प्रकाश ढकाल
पोखरा, असार १५ ।
पोखरा उपत्यकामा ४ वटा ठूला सिञ्चाई आयोजनाहरु छन् । फेवा, सेती, बेगनास र बिजयपुर सिञ्चाई आयोजनाले यस क्षेत्रका ३ हजार २१० हेक्टर जमिनमा सिँचाई गर्न सक्छन् । पोखरा र लेखनाथ क्षेत्रका जमिन खेतीयोग्य भएकाले २०४५ साल पहिले नै दातृ निकायको सहयोगमा चारै सिञ्चाई आयोजनाहरु निर्माण गरिएका हुन् । तत्कालीन समयमा सिञ्चाई हुने जमिनमध्ये आधाभन्दा बढी जमिनमा अहिले सिञ्चाई हुँदैन । खेतीयोग्य जमिन प्लटिङ गरेर बस्ती बसाएकाले सिञ्चाई आयोजनाहरु न्यून प्रयोग भैरहेका छन् । तर कति जमिन नासियो भन्ने तथ्याकं चाहीँ कुनै कार्यालयसँग छैन । नगरपालिका र सिञ्चाई आयोजनाहरुले आवश्यक तथ्याकं नदिएकाले खेती गरिएको र खेती नगरिएको जमिन छुट्याउन नसकिएको जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख रमेश प्रसाद कोइराला बताउँछन् । जिल्लामा बर्षेनी खेतीयोग्य जमिन नासिँदै गएको छ, नगर क्षेत्रमा भएका सिञ्चाई आयोजनाहरु पनि ढलमा परिणत भैसके, कोइराला भन्छन्–कति जमिनमा खेती हुँदैन भन्ने तथ्याकं चाहीँ हामीसँग छैन ।
फेवा र सेती नहरले समेट्ने ३० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा प्लटिङ भैसकेको पश्चिमाञ्चल सिञ्चाई डिभिजन कार्यालयका इञ्जिनियर गोविन्द भुर्तेलले बताए । यस बाहेक बिजयपुर र बेगनास आयोजनाको अवस्था पनि उस्तै छ । बैदाममा अहिले नहरको पानी नै जाँदैन, पानी जाने अरु ठाउँमा पनि पूरै सिञ्चाई भएको छैन, भुर्तेलले भने–जथाभावी प्लटिङले खाली जमिन समेत कंक्रिट जस्तो भएको छ । बैदामका लागि लगिएको सेती नहरको पानी अहिले बुलौँदीखोला बाटै भाँचिएको छ । पछिल्लो समय एकीन तथ्याकं नभएपनि पोखरा र लेखनाथ क्षेत्रमा अत्याधिक प्लटिङ भैरहेका छन् ।
करीब डेढ दशक अघिदेखि गरिएको घरजग्गा कारोबारका कारण हालसम्म पोखरा उपत्यका क्षेत्रमा १५ हजार रोपनी भन्दा बढी जग्गा खेतियोग्य जमिनबाट घर घरेडीमा परिवर्तन भएको छ । पोखरा उपमहानगरपालिकामा हाल बर्षेनी ५ हजार भन्दा बढी घर निर्माण हुन्छन् । तिमध्ये ७० प्रतिशतभन्दा बढी घर प्लटिङकै जमिनमा निर्माण भएका पोखरा उप महानगरपालिकाका बरिष्ठ इन्जिनियर शारदा मोहन काफ्लेले जानकारी दिए । पोखराको १७, १४, र १५ नम्बर वडामा बढी प्लटिङ भैरहेको छ । बिशेषगरी ताल क्षेत्र र सार्वजनिक जग्गा भएका ठाउँहरुमा प्लटिङ बढी हुने गरेको बताउँछन् लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी ।
नेपाल सरकारले ल्याएको जग्गा विकास कार्यक्रम मात्रै लागू गर्ने हो भनेपनि लेखनाथ अझै विग्रिन बाट जोगाउन सकिन्छ, उनले भने–तर स्थानीय सरकार नै यसबाट पन्छिँदै आएको छ, जिम्मेवारी लिने निकाय नहुँदा योजना सबै अलपत्र छन् ।  भूमिको मनपरी प्रयोग हुँदा खेती योग्य जमिन नष्ट भएको, बस्तीहरु ब्यवस्थित हुन नसकेको र प्राकृतिक सौन्दर्य गुम्दै गइरहेको भन्दै त्यसलाई व्यवस्थित गर्न सरकारले अघिल्लो बर्ष जग्गाविकास कार्यविधी ल्याएको थियो । तर त्यसको कार्यान्वयनमा सरोकारवाला निकायले भने चासो दिएका छैनन् । नगरपालिकाले कडाई नगर्दा आफुँखुशी जग्गा प्लटिङ गरी विक्री वितरण भैरहेका छन् ।
जिल्लामा प्लटिङ बढी भएकै कारण पोखरा उपत्यका नगर विकास समितिले उपत्यका क्षेत्रभित्र प्लटिङको काम रोक्ने तयारी गरिरहेको छ । यसैका लागि बुधबार राजनीतिक दल र सरोकारवालासँग बैठक आयोजना गरिएको नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनालले जानकारी दिए । जमिनलाई टुक्रा पार्ने काम धमाधम चलिरहेको छ, यसले पोखरा उपत्यकाको स्वरुप निकै बिगारिसक्यो, खनाल भन्छन्–यसैलाई रोक्ने निर्णयका लागि सरोकारवालाको बैठक राखिएको हो, अब प्लटिङ रोक्नुपर्छ । अन्तराष्ट्रिय शहरको रुपमा विकास गर्नका लागि पनि अहिले देखि नै जग्गा रोक्का राख्ने र प्लटिङको काम बन्द गर्नुपर्ने उनको भनाई छ । पोखरा अन्तराष्ट्रिय शहर बन्दैछ, प्रदेशको राजधानी यहीँ बन्ने पक्का भैसक्यो, तर मन्त्रालय राख्ने ठाउँ खै ? उनी प्रश्न गर्छन्–बजारभरि उद्योग छरिएको छ, खै उपत्यकाको प्लानिङ ? पोखरा उपत्यका नगरविकास समितिले उपत्यकाको दीर्घकालीन योजना बनाउने तयारी समेत गरिरहेको छ ।

SHARE