प्रकाश ढकाल
पोखरा, साउन १० ।
गोरखा नगरपालिका १० कुन्दुरमा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयलाई सरकारले नमूना विद्यालयको रुपमा स्थापित गर्ने भएको छ । शिक्षा विभागले भूकम्प प्रभावित जिल्लाका ११ विद्यालयलाई नमूना बनाउने उद्देश्यले यो विद्यालय पनि छनौट गरेको हो । २०१८ सालमा प्रावि तहको रुपमा स्थापना भएको विद्यालय २०३४ निमावि, २०४५ मा मावि हुँदै २०६३ मा उच्च माविको रुपमा विस्तार भैसकेको छ । जिल्लाकै सातौं उच्च माविको रुपमा स्थापित विद्यालय करिब ६० बर्षपछि सरकारको प्राथमिकतामा परेको छ । नमूना बनाउने निर्णयले निकै खुशी लागेको विद्यालयका प्राचार्य गोपाल बाबु मरहट्टाले बताए ।
दातृ निकायले अत्याधुनिक प्रविधि जडित नमूना विद्यालय बनाउन लागेको हो । भूकम्पबाट अति प्रभावित १४ जिल्लामा एकरएक वटा आवासीय नमूना विद्यालय भवन बनाइदिने घोषणा गरेपछि विभागले विद्यालय छनौट गरेको हो । छनौट भएका विद्यालयको भौतिक संरचना र कक्षा कोठा व्यवस्थापन शिक्षण सिकाई गर्न ट्रेनिङ हल, अडिटोरियम हल, संगीत प्रशिक्षण कक्ष, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना तथा सञ्चार ल्याब, चमेना गृह, प्राथमिक उपचार कक्ष र छात्र छात्राको अलग शौचालय हुनेछ । त्यस्तै इन्डोर र आउटडोर खेलमैदान पनि बन्नेछ । विद्यालयमा सुविधा सम्पन्न पुस्तकालय, इ–लाइब्रेरी, इन्टरनेट सहित कम्प्यूटर, फोटोकपी मेसिन, बिषयगत र अन्तरबिषय पुस्तकहरु, जर्नल, पत्रपत्रिका हुनेछ ।
एक देखि १२ सम्मको पठन पाठन गर्न आवश्यक पर्ने कक्षा कोठा सहित  तोकिएको पूर्वाधार बनाउन आवश्यक जग्गा भएका विद्यालय छनौट भएको विभागले जनाएको छ । यो विद्यालयको करिब ७२ रोपनी समथर जमिन सडकसँग जोडिएको छ । सदरमुकाममा रहेका सामुदायिक विद्यालय मध्ये सबैभन्दा बढी विद्यार्थी महेन्द्र माविमा छन् । विद्यालयको नतिजा, भौतिक संरचना, आधुनिक प्रविधिको प्रयोग आदीलाई आधार मानेर बिद्यालय छनौट भएको हो । यो विद्यालयले पछिल्लो तीनबर्षमा ८८ प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण गर्न सफल भएको छ ।
कुमाल जातिको बाहुल्यता रहेको यस विद्यालयमा करिब १ हजार विद्यार्थी अध्ययनरत छन् । नजिकै अन्तराष्ट्रिय मापदण्ड पूरा गरेका बोर्डिङ स्कुल भएपनि निरन्तरको मेहिनतका कारण आफ्नो विद्यालयमा विद्यार्थी संख्या नघटेको प्राचार्य मरहट्टा बताउँछन् । जिल्लाका अरु सामुदायिक विद्यालयमा विद्यार्थी शिलो खोजेर चलाउनुपर्छ, उनले भने–हामी यति ठूला निजी विद्यालयको आडमा बसेर प्रतिश्पर्धा गरिरहेका छौं । महेन्द्र मावि नजिकै सेण्ट जोसेफ र सेण्ट म्यारिज नामका दुई अन्तराष्ट्रिय मापदण्डका विद्यालय छन् ।
विद्यालयको भौतिक अवस्था भने निकै कमजोर रहेको उनको भनाई छ । पटक पटक जिल्ला शिक्षा कार्यालयलाई सुविधा थप गर्न अनुरोध गरेका थियौं, उनी भन्छन्–अव त सरकारले नै नमूना बनाउने तयारी गरेछ, हामी निकै खुशी छौं ।
विभागले योसँगै दोलखाको हनुमन्तेश्वर मावि, नुवाकोटको त्रिभुवन त्रिसुली मावि, काभ्रेपलाञ्चोकमा प्रभा मावि, सिन्धुपाल्चोकमा बाघ भैरव मावि, मकवानपुरमा जनप्रिय मावि, रसुवामा कालिका हिमालयन मावि, धादिङमा निलकण्ठ मावि छनौट भएका छन् । यस्तै ओखलढुङगामा रुम्जाटार मावि, काठमाडौंमा जनसेवा मावि र भक्तपुरमा श्रीपद्म मावि दरबारस्क्वायर छनौट भएको विभागले जनाएको छ । रामेछाप, सिन्धुली, ललितपुरमा छनौट हुन बाँकी छ ।

SHARE