प्रकाश ढकाल
सिन्धुपाल्चोक, असोज ३० ।
मिलेर बसेको तामाङ गाउँ । छिमेकमा गुरुङ र केही परिवार बाहुन क्षेत्रीको छ । विल्कुल जातिय संस्कार बाहेक मेलापर्म र अ‍ैँचोपैँचो राम्रैसँग चल्छ यिनीहरुमा । पूराना पुस्तामा केही रुढीबादी परम्परा कायमै भएपनि अहिलेका पुस्ता उतिसारो अशिक्षित पनि छैन । देशभरकै पहिलो साक्षर जिल्लाको रुपमा स्थापित सिन्धुपाल्चोकमा पर्ने हैबुङ गाविसको शैक्षिक अवस्था अहिले भने वेहाल छ । गत सालको महाविनासकारी भूकम्पमा विद्यालयहरु तहसनहस भएपछि पहिलेको शैक्षिक साख जोगाउन पनि मुश्किल छ । राजधानी काठमाण्डौंबाट करिब ४० किलोमिटरको दुरीमा पर्ने यो गाविसमा तीनवटा विद्यालय छन्–एउटा मावि, एउटा निमावि र अर्को प्रावि । तर कुनैपनि विद्यालयमा भवन छैन । टहराकै भरमा पठनपाठन चलिरहेको छ । भूकम्पपछि विद्यालयको शैक्षिक गुणस्तर निकै खस्किएको हैवुङ महादेवस्थान माविका प्रधानध्यापक नगेन्द्र मण्डलले बताए । अलि दर्किएर पानी प¥यो भने पढाउनै छोड्नुपर्छ, बेगले हावा चल्यो भने टहरा थेग्नै सकिन्न, उनले भने–यसरी पढाउदा विद्यार्थीहरु निकै कमजोर भएका छन् । भूकम्पको केही महिना राहात र उद्धारका लागि धेरै संघसंस्था पुगेपनि विद्यालय निर्माणका लागि कतैबाट पहल नभएको उनी बताउँछन् ।
गाउँ नै तहस नहस बनाएपछि यहाँका केही परिवार बालबच्चा सहित शहर पसे । २०१८ सालमा स्थापना भएको यो विद्यालयमा दुई बर्षअघिसम्म विद्यार्थी अटाईनअटाई थिए । तर पढेलेखेका र हुनेखानेहरुले गाउँ छोडेपछि गाउँमा रहेको विद्यालय निर्माणको काम नै अन्यौलमा छ । भवन निर्माणका लागि हामीले धेरैतिर हारगुहार ग¥यौं, उनी भन्छन्–सबैले आश्वासन मात्रै दिए पैसा दिएनन् । भूकम्पको डेढ बर्ष पूरा भैसक्दा पनि यहाँको विद्यालय पुनःनिर्माणका लागि कतैबाट पहल हुन नसकेपछि सहारा क्लव पोखराको भातृ संस्था सहारा युकेले भवन निर्माणका लागि सहयोग गरेको छ । ६ कोठे भवन बनाउन २१ लाख रुपैयाँ सहयोग गरिने सहारा युकेका अध्यक्ष दीलिप गुरुङले जानकारी दिए । भवन निर्माणका लागि मंगलबार विद्यालय र संस्थाबीच सम्झौता समेत भएको छ । सम्झौता भैसकेको छ, अब पहिलो किस्ताको रकम दिएर तत्काल काम सुरु गर्छौं, उनले भने–जतिसक्दो छिटो गुणस्तरीय विद्यालय निर्माण गर्ने हाम्रो योजना छ । उनका अनुसार सहयोग रकम सहारा युके सहित सहारा हङकङ र सहारा अष्ट्रेलियासँग पनि उठाईने छ । अधिकतम जनश्रमदान जुटाएर पारदर्शी हिसावले काम सम्पन्न गर्न उनले आग्रह गरे ।
भूकम्पअघि सम्म साढे तीनसय भन्दा बढी विद्यार्थी रहेको हैबुङ माविमा विद्यालय भवन नभएकै कारण सय भन्दा बढी विद्यार्थी अन्यत्र गएका विद्यालयका शिक्षक मोहन तामाङले जानकारी दिए । पठनपाठनका लागि विद्यालयमा एउटा त्रिपालको कक्षा छ भने बाँकी टहरा छन् । कक्षाकोठा नपुगेपछि दुईवटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाएका छौं, उनले भने–यो बर्खा जसोतसो कटायौं, अब जाडो सुरु हुँदैछ । सकेसम्म जाडो अगाडी नै भवन निर्माणको काम सक्ने तयारी गरिएको उनले सुनाए । भवन निर्माणको सम्झौता पनि स्थानीयहरु पनि निकै हर्षित छन् । हामीले यति छिटो बिद्यालय बन्ला भन्ने सोचेका पनि थिएनौं, राप्रपाका गाविस अध्यक्ष बाबुकाजी गुरुङले भने–सहाराले हामीलाई सहारा दियो, यसको गुन कहिल्यै विर्सिने छैनौं । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सहारा युकेका सदस्य तथा विद्यालय निर्माणका सहजकर्ता योगेश गुरुङले एक लाख रुपैयाँ सहयोग गरेका छन् । यसबाट अक्षयकोष स्थापना गरेर सर्वोत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिने उनले बताए । कार्यक्रममा सहारा क्लव पोखराका पदाधिकारी, सहारा युकेका पदाधिकारी, सल्लाहकार तथा पत्रकारहरुको समेत सहभागीता थियो ।
सुरुका दिनमा राहत र उद्धारमा लागेको सहारा क्लवले अहिले विद्यालय पुनःनिर्माणको काम गरिरहेको छ । शैक्षिक क्षेत्रको बेहाल देखेर भवन निर्माण योजना सुरु गरेको सहारा क्लव पोखराका अध्यक्ष बीरभद्र आचार्यले बताए । ब्यक्तिले आफ्नो घर जसोतसो बनाएकै छन्, तर विद्यालय जस्ताको तस्तै छ, उनले भने–यसले शैक्षिक गतिविधी नराम्ररी विग्रिएको छ, हामी यसलाई सुधार गर्ने अभियानमा छौं । क्लवले यसअघि गोरखाको घैरुङ स्थित वडा नम्बर १ ज्यामिरश्वाँरामा रहेको गणेश प्राविको भवन निर्माण सम्पन्न गरिसकेको छ ।

SHARE