सिकागो जुलाई २०। अमेरिकामा आएर विभिन्न क्षेत्र र विधामा प्रतिभा प्रस्फुटन गरिहरेका वैज्ञानिक, प्राविधिक क्षेत्रका ब्याक्ति, प्राध्यापक र ब्यबसायीहरु आफ्नो ज्ञान र क्षमतालाई नेपाल र नेपालीको हितमा कसरी जोड्न सकिन्छ भनेर छलफलमा जुट्न लागेका छन् । नेपाल र अमेरिकाको विद्यमान अवस्थाको विश्लेषण गर्दै के कस्तो नीति योजना दुवै ठाँउमा वस्ने नेपालीका लागि आवश्यक छ भन्ने विषयलाई केन्द्रविन्दुमा राखेर नेपाली विज्ञहरुको पहिलो सम्मेलन हुन लागेको हो ।
युएस नेपाल पोलिसी रिचर्स सेन्टरको आयोजनामा यही जुलाई ३० तारिक शनिवारवाट सिकागोमा हुने सम्मेलनमा दशवटा विषयका विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्दै छन्  । कार्यक्रमका स्थानीय संयोजक डाक्टर यादव पण्डितका अनुसार  नेपाल र अमेरिका दुवै देशमा वस्ने नेपालीको लागि के कस्ता निति र योजना उपयुक्त हुनेछन् र त्यसका लागि नेपाली विज्ञ जनशक्तिले के कसरी योगदान र सहयोग गर्न सक्छन भन्नेमा सम्मेलन केन्द्रीत हुने छ । सम्मेलनमा ५० जना विज्ञहरु सहभागि हुने अनुमाान गरिएको छ । अमेरिकाका विश्व विद्यालयका प्राध्यापक, विज्ञान, प्रविधिको क्षेत्रमा उच्च तहमा वसेर काम गरिरहेका ३० जनाले सहभागिताका लागि रजिष्ट्रेशन गरिसकेका छन् ।
वभिन्न क्षेत्रका विज्ञहरु सहभागि रहेको यस संस्थालाई दलगत राजनीतिक प्रभाववाट भने वाहिर राखिने छ । नेभाडा राज्य निवासी डाक्टर सुमन पराजुली भन्नुहुन्छ संबन्धित क्षेत्रका विशेषज्ञको संलग्नतामा नीतिगत विषयमा नेपाल र अमेरिकी सरकार एवं नीतिनिर्माण तहमा लबिङ गर्ने यो संस्थाको मुख्य उद्देश्य हो ।
नीति निर्माणका हिसावले उपयुक्त विषयको छनौट गर्दै नेपाली र अमेरिकी विज्ञहरुको सहभागितामा यस किसिमको कार्यक्रमलाई अगाडि वढाउदै लैजाने लक्ष रहेको छ ।  सम्मेलन आयोजक मध्येका एक टेक्सस निवासी डाक्टर अर्जुन बन्जाडेका अनुसार आगामी वर्षहरुमा अमेरिकाका अरु सहरहरुमा यो सम्मेलन गर्दै जाने योजनाको छ ।
नेपाल पोलिसी रिचर्स सेन्टर मुनाफारहित संस्थाका रुपमा अमेरिकाको टेक्सस राज्यमा दर्ता छ । संस्थालाई उद्देश्य प्राप्तिको वाटोमा हिडाउन भने त्यति सजिलो छैन । राम्रो उद्धेश्य वोकेका कतिपय  संस्थाहरु कालन्तरमा हराएर पनि गएका छन् ।  संस्थापक मध्येका एक कन्सास निवासी  डाक्टर राजन पन्त यस्को संस्थागत विकासका लागि आर्थीक तथा निती कार्यक्रमको स्वरुपका संबन्धमा पनि  सम्मेलनमा छलफल हुने बताउनु हुन्छ ।
कार्यक्षेत्र धेरै ठुलो वनाउने र काम थोरै गर्ने नेपाली संघ संस्थाहरुको विशेषता नै हो । यसमा पनि यो संस्था सजग देखिएको छ । कार्यक्षेत्रको विषयलाई प्रष्ट पार्दै अर्का सदस्य फ्लोरीडा निवासी डाक्टर शिरिष भाटले संस्थामा विज्ञहरु सहभागि भएका कारण नीतिगत तहमा सहयोग साथै अनुसन्धान र तथ्य तथ्यांक संकलनका क्षेत्रमा काम गर्ने बताउनु भयो । नेपाली विज्ञ, अनुसन्धान कर्ता, ब्यवसायिक साथै पेशागत ब्यक्तीहरु  र अमेरिकाको सरकारी ,कर्पोरेट ,बिश्वविद्यालयमा कार्यरत र अध्ययनरत नेपालीहरुको तथ्यांक संकलन, सहकार्य र नेटवर्किङको कार्यमा यस संस्थाले काम गर्ने छ ।
अमेरिकामा रहेका नेपालीसँग थुप्रै प्रकारका संस्थाहरु भएपनि यसप्रकारको संस्था वन्न सकिरहेको थिएन । वनाउन धेरै पहिला देखिनै चाहान नगरेका भने होइन । तर दक्ष ब्यक्तिहरुको ब्यस्तता र इच्छाशक्तिको कमीले मुर्त रुप लिन सकिरहेको थिएन । अहिले आएर यो आवश्यकता पुरा गर्न विज्ञहरु नै कसिएका छन् । यसलाई जीवन्त र गतिशिल वनाई राख्नु अवको चुनौति भएको भर्जिनीया निवासी डाक्टर रमेश पन्त बताउनुहुन्छ ।
नेपाल र अमेरिकमा वस्ने नेपालीले आफ्नो अगाडि आइरहेका अवसर र संभावनाका ढोकाहरु खोल्न नीति र विधिको वाधा झेल्नु पर्छ । यो सस्थाले त्यसको निधानको लागि नीतिगत तहमा  लविङ गर्ने छ । नेपाल र नेपाली समुदायलाई के कसरी मद्धत पुर्याउन सकिन्छ भन्नका लागि नै यो संस्था स्थापना गरिएको युसी वक्र्लीका प्राध्यापक डाक्टर आमोद पोखरेल बताउनु हुन्छ । अमेरिकामा विशिष्ठ पहिचान वनाएका वैज्ञानिक, विशेषज्ञ, विज्ञ र प्राध्यापकहरु एकठाँउमा  जमघट भएर नेपाल र नेपालीको हितका लागि नीतिगत कुरामा छलफल प्रारम्भ गर्नु आफैमा सुखद् पक्ष हो ।
SHARE