काठमाण्डौं, भदौ १७ ।
पार्टी स्थापनाको एक वर्ष नपुग्दै नयाँ शक्ति पार्टिभित्र वैचारिक र सांगठनिक मतभेद देखिन थालेको छ । पार्टी केन्द्रीय कार्यकारी समिति र राजनीतिक समितिका पछिल्ला बैठकमार्फत ती भिन्नता सतहमा आएका हुन् । मधेसी, जनजाति, खसआर्य क्लस्टर राख्ने कि नराख्ने बहससँगै संगठनको स्वरूप कस्तो हुने भन्ने मतभेदका कारण पछिल्ला बैठक प्रभावित छन् ।
‘माओवादी पृष्ठभूमिबाट आएकाहरू पुरानै किसिमको संगठन संरचना चाहन्छन्, हामी प्रत्यक्ष लोकतन्त्रको अभ्यासबाट अघि बढ्ने बहसमा छौं,’ पार्टीका एक उच्च नेताले भने, ‘अहिले हाम्रो उहाँहरूसँग अन्तर्संघर्ष छ, पार्टीहरूका बीचमा अर्को एउटा पार्टी बनाएर अस्तित्वमात्रै देखाउने कि साँच्चैको वैकल्पिक पार्टी बनाउने ?’
युद्धकालीन माओवादीमा काम गरेर आउनेहरू भने पार्टी प्रवेशी पछिल्ला अनुहारहरूमा राजनीतिक चरित्र देखिन नसकेको भन्दै संयोजक बाबुराम भट्टराईसँग गुनासो गरिरहेका छन् । फिल्डमा दौडने बेला आफूहरू अघि सर्ने गरे पनि प्रचार बटुल्ने बेला उनीहरू छाउने गरेको पूर्वमाओवादीहरूको बुझाइ छ । चुनाव जितेपछि कसरी राज्य चलाउने भन्ने सोच भएका पूर्वब्युरोक्रयाट र बुद्धिजीवीहरू पार्टीभित्र हावी भएको भन्दै पूर्वमाओवादी केही नेताले चुनौती पनि दिइसके, ‘पहिले चुनाव कसरी जित्ने भन्नेतिर सोच्नुस् । राज्य त्यसपछि चलाऔंला ।’ ७४ जिल्लामा संगठन निर्माण गरिसकेको नयाँ शक्तिको दाबी छ, तर आसन्न चुनाव जित्न संगठन बन्नु पर्याप्त नहुने बताउँछन् नेताहरू । संयोजक भट्टराई भने दुवैतिर सन्तुलन मिलाउने दबाबमा छन् ।
एक साताअघि बबरमहलस्थित पार्टी मुख्यालयमा बसेको राजनीतिक समिति बैठकमा त्यसैको प्रतिबिम्ब देखियो । पार्टीका केही महत्त्वपूर्ण पद र विभागमा पदाधिकारी, सदस्य थप्न नेतृत्वले प्रयास गरे पनि को वरिष्ठ भन्ने खिचातानी सम्हाल्न नसक्दा समिति बैठक निष्कर्षमा पुग्न सकेन । महिला, मधेसी र जनजाति प्रतिनिधित्व हुने गरी तीन उपाध्यक्ष यसअघि नै तोकिए पनि पार्टी्भित्र असन्तुष्टि बाँकी रहेको स्रोतले जानकारी दियो । ‘उहाँहरू (पूर्वमाओवादी) मा उही प्रचण्ड र किरणजी (मोहन वैद्य) को संगठन जसरी पनि कब्जा गर्ने भन्ने खालको स्कुलिङ हावी देखियो, त्यसैले बैठकमा सौहार्दता आउन सकेन,’ अर्का नेताले भने, ‘हिजो युद्धमा मैले दुस्ख गरेका कारण आज पनि मै हुनुपर्छ भन्नु कहाँसम्म ठीक हो ?’
संगठन विभाग प्रमुख देवेन्द्र पौडेल पार्टीभित्र सानातिना मतभेद र बहस हुनु अस्वाभाविक नभएको बताउँछन् । ‘पार्टी बनाउन सुरुदेखि नै मेहनत गरेका साथीहरूलाई समानुपातिक प्रतिनिधित्वका कारण क्लस्टरमा नपर्दा अलिकति अप्ठयारो परेको हो,’ पौडेलले भने, ‘क्लस्टर छुट्याउँदा खासगरी खस–आर्य समूहका साथीहरूलाई हामी छुट्ने पो हौं कि भन्ने छ ।’
संयोजक भट्टराईले असोज ९ गते माओवादी परित्याग गर्ने्बित्तिकै चार दर्जन केन्द्रीय नेताले समेत राजीनामा दिँदै उनलाई साथ दिएका थिए । तर मंसिरमा पार्टी घोषणा हुँदा ३५ सदस्यीय अन्तरिम केन्द्रीय समितिमा भट्टराई र नेता पौडेलबाहेकका नेता गैरमाओवादी पृष्ठभूमिबाट आएदेखि नै नयाँ शक्तिभित्र मतभेद सुसुप्त रूपमा देखिन थालेको थियो । अन्तरिम केन्द्रीय परिषद्मा नपर्नेहरूको दबाब बढदै गएपछि जम्बो परिषद् बन्दै गयो ।
त्यसपछि नयाँ शक्ति भनी मिडियामा छाउनेमा पूर्वकर्मचारी, सेलिब्रिटी, पत्रकार, उद्योगी, एनजीओकर्मी रहे पनि पार्टी संगठन निर्माणमा दौडनेमा उनै पूर्वमाओवादी बढी थिए । जेठमा पार्टी घोषणा सभादेखि छलफलसत्रसम्म तिनै नयाँ अनुहार हावी हुन पुगेको गुनासोमा माओवादी पृष्ठभूमिबाट आएकाहरू छन् । पूर्वमाओवादी र गैरमाओवादी भनी दुई तप्का बन्दै गएकोमा भट्टराईले अब बन्ने पार्टी बिलकुलै नयाँ चरित्रको बन्ने भएकाले आफ्नो पुरानो समूह अनुकूल भएन भनी नसोच्न भन्दै कार्यकर्ता थुमथुम्याउने गरेका छन् । ‘अब को कहिले पार्टी सदस्य भयो, कसले कति वर्षपहिले के र्गयो भन्ने आधारमा पार्टी बनाउन खोजियो भने हामी नयाँ शक्ति बन्दैनौं,’ भट्टराईले पछिल्लो बैठकमा राखेको भनाइ उद्धृत गर्दै पार्टी स्रोतले भन्यो, ‘कम प्रतिनिधित्व भएकाहरूलाई अगाडि ल्याउन अरू समुदायको सहयोग चाहिन्छ ।’
भट्टराईले यसो भने पनि मुमाराम खनाललगायतले क्लस्टर विभाजनको संरचनाबाट जाँदा जातीय सोचमै पुगिने भन्दै आलोचना गर्दै आएका छन् । क्लस्टरमा जाँदा राजनीतिक चरित्रको संगठन नबन्ने भन्दै उनले नेतृत्व पनि समुदायवादमै चले पार्टी छाड्नसमेत सक्ने चेतावनी दिएको पार्टी उच्च स्रोत बताउँछ । ‘यी विषयमा ठूला विवाद होइनन्, छलफल भने भएकै हुन्, एकथरी साथीहरू हरेक पेसाका भ्रातृसंगठन बनाऔं भन्नुहुन्छ, त्यसरी वैकल्पिक पार्टी बन्दैन । विद्यार्थीलाई बनाउन दिए हुन्छ, तर त्यो पनि पार्टीको निर्देशन मान्ने संरचना होइन,’ खनालले भने, ‘संगठनको स्रोत एक ठाउँमा मात्रै केन्द्रित बन्दै गए अवाञ्छित समूह हावी हुन्छ भन्ने हो । पैसा कहाँबाट आयो, पारदर्शिता के हो र त्यसको संगठनभित्र समानुपातिक उपभोग गर्नुपर्छ भन्ने पनि बहसमा छँदै छन् ।’ उनले पछिल्लो कार्यकारी समिति र राजनीतिक समितिमा यिनै विषयमा छलफल भएको पुष्टि गरे ।
पूर्वमाओवादी पक्ष भने ‘अस्थिर चरित्र बोकेकाहरू’ लाई पार्टीमा बस्नै पर्ने बाध्यकारी अवस्था सिर्जना नगर्ने तर्क गर्छ । ‘पार्टी छाड्ने केहीका चर्चा बाहिर अलिकति चलेका हुन्, केहीलाई प्रलोभन पनि देखाइएको होला,’ पौडेलले भने, ‘साह्रै अप्ठयारो परेको हो भने जबर्जस्ती बस्नुस् भनेर कसैलाई भन्ने कुरा त छैन ।’ पार्टीका अर्का नेता केशव दाहालले पार्टी्भित्र आधारभूत भिन्नता केही नभए पनि संगठन शैली र संरचनाबारे फरक बुझाइ रहेको स्विकारे ।

SHARE