एजेन्सी, असार २२ ।
फ्रान्समा चलिरहेको युरोकप २०१६ को सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागिसकेको छ । सेमिफाइनलसम्म पुग्ने क्रममा केही अप्रत्यासित नतिजा आए। उपाधि दाबेदार केही टोली सेमिफाइनलसम्म नपुग्दै आउट भइसकेका छन् । डिफेन्डिङ च्याम्पियन स्पेन प्रिक्वाटरफाइनलबाटै बाहिरियो । अर्को पूर्व विजेता इटली क्वाटरफाइनलबाट अघि बढ्न सकेन। स्पेन सँगै इटली गत संस्करणको फाइनलिस्ट हो । अर्का उपाधि दाबेदार इंगल्याण्डको यात्रा पनि प्रिक्वाटरफाइनलबाट अघि बढ्न सकेन। उपाधि दाबेदारका रुपमा हेरिएका यी तीन टोली बाहिरिएसँगै अन्य नयाँ टोलीले सेमिफाइनलमा स्थान बनाएका छन् ।
आयोजक फ्रान्ससँगै सर्वाधिक तीन पटकको च्याम्पियन जर्मनी, नवप्रवेशी वेल्स र पोर्चुगलले सेमिफाइनलमा स्थान बनाएका छन् । सेमिफाइनलमा पुगेका चार मध्ये जर्मनी र फ्रान्सलाई मात्र सुरुमा च्याम्पियन बन्न सक्ने टोलीको रुपमा हेरिएको थियो । उपाधि चुम्नबाट दुई खेल मात्र टाढा रहेका यी चार टोली कसले उपाधि जित्ने हो त्यो अहिल्यै भन्न गाह्रो छ। तर के चाहिँ पक्का छ भने यी चार मध्ये एकले पक्कै पनि उपाधि जित्नेछ ।
फ्रान्स युरो २०१६ को सेमिफाइनलमा पुगेका चार टोलीको युरो इतिहास र जारी युरोको प्रदर्शन र विशेषताहरु यस्ता छन् ।
पोर्चुगल
फ्रान्समा युरो खेलिरहेको सबैभन्दा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको टीम हो पोर्चुगल । प्रतियोगिता सुरु हुनु अघि रोनाल्डोको नामले नै पोर्चुगल उपाधिको दाबेदार थियो । तर जसै प्रतियोगिता अघि बढ्दै गयो, एक समय पोर्चुगल समूह चरणबाटै बाहिरिरिने खतरामा थियो । तर त्यसो भएन । अन्त्यमा रोनाल्डोले नै पोर्चुगलको उद्धार गरे । पोर्चुगल समूह चरणको तीन वटै खेल बराबरी गर्दै नकआउट चरणमा प्रवेश गर्यो । पहिलो खेलमा आइसल्याण्डविरुद्ध एक एकको बराबरी खेलेको पोर्चुगल दोस्रो खेलमा अष्ट्रियासँग गोलरहित बराबरीमा रोकियो । यति खेर रोनाल्डोको आलोचना सुरु भइसकेको थियो । हुन पनि किन नहोस् रोनाल्डोले नै अष्ट्रिया विरुद्धको पेनाल्टी गोल गर्न सकेनन् तर तेस्रो खेलमा रोनाल्डोले सबै आलोचकलाई जवाफ फर्काइदिए । हंगेरी विरुद्धको खेलमा तीन पटक पछि परेर पनि पोर्चुगलले बराबरी गर्यो र यसमा नायक बनेका रोनाल्डोले दुई गोल गरे ।
समूह चरणमा तीन वटै खेल बराबरी गरेपछि तेस्रो बनेको पोर्चुगल तेस्रो स्थामा रहने ६ मध्ये उत्कृष्ट चारमा पर्दै नकआउट चरण पुग्यो । समूह चरणमा सबै खेल बराबरी खेलेको पोर्चुगलले त्यसपछिका दुई खेलमा पनि निर्धारित ९० मिनेट भित्र खेल जित्न सकेको छैन । प्रिक्वाटरफाइनलमा उसको प्रतिद्धन्दी थियो क्रोएसिया । क्रोएसिया समूह चरणमा डिफेन्डिङ चयाम्पियन स्पेनलाई हराउँदै विजेता बनेको थियो र उपाधिको दाबेदारको रुपमा देखिएको थियो । तर पोर्चुगलले क्रोएसियालाई प्रिक्वाटरफाइनलबाटै घर फर्कायो । यो पटक नायक बनेका रिकार्डो क्वारेस्माले अतिरिक्त समयको २७ औं मिनेटमा एक मात्र निर्णायक गोल गरे ।
क्वाटरफाइनलमा पोर्चुगलको भेट पोल्याण्डसँग भयो । फेरि एक पटक पोर्चुगलले ९० मिनेटमा नतिजा निकाल्न सकेन। निर्धारित र अतिरिक्त समयको खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा ५–४ ले खेल आफ्नो पक्षमा पार्दै पोर्चुगल युरो २०१६ को सेमिफाइनलमा पुग्यो । पोर्चुगल युरो कपको सेमिफाइनलम पुगेको यो पाँचौ पटक हो । सातौ पटक सहभागिता जनाइरहेको पोर्चुगलले यसअघि चार पटक सेमिफाइनल खेल्दा एक पटक मात्र फाइनल पुगेको थियो । सन् २००४ मा धरेलु भुमिमै भएको युरोमा फाइनलसम्म पुग्नु नै पोर्चुगलको अहिलेसम्मको उपलब्धी हो । फाइनलमा पोर्चुगल ग्रिससँग पराजित भएको थियो । सन् २०१२ मा पनि सेमिफाइनल पुगेको पोर्चुगल पेनाल्टीसुटआउटमा स्पेनसँग हारेको थियो ।
वेल्स
वेल्ससँगै यसपटक पाँच राष्ट्रले युरोकपमा डेब्यु गरेका थिए । जसमध्ये अल्वानिया समूह चरणबाटै आउट भयो भने बाँकी चार टोली नकआउट चरणमा पुग्यो । अनि उत्तर आयरल्याण्ड र स्लोभाकिया प्रिक्वाटरफाइनलबाटै बाहिरियो । आइसल्याण्ड पनि क्वाटरफाइनलबाट आउट भयो र डेब्यु गर्ने मध्ये वेल्स मात्र सेमिफाइनलमा पुग्न सफल रह्यो । डेब्यु सहभागितामै सन् १९९२ पछि युरोकपको सेमिफाइनलमा पुग्ने वेल्स पहिलो टोली बनेको छ ।
वेल्सले खेल्दै गरेको यो दोस्रो ठुलो फुटबल प्रतियोगिता हो । सन् १९५८ मा विश्वकप फुटबल खेलेको ५८ वर्षपछि वेल्सले युरोमा डेब्यु गर्ने अवसर पायो । र त्यस अवसरलाई गज्जबले सदुपयोग गर्दैछ वेल्स । सेमिफाइनलसम्म पुग्ने क्रममा वेल्सले सबैको मन जित्ने प्रदर्शन गरेको छ । त्यसमा वेल्समा गारेथ बेल र आरोम रामसे मज्जाले जमेका छन् । यि बाहेक पनि वेल्सको टीम गेम नै राम्रो छ । इंगल्याण्ड र रसिया जस्तो युरोपियन पावरहावस सम्मिलित समूहमा परेको वेल्स समूहको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । स्लोभाकियालाई हराउँदै प्रतियोगिताको सुरुवात गरेको वेल्स दोस्रो खेलमा एक गोलको अग्रता बनाएर पनि इंगल्याण्डसँग पराजित भएको थियो तर समूहको अन्तिम खेलमा रसियालाई हराउँदै वेल्स नकआउट चरणमा पुगेको थियो ।
प्रिक्वाटरफाइनलमा उत्तरी आयरल्याण्डलाई हराउन संघर्ष गरेपनि क्वाटरफाइनलमा बेल्जियमलाई हराउँदै वेल्सले सनसनी मच्चाइसकेको छ । वेल्स र आइसल्याण्ड जारी युरोको सबै खेलमा गोल गर्ने टीम हुन् । सन् १९५८ मा पहिलो पटक कुनै पनि प्रतियोगितामा सहभागिता जनाएको वेल्स ब्राजिलसँग क्वाटरफाइनलमा पराजित भएको थियो । तेतीखेर ब्राजिलका लागि पेलेले एक मात्र निर्णायक गोल गरेका थिए । युरो सुरु हुनु अघि नै फुटबल पण्डितहरुले वेल्सलाई अन्डर डग टोलीका रुपमा विश्लेषण गरेका थिए । जुन अहिले आएर प्रमाणित भइसकेको छ । जसरी सुरुमा वेल्स गारेथ बेलको वान मेन टीम भनेर परिचित थियो अहिले आएर तयो पनि चेन्ज भएको छ । वेल्स बेल भन्दा पनि केही हो भन्ने भएकमो छ । समग्रमै टीम गेम राम्रो छ ।
जर्मनी
विश्व फुटबलमा जर्मनी चर्चित नाम हो । ब्राजिलले सर्वाधिक पाँच पटक विश्वकपको उपाधि जितेपनि सबैभन्दा धेरै पटक विश्व कप र युरो कपको फाइनल पुग्ने रेकर्ड जर्मनीको नाममा छ । स्पेनसँगै सर्वा्धिक तीन पटकको युरो च्याम्पियन समेत रहेको जर्मनी तीन पटक उपविजेता बनेको थियो। सबैभनदा धेरै पटक युरो कप खेल्ने रेकर्ड पनि जर्मनी कै नाममा छ । सुरुका तीन संस्करणमा भाग नलिएको जर्मनीले सन् १९७२ देखि निरन्तर युरो खेल्दै आएको छ । डेब्युमै युरो उपाधि जितेको जर्मनीले १९८० र १९९६ पनि युरो उपाधि जितेको थियो । जारी युरोकपको प्रिक्वाटरफाइनलसम्म गोल नखाएको जर्मनी सबैभन्दा कम गोल खाने टीम हो । क्वाटरफाइनलमा इटली विरुद्ध खाएको गोल नै जर्मनीले खाएको एक मात्र गोल हो। त्यो पनि पेनाल्टीमा ।
जर्मनीले पहिलो पटक इटलीलाई मुख्य प्रतियोगितामा हराउन सफल भयो र कीर्तिमानी नवौं पटक युरो कपको सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । इटलीलाई पनि मुख्य प्रतियोगिताको नवौ खेलमै हराउन सफल जर्मनीले समग्रमा इटली विरुद्ध पनि ९ जित हात पार्यो । समूह चरणमा जर्मनीले युक्रेन र उत्तरी आयरल्याण्डलाई समान २–० ले हराएके थियो भने पोल्याण्डसँग गोलहित बराबरी खेलेको थियो । यस्तै प्रिक्वाटरफाइनलमा स्लोभाकियलाई ३–० ले पराजित गरेको जर्मनीले क्वाटरफाइनलमा इटलीलाई पेनाल्टसिुटआउटमा ६–५ ले हराएको हो ।
सन् २०१४ मा ब्राजिलमा भएको विश्व कप जित्दाका १४ खेलाडी रहेको जर्मनीको टीम युरोमा सबैभनदा सन्तुलित टोली हो । तर मुख्य स्ट्राइकर मारियो गोमेज बाँकी खेलबाट बाहिरिनु, माट्स हुमेल्स सेमिफाइनलमा निलम्वन हुनु, सामी केडिरा र कप्तान बास्टिन स्वाक्ष्स्टाइगर पुर्ण फिट नहुनु जर्मनीका लागि समस्या बनेको छ ।
फ्रान्स
घरेलु भूमिमा खेल्नुको यसै पनि फाइदा हुन्छ । घरेलु समर्थक, घरेलु मैदान । यती मात्र होइन फ्रान्सलाई यसअघि पनि घरेलु मैदान निकै फापेको उदाहरण छ । फ्रान्सले युरो कप आयोजना गरिरहेको यो कीर्तिमानी तेस्रो पटक हो । सन् १९६० को पहिलो संस्करणनै आयोजना गरेको फ्रान्सले सन् १९८४ मा दोस्रो पटक आयोजना गर्दा उपाधि जितेको थियो । यस्तै फ्रान्सले जितेको एक मात्र विश्वकप उपाधि पनि सन् १९९८ मा घरेलु भुमिमै हात लागेको थियो । त्यसैले पनि आयोजक राष्ट्र बन्दा फ्रान्सलाई फाइदा पुग्दै आएको छ । र यसको अर्को उदाहरण अहिले चलिरहेको युरोकप पनि हो । सन् २००० मा दोस्रो पटक युरो उपाधि जितेको फ्रान्स त्यसपछि पहिलो पटक सेमिफाइनलमा पुगेको छ र तेस्रो पटक उपाधि जित्दै जर्मनी र स्पेनको कीर्तिमान बराबरी गर्ने दाउमा छ ।
समूह चरणमा सोचेअनुरुप प्रदर्शन गर्न नसकेपनी फ्रान्सले नकआउट चरणमा भने केहि सुधारिएको प्रदर्शन गरेको छ । समूह ए को विजेता बन्ने क्रममा फ्रान्सले रोमानियालाई २–१ ले र अल्वानियालाई २–० ले हराएको थियो । तर समूहको अन्तिम खेलमा भने फ्रान्स स्विट्जरल्याण्डसँग गोलरहित बराबरीमै रोकियो । प्रिक्वाटरफाइनलमा फ्रान्सले आयरल्याण्डले २–१ ले हराएको थियो। एक गोलले पछि परेको स्थितीमा २ गोल गर्दै फ्रान्सले खेल आफ्नो पक्षमा पारेको थियो ।
२०१२ को संस्करणमा क्वाटरफाइनलबाटै बाहिरिएको फ्रान्सले सेमिफाइनलमा विश्व विजेता जर्मनीको सामना गर्दैछ ।  सन् २०१४ को ब्राजिल विश्वकपमा जर्मनीसँगै क्वाटरफाइनलमा पराजित भएके फ्रान्सको लागि यसपटक उक्त हारेको बदला लिने मौका समेत मिलेको छ । प्रतियोगिता सुरु हुनु अघि सबैभन्दा ठुलो स्टारका रुपमा हेरिएको पउल पोग्वा खासै जम्न नसकेपनि क्वाटरफाइनलमा गोल गर्दै फर्ममा फर्केको संकेत गरेका छन् । आयोजकको नाताले छनोट चरण नै नखेली सिधै युरोकपमा सहभागी भएको फ्रान्स घरेलु भूमिमा युरोकपको उपाधि जित्दै गत नोभेम्वरमा भएको पेरिस घटनाले पुर्याएको घाउमा मलम लगाउने योजनामा छ ।

SHARE