एजेन्सी, असार २६ ।
युरो २०१६ को फाइनल केही घन्टापछि सुरु हुँदैछ । उपाधिका भिडन्तमा रहेका छन्, आयोजक फ्रान्स र क्रिस्टियानो रोनाल्डोको पोर्चुगल । फ्रान्सको फाइनल यात्रा जति स्वभाविक र अपेक्षित मानिएको छ, पोर्चुगलले तय गरेको बाटोलाई उत्तिकै मानिएको छैन । एक प्रकारले फ्रान्स मेहनत गरेर फाइनल पुगेको हो । पोर्चुगललाई भने भाग्यले साथ दिँदै आएको छ । प्रतियोगिताका क्रममा अहिलेसम्म जति पनि खाले मोड र समीकरण बने र भत्के, त्यो आधारमा फाइनलमा फ्रान्सकै सम्भावना बलियो मान्न सकिन्छ ।
फाइनलको नतिजालाई लिएर बाजी थाप्ने हो भने फ्रान्सको पक्ष लिनु ‘सेफ बेट’ हुनेछ । यसका स्पष्ट तीन कारण छन् । पहिलो, फ्रान्स आफ्नो भूमिमा निकै बलियो टिम हो । फ्रान्समा यसअघि दुई ठूला प्रतियोगिता भए, दुवैमा फ्रान्स नै उपाधि चुम्न सफल रहयो । फ्रान्स सन् १९८४ मा युरोपेली च्याम्पियनसिप र सन् १९९८ विश्वकप आफ्नै भूमिमा हुँदा टिम विजयी रहेको थियो । अहिले पनि फ्रान्सेली टिम फाइनल पुगेको स्थितिमा भन्न सकिन्छ, उपाधिको ह्याट्रिक हुन सक्नेछ ।
दोस्रो कारण, फ्रान्सेली टिमका प्रशिक्षक डिडिएर डेसक्याम्प । जति बेला उनी टिममा कुनै न कुनै भूमिकामा हुने गर्छन्, टिमले ठूलै सफलता चाखेको छ । जस्तो फ्रान्सले सन् १९९८ मा विश्वकप र सन् २००० मा युरो जित्दा अहिलेको प्रशिक्षक ४७ वर्षीय डेसक्याम्प कप्तान थिए । यिनै प्रशिक्षक यसपल्ट पनि भाग्यमानी हुनेछन्, फ्रान्सेली समर्थकहरूको विश्वास छ । तेस्रो कारण, पोर्चुगलमाथि फ्रान्सको लगातार प्रभुत्व । पोर्चुगलले फ्रान्सलाई अन्तिम पटक हराउँदा रोनाल्डोको जन्म पनि भएको थिएन् ।
फेरि रोनाल्डोले अहिलेसम्म फ्रान्सविरुद्ध कुनै पनि स्तरमा जित चाखेका छैनन् । पोर्चुगलले सन् १९७५ यता फ्रान्सविरुद्ध जित निकाल्न असफल रहेको छ र यसबीचका दस खेलमा फ्रान्स स्पष्ट रूपमा विजयी रहेको छ । यस्तोमा पोर्चुगलको हारको क्रम निकै पुरानो छ । फ्रान्सलाई यही तीन कारणमा टिकेर विजयी निकाल्न सबैभन्दा ठूलो भूमिका खेल्न सक्ने खेलाडी हुन्, लयमा रहेका एन्टोन ग्रिजमन । उनी प्रतियोगिताका अहिलेसम्मकै सबैभन्दा ठूला स्टार हुन् ।
नकआउट चरणमा फ्रान्सले उत्तरी आयरल्यान्ड, आइसल्यान्ड र जर्मनीहलाई हराउँदा उनी सबै विरुद्ध गोल गरेका छन् । उनले अहिलेसम्म छ गोल गरिसकेका छन् । उनी सर्वा्धिक गोल गर्ने खेलाडी सूचीमा अगाडि छन् । त्यसैले यी २५ वर्षीय खेलाडी प्रतियोगिताकै उत्कृष्ट खेलाडी र गोल्डेन बुट अवार्डका सबैभन्दा राम्रा प्रत्यासी पनि बनेका छन् । यी सबै आधारलाई भत्काउन सक्ने एक मात्र खेलाडी भने रोनाल्डो मात्र हुन्, अरु कोही होइनन् ।
अहिलेको विश्व फुटबलमा रोनाल्डो सबैभन्दा ठूला स्टारमध्येका एक हुन् । उनी ठूलो अवसरमा राम्रो खेल्न सक्ने क्षमता भएका खेलाडी हुन् । रोनाल्डोले वेल्सविरुद्धको खेलमा सम्झाएका छन्, उनी कत्तिका निर्णायक खेलाडी हुन सक्छन् भनेर । उनकै हेड गोलको मद्दतले पोर्चुगलले वेल्सलाई हराएको आधार तयार भएको थियो । उनले अहिलेसम्म पोर्चुगलका लागि केही पनि जितेका छैनन् । त्यसैले उनी त्यो मौका गुमाउन चाहने छैनन् । रोनाल्डोका लागि यो अन्तिम मौका जस्तै पनि हो ।

SHARE