पोखरा, असोज १ ।
संविधान प्रतिगामी भएको भन्दै तमुवानको पक्षमा रहेका विभिन्न ८ राजनितिक दल तथा मोर्चाहरुले असोज ३ गतेलाइ कालो दिनको रुपमा प्रदर्शन गर्ने भएको छ । सरकारले संविधान दिवसको रुपमा मनाउन लागिरहेका बेला यि दलहरुले त्यसको विरोधमा प्रदर्शन गर्न लागेका हुन् । संविधान दिवसको दिन मोर्चाले लखनचोकबाट कालो झण्डासहित बृहत प्रदर्शन गर्दै भिमसेनचोकमा पुगेर विरोध सभा गर्ने जनाएको छ ।
तमुवानमा क्रियाशील राजनीतिक दलहरु र पहिचान अधिकारका लागि आन्दोलनरत मोर्चाहरुको शुक्रवार पोखरामा सम्पन्न बैठकले असोज ३ गते पोखरामा विरोध प्रर्दशन गर्ने निर्णय गरेको हो । अन्तरिम संविधानले प्रदत्त गरेको अधिकार समेत अपहरण गर्दै सैन्यबलको आधारमा जबरजस्त जारी गरिएको आरोप लगाउँदै संविधान विरुद्ध आन्दोलनरत तमुवान संयुक्त संघर्ष समिति, संघीय समाजवादी फोरम, नेकपा(माओवादी क्रान्तिकारी), राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सद्भावना पार्टी, आदिवासी जनजाति पार्टी तराई मधेश लोकतान्त्रिक पार्टीका नेताहरुको बैठकले विरोधको कार्यक्रम तय गरेको हो ।
संघीय समाजवादी फोरम कास्कीको कार्यालयमा फोरम कास्कीका अध्यक्ष दीपक तामाङको अध्यक्षतामा भएको बैठकमा तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमु, नेकपा(माओवादी क्रान्तिकारी)का केन्द्रीय सदस्य रामजी थापा, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय  सदस्य ओमबहादुर श्रीसमगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार राई, सदभावना पार्टी कास्कीका अध्यक्ष फजुल मियाँले हस्ताक्षर गरेका छन् ।

SHARE