खै के भयो मेरो देशको नीति
मिलाउछौ भन्थे नेता यसको थिती !

निरंकुश तन्त्रले बिग्रियो भन्थे
राणा र शाहको खोईरो खन्थे
रात बेरात बस्ति छिर्थे
खिरौटे कम्मरमा बन्दुक खुकुरी भिर्थे
सोझा गॉंउलेलाई जाग हो भन्थे
सुनौलोबिहानी ल्याउने दिन गन्थे

खै के भयो मेरो देशको नीति
सपार्छौ भन्थे नेता यसको थिती !

एकदलिय हैन बहुदलीय चाहियो
दुई चार हैन हजार नेता पाईयो
भत्ताको लागी एकै ठॉंऊमा मर्ने
सत्ताको लागी काटमार गर्ने
महंगीले जनता ठहरै मर्ने
बिकासको बजेटले नेता पेट भर्ने

खै के भयो मेरो देशको नीति
सपार्छौ भन्थे नेता जनताको थिती !

एकिकृत नेपाल चाहिएन किन
टुक्र्याई देश आ-आफ्नो भाग लिन
जात र धर्ममा बिभक्त गरी
नेताले गरे जताततै मनपरी
सत्ताकै लागी भए यी सब खेला
जनताका छोरा अरबतिर भेला

खै के भयो मेरो देशको नीति
सपार्छौ भन्थे झन बिग्रियो थिती !
एउटाले अर्को खराब छ भन्ने
आफ्नो टाउकोको जुम्रा नगन्ने
छाडेर अब खुट्टा तान्ने काम
लागन नेता हो एउटै लाम
लाग्दैन बेर देश बिकाश हुन
सम्झियौ भने जनताको गुन

खै के भयो मेरो देशको नीति
सपार्नु पर्यो छिटै हाम्रो थिती !!!

SHARE