख्याथेँ । चाहे रुद्री लगाउँदा होस् चाहे सत्यनारायणा पूजानै लगाउँदा किन नहोस् । मन्दिर भित्र ठाउँ ठाउँमा चोखो कपडाको दोसल्लाले घेरिएका कलसहरू, मन्दिर माथि टाँगिएको झलझल परेको किनाराहरू भएको चँदुवालाई म साना माना सरी सेलरेटी खाँदै रमाउँदै बाबा, आमा र पण्डितजीसँग सोध्थेँ पनि ‘यो के हो ? यो किन राखियो ? यसको मतलब के हो?’ कहिलेकाँही त मेरा प्रश्नको वर्षाले आमा अर्सा बनाउनै बिर्सनु हुन्थ्यो ।

त्यति मात्रै किन हुनु ? गाई तिहाराँ गाईको पूजा अरेर टाउकाँ बाउको चोखो हातले धजो गाईको सिङमा तेल लगाएर बाँधिदिनु भएको माली गाईको अनुहार र सिङम रङीचङ्गी दोसल्लाले असाध्यै राम्रो देखिने । त्यस्तै गोरु तिहाराँ गोरुको टाउकाँ बाउकै हातले गोरुले लात नहान्दासम्म सिगाँ, खुराँ धजाले टिकाले र रङले मात्रै हो र मालाले पनि आमै नि यो के गर्नु भएको भनेर सोध्दा त्यो दिन बुवा र आमाले गाई र गोरु भन्दा ठूलो यस संसाराँ कोही पनि छैन भन्दै गरेको व्याख्यानले त मलाई आख्यान लेख्नु पर्ला भन्ने लाग्थ्यो । मलाई लाग्थ्यो भोलिदेखि यसरी नै पूजा अरिन्छ । गाई त साक्षात लक्ष्मी पो । अर्को दिन कुकुरको लर्को आ …मा… मा…. कुकुरको पूजा गरी ओरी घाँटियाँ माला लगाइ दोसल्ला ओढाएर मेरा बाबा, आमाले पूजा मात्रै गर्नु हुन्थ्यो । लाग्थ्यो त्यो दिन कुकुर बाहेक यो संसाराँ अर्को ठूलो कोही पनि छैन होला । जय शंकर भोला, झण्डै मैले ढोगेको जे जे होला होला…।

म आफै पनि सम्झन्छु कुकुर जस्तो देवतालाई त्यत्रो मान सम्मान गरेर लगाइ दिएको माला ओढाइ दिएको दोसल्लाको वास्तै नगरि तोरिवारी माडन दौडिहाल्थ्यो । फेरी यो तिहार पनि कात्तिक मङ्सिर ताका पर्नु पर्ने, कुकुरनीको पछि कुकुरै कुकुर दगुर्नु पर्ने । हैन अरु कुकुर दौडे पनि त्यो दोसल्ला ओढेको कुकुर त त्यसरी नदगुरे हुने नि हैन र ? कस्तो लाज नभएको कुकुर ? त्यस्तै त हो नि पूजा अर्या गाई बर्तेर झन दोसल्लाको दोहोलो काड्दै मान सम्मानाँ ख्यालै नगरेको देख्दा हाम्रो मनले राम्रो नमानेको हो । त्यस्तै पूजा अर्या गोरूको चालमाल झन बेईमान ! खै त दोसल्लाँ ईमान ? गोरु पनि कुकुर जस्तै दौडेको दौडै गर्नु पर्ने नकचरो कहाँको ? यो दौड पनि सबै गौड़ हुन्न केरे ! पत्याए पत्याउनुस् नपत्याए नपत्याउनुस् देश वन्दाँ, कमिसनको फन्दाँ, कुर्सीको धन्दाँ, विदेश जाने मन्मा, सेमिनार हुन्छ तनमा संसाराँ नेताजी दौड्नु हुन्छ वचनाँ सर्वश्रेष्ठ बन्ने सपनाँ दोसल्ला ओड्ने जपना । वा वा दोसल्ला तिमीलाई मैले माने ! तिमी त सबैलाई घोडा बनाउने रहेछौ र जताततै छाउने रहेछौ ! नाउँ पनि कमाउने रहेछौ ! त्यो लाजमर्दो ठाउमाँ जाउँ जाउँ पनि वनाउने रहेछौ ।

पशुपति नाथा मन्दिरको बारेमा हामीले पढेका थियौ । धेरै पछि म पनि काठमाडौं बुवासँग श्री पशुपति नाथको चरणाँ धर्माँ शरण माग्न गएँ । पशुपति नाथा चारै ढोका खुले पनि हामीले भने बाहिरै झयालबाट राम्रोसँग भगवानलाई हेर्न पाइएन । तर चारै ढोकाँ पैसोंले पशुपति नाथा भक्त्त, पशुभक्त्त पशुपतिनाथा पुजारी, पशु पुजारी महाराजलाई ठूला ठूला दानले मान किन्न सक्ने व्यापारको धन जसलाई भन्नु भने राम्रोसँग नेपाली आउँदैन उहाँहरू मात्रै भित्रै छिर्नु पूजा गर्नु भगुवानका सरण पर्नु श्री पशुपतिनाथको विकास गर्नु हो नि ! हाम्लाई पशु पुजारी महाराजले पशुपति नाथ भगवानका चारैतिर द्वारमा उभिनु भएका पशुद्वारे महाराजले देख्नासाथ पैसावाला र पैसा नभएका अर्थात हाताँ फूलपाती र माला जातीसगँ आफ्नै हातले झ्याप्पै पशुपति महाराजका परिसराँ धरो हाल्ने श्री रामचन्द्रका सेना पशुपति नाथका संरक्षक बाँदर महाराजले जस्तै च्याप्मै पारेर प्रसाद भित्र फाली हाल्नु भयो भगुवानले पाउनु भयो । मैले पनि ठेलिंदै भगवानको चरणा मेरा नयन शरण गराउन भ्याइ हाले महाराज पशुपति अर्थात पशुका मालिक शीवजीको शीवलिंगा टुप्पाँ दोसल्ला रङ्गीचङ्गी झुप्पा देखेर चाहिँ मलाई लाग्यो यो दोसल्ला पनि कहाँ कहाँ टाँगिनु पर्ने ? त्यो मेरो बाल मनस्थितिको दोसल्लाको सम्माना दोसल्ला बर्को पशुहरूको लर्को कहाँ कहाँ हेर्नेलाई नहोस् झर्को दोसल्ला वाहेक छैन अर्कों । अचम्मै लाग्यो बा ।

त्यही वर्ष मेरा बाबा आमाले मलाई ब्रतबन्ध गराइ दिनु भयो । आहा लाठे भएर गरेको ब्रतबन्ध एकातिर लाज र शर्मा अर्कोतिर धर्म संकट परे पनि जे होस् व्रतवन्धा झन्झट त टर्यो नि । मेरो व्रतवन्धाँ ढयाक्कै त्यस्तै चोखो धजाले चार इञ्चको सराले मलाई लँगौटी बनाइ बेरिएर नाङ्गै भिक्षा माग्दै हिँड्नु पर्ने त्यसाँ पनि सबै इस्टमित्रले चोखो धजोलाई लँगौटी भनेको सुन्दा म कन्फयुजाँ परें । श्री पशुपति नाथ भगवानको दोसल्ला जस्तो पँहेलो र चोखो कपडालाई लँगौटी भन्ने नामले मलाई मान र दान दोसल्ला सम्मान छुट्याउनै गाह्रो भयो । दामै त हो नि यो दुनियाँ दोसल्ला ओढे नि, मान प्रतिष्ठा बढे नि, धेरै पढे नि, पदाँ चढे नि,जे जे गरे नि दामै दमडी हुँदोरहेछ ।

अरू त अरू मेरो बिर्खे भाइको कुरो म गरूँ कि नगरूँ ? मेरो बिर्खे भाइले सुर्वालाँ सु गर्ने उमेराँ चोर्या गुच्चा गुडाउँथ्यो । चोरेरै र लुटेरै जम्मा गर्या धना सेषीले मनग्गे नाउँ कमाएको देखियो भनेर भन्न नहुने । म सुन्दैछु मेरो भाइ वृषु उखुबारीयाँ गाड्या धन बोकेरै रोकी नसक्नु दमड़ीवाल भएछन् । दमडीकै दमले गमेरै होला नामका अगाडि वृखेबाट श्री वृखजी र झन झन दमडी जम्मा गर्दै नामका अगाडि श्रीमानबाट, माननीय, सम्माननीय, महामहिम के के हो के के को पगरि भर्दै तरक्की गरेको छ भन्ने सुन्दा बधाई छ वावु वृषु भन्दिन्छु लु जा ।

मैले सुनेको बाबु वृषुले अब हुने कार्यक्रमको गन्ध मन्दसँग थाहा पाउना साथ धन्दा नमानी मोवाईलाँ घण्टी यस्सो घुमाउँदै आफ्नो बसाँ नपर्दासम्म दमडीकै पौचले दोसल्ला दौंतरीका अगाडि चौतारीका चौके बन्दै दुनियाँलाई पछाडि पार्दै भाषण झार्दै पद पावर र पैसाको आडाँ भाडा असुल्छ रे । पैसालाई नै शक्तिशाली मानेरै होला उसले पैसाकै लागि दाइ पनि भनेन, भाइ पनि भनेन, गाई पनि भनेन, दिदी पनि भनेन, बैनी पनि भनेन, आमा पनि भनेन, बाउ पनि भनेन, देश पनि भनेन, समाज पनि भनेन, ज्ञान पनि भनेन, मान पनि भनेन, विवेक पनि भनेन, विश्वास पनि भनेन, त्यसैले उसले पैसालाई महत्व दियो र पो आज दोसल्ला भिर्यो । दश पटक फोन गरेर पनि कार्यक्रम चलाउने वाई ! फकाईहाल्छ बजियाले अनि अरूलाई भन्छ– उसले मलाई फोन गरेर हैरान पार्यो’ ।

हैन यो दोसल्ला पनि कस्तो मेरै काले भाइ जस्तो लाज नभएको नकचरो लाज पचाएको मै जस्तो हैन त हजुर ? आफै कार्यक्रम गर्ने आफै दोसल्ला भिर्ने के के न आफ्नै बखान गर्दै समाजाँ छिर्ने…. । मलाई लाग्यो मेरो भाइमोरो त गोरुको आङमा बसी रगत चुस्ने साँच्चैको किर्ने दोसल्ला त गोरु तिहाराँ गोरुले भिर्ने, गाई तिहाराँ गाईले भिर्ने, पशुपतीयाँ शिवलिङ्गले भिर्ने र कुकुर तिहाराँ कुकुरले भिर्ने । त्यसैले म भन्छु पशु दोसल्ला जिन्दावाद ! हजुरहरू भन्नुस् जिन्दावाद !! जिन्दावाद !!!

SHARE