पोखरा, असार ६ ।
पोखरामा निर्माणको चरणमा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको प्याराग्लाइडिङको भविश्य के होला भन्ने अन्यौलता अझै कायम छ । पोखराको सराङकोटमा उडान भर्दै गरेका २० र तोरीपानीमा उडान भर्ने अनुमति पाएका ४२ गरी ६२ कम्पनीको भविश्य अन्यौलमा छ । पोखरामा आयोजित प्याराग्लाइडिङ ब्यवसाय समस्या, चुनौती र समाधान बिषयक अन्तरक्रियामा व्यवसायी र पाइलटले यसको भविश्यमाथि चिन्ता ब्यक्त गरिरहदा नेपाल नागरिक उडड्यन प्राधिकरण र पर्यटक मन्त्रालयका जिम्मेवार पदाधिकारीले पनि स्पष्ट जवाफ दिन सकेनन् ।
सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गत हवाई विभागका सहसचिव बुद्धिसागर लामिछानेले अन्तराष्ट्रिय विमानस्थल निर्माण कम्पनीले डिपिआर तयार गरेपछि मात्रै यसबारे भन्न सकिने बताए । उनले भने ‘ ब्यक्तिगत रुपमा पोखराबाट प्याराग्लाइडिङ नहटोस् भन्ने मेरो कामना हो तर प्राविधिक रुपमा नमिल्ने भएमा त्यसका लागि नजिकको विकल्प खोजौ । ’ उनले विकल्पको पनि खोजी गर्न ब्यवसायीलाई आग्रह गरे । नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले विमानस्थल सञ्चालनमा आएपनि अहिलेको प्याराग्लाइडिङको भविश्य के होला भन्ने वारे यसै भन्न नसकिने स्पष्ट पारे । उनले भने, ‘ अन्तर्रा्ष्ट्रिय विमानस्थलको एयर स्पेसको स्टक्चर कसरी हुन्छ, उडान अबतरणको प्रकृति लगायतलाई आधार मानेर मात्रै यसबारे थाहा हुने हो । ’ निर्माण कम्पनीका प्राबिधिकहरुसँगको सल्लाहपछि मात्रै यसबारे टुङ्गो लाग्न सक्ने उनले उल्लेख गरे । तर उनले अहिल्यै आत्तिहाल्नुपर्ने अबस्था भने नरहेको बताए ।
नागरिक उडड्यन विभागका फोकल पर्सन देबेन्द्र पाण्डेले अन्तराष्ट्रिय विमानको उडान क्षेत्र बाहिरमात्रै प्याराग्लाइडिङ उडान हुन सक्ने बताए । उनले पोखराको आकाशमा उडान भर्नेगरी प्याराग्लाइडिङ कम्पनी दर्ता प्रक्रिया रोकिएकाले अन्य क्षेत्र रोज्नुपर्ने समेत बताए । पोखरा बाहिर देशका अन्य स्थानमा उडानको लागि भने सरकार खुल्ला रहेको उनले बताए । ‘ देशका अन्य स्थानमा उडान भर्न चाहनेलाई सरकारले सहुलियमत दिएर प्रबद्र्धन समेत गर्छ । ’ उनले भने । साहसिक खेलको माध्यमबाट पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने प्याराग्लाइडिङ ब्यवसायमा पछिल्लो समय चुनौतिको चाङ देखापरेको छ । ब्यवसाय ब्यवस्थापनदेखि अनुमति पत्र बितरण, उडान अबतरण क्षेत्र निर्धारण, उडान सामाग्री खरिद , पूर्वाधार विकास तथा पाइलटको आधिकारिता , नीतिगत अस्पष्टता लगायतका थुप्रै समस्या यो क्षेत्रमा देखिएको छ ।
२० वर्ष अगाडि सनराईज प्याराग्लाइडिङबाट सुरु भएको पोखराको प्याराग्लाइडिङ अहिले ब्यवसायीक रुपमा फष्टाउदै जाँदा ६२ वटामा पुगेका छन् । २० वर्षको विचमा ६२ कम्पनी दर्ता भएर सञ्चालनमा आएपनि सिमित उडान क्षेत्र, पाईलटको अभाब तथा अडान सामाग्री आयात लगायतको समस्या पनि बढ्दै गएको छ । हाल सराङकोटमा २०, तोरीपानीमा ४२ गरी पोखराको आकाशमा ६२ कम्पनीले उडान गरिरहेका छन् । सराङकोटको आकाश साघुरिदै जाँदा बैकल्पिक स्थानका रुपमा नयाँ थपिएका कम्पनीलाई तोकिएको तोरीपानी क्षेत्र पनि अब साघुरिन थालेको छ । पछिल्लो समय पोखराको विकल्पको रुपमा काठमाडौंमा चार, बन्दिपुरमा चार, धरानमा दुई तथा पाल्पा, सुर्खेत र स्याङजामा एक÷एक कम्पनीले उडान अनुमति लिएका छन् ।
पोखरा सहित देशका विभिन्न स्थानमा उडान भर्ने गरी हाल सम्म ७५ कम्पनी सञ्चालनमा आएका छन् । यी कम्पनीबाट ब्यवसायीक उडान भर्नको लागि जम्मा एक सय सात पाइलट छन् । पाइलटको अभाबका कारण केहि नयाँ कम्पनीले अनुमति लिएको एक बर्ष सम्म पनि उडान भर्न सकेनन् । प्याराग्लाइडिङ कम्पनी थपिएसँगै बढ्दै गएको यो क्षेत्रको लगानी पछिल्लो समय जोखिममा पर्ने समेत चिन्ता सुरु भएको छ । पोखरामा बन्न लागेको अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाको प्याराग्लाइडिङ विस्थापित हुने चिन्ताले ब्यवसायीलाई सताएको छ । नेपाल हवाई खेलकुद संस्था (ना ) का महासचिव बसन्तराज दवाडीले प्याराग्लाइडिङमा सामाग्री खरिदमा उच्च लागत, अस्पष्ट नीति, अडान अनुमति, चालक अनुमतिपत्र प्रदान, तालिम, पाइलटको आधिकारिता, पूर्वाधार विकास लगायतका चुनौति देखिएको बताए । उनले भने ‘ हामीलाई सरकारले दिएको सुविधा खुल्ला आकाश मात्रै छ अरु केहि छैन । ’ दवाडीले अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको प्याराग्लाइडिङको भविश्य के हुने भन्ने अन्योलताले ब्यवसायीहरु त्रसित रहेको समेत बताए ।
कार्यक्रममा बोल्ने पाइलटहरुले पटके उडान शुल्क खारेज हुनुपर्ने, स्थायी अनुमति पत्रको ब्यवस्था गर्नुपर्ने तथा विमाको ब्यवस्था हुनुपर्नेमा जोड दिए । राष्ट्रिय पर्यटन परिषद्का सदस्य वासु त्रिपाठीले प्याराग्लाइडिङको लागि मनपरी शुल्क लिने गरेको भन्दै आपत्ती जनाए । उनले शुल्कमा एकरुपता हुनुपर्नेमा जोड दिए । ब्यवसायलाई दिगो, विश्सासिलो र भरपर्दो बनाउने जिम्मेवारी ब्यवसायीको पनि भएको उनले बताए । पोखरामा प्याराग्लाइडिङ गर्न २० देखि ३० मिनेटका लागि नेपालीलाई ६ हजार ५ सय र विदेशीलाई १० हजार रुपैया शुल्क निर्धारण गरिएको छ । तर ब्यवसायीहरुले आफुखुसी कसैलाई बढी र कसैलाई कम शुल्क लिने गरेका छन् । पर्यटन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणले पनि यसबारे संस्थागत रुपमा नियमन गर्न नेपाल हवाई खेलकुद संस्थालाई आग्रह गरेको छ ।
पाइलटको स्थायी लाइसेन्सको लागि स्याङजामा खुलेको र बन्दिपुरमा खुल्न लागेको प्याराग्लाइडिङ स्कुलबाट प्रमाणपत्र प्राप्त गरेपछि मात्रै त्यसैको आधारमा प्रादन गर्न सकिने नागरिक उडड्यन कार्यालयले जनाएको छ । त्यस्तै पटके उडान शुल्कको विषयमा अब संसोधन भएर आउने हवाई खेलकुद नियमावलीले हटाउने विश्वास ब्यक्त गरिएको छ ।

SHARE