प्रकाश ढकाल
गोरखा, असोज ३० ।
महाविनासकारी भूकम्पले बार्षिकी मनाएको पनि छ महिना पूरा भयो । भूकम्पले ढालेका संरचनाहरु जस्ताको तस्तै छ । टहराभित्रै दुई शैक्षिक सत्र सकिन लाग्यो । केही दिन विद्यार्थीलाई भुलाउनका लागि बनाईएका टहरा चुहिने भैसक्यो, तर नयाँ भवन बन्न सकेको छैन । गत बैशाख १२ को महाविनाशकारी भूकम्प र त्यसपछिका पराकम्पले त्रासदीमा रहेका विद्यार्थीहरुको सातो अझै फर्किएको छैन । न ढलेका विद्यालयहरु उठेका छन्, नत बिद्यार्थीहरु अघिल्ला बर्षहरुमा झैं गरी पढ्न आउँछन् । विद्यालय ढलेपछि धेरै विद्यार्थीहरु अभिभावकको पछि लागेर शहर पसिसके । गाउँमै भएका पनि बिद्यालयमा नियमित पढाई नहुँदा मारमा परेका छन् । टहरा भत्किएपछि कति विद्यालयहरु बन्द जस्तै छन् । ४ महिना अघिसम्म यही अवस्था थियो गोरखाको घैरुङ स्थित ज्यामिरश्वाँरामा रहेको गणेश प्राथमिक विद्यालयमा पनि । तर सहयोगीहरुको मन पग्लियो । ढलेका सबै भवन ठडियो । विद्यार्थीहरु सुविधासम्पन्न भवनमा बसेर खुशीका साथ पढ्न पाउने भएका छन् ।
सहारा क्लव पोखराको संयोजनमा बेलायतका विभिन्न संघ संस्थाहरुले भवन निर्माण गरिदिएका हुन् । भवनको बुधाबार एक कार्यक्रमका बीच अरुण चौधरी फाउण्डेशनका अध्यक्ष तथा सिजी ग्रुपका निर्देशक अरुण कुमार चौधरीले उद्घाटन गरेका हुन् । भवन उद्घाटन पछि बोल्दै चौधरीले विद्यालयमा गरिएको सहयोगले शिक्षा क्षेत्रलाई महत्वपूर्ण योगदान पुग्ने विश्वास ब्यक्त गरे । उनले ब्यवसायसँगै सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै सामाजिक संस्थाको उदाहरणीय काम भएको बताए । धेरै ठाउँमा हामीले सहयोग गरेका छौं, उनले भने–तर अन्य क्षेत्रमा गरेको सहयोग सदुपयोग भएको थिएन, म यो ठाउँमा आएर थाहा पाएँ अन्य ठाउँमा गरिएको सहयोग ब्यर्थ रहेछ । समाजबाट कमाएको सम्पत्ति सामाजिक क्षेत्रमै लगानी गर्न नसके कमाउनुको अर्थ नरहेको उनले बताए । मलाई यो ठाउँले ठूलो गुन लगाएको छ, केही भाबुक मुद्रामा देखिएका चौधरीले भने–यो ठाउँको गुन तिर्न फेरि फर्किनेछु ।
सहारा क्वल पोखराका अध्यक्ष बीरभद्र आचार्यले भौतिक संरचना निर्माण सम्पन्न भएकाले अब शैक्षिक गुणस्तरमा ध्यान दिन आग्रह गरे । सरकारी विद्यालयमा पछिल्लो समय गुणस्तरीय शिक्षा नभएको भन्दै उनले क्लवले गरेको लगानी संरक्षणका लागि सुझाए । हामी असहायका लागि सहारा हौं, तर हामीले मात्रै सबै काम गर्न सम्भव छैन, आचार्य भन्छन्–हाम्रा शाखाहरुको सहयोगमा पुण्यको काम पूरा गरेका छौं, सबैलाई धन्यबाद छ । सहारा क्लव युकेका अध्यक्ष दीलिप कुमार गुरुङले आगामी दिनमा पनि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाए । उनले विद्यालयको गुणस्तरीय र प्राविधिक शिक्षामा आँफुहरुले सहयोग गर्ने बताए । भवन निर्माणका लागि सहारा युके, अल्डरसट एफसी युके, चेल्सी क्लव, अरुण चौधरी फाउण्डेसन, सिराज होम्स, वकिङ एसिया बिजनेस फोरम, वर्नइण्ड रोटरी क्लव, लिण्डेण्ड हाउस लगाएतको आर्थिक सहयोग छ । अत्याधुनिक प्रविधिको भूकम्प प्रतिरोधी ८ कोठे भवन निर्माण गरिएको सहारा युकेका भूकम्प पीडित पुनःस्थापनाका संयोजक मीन बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार करिब ३५ लाखको लागतमा भवन निर्माण गरिएको हो । यसबाहेक विद्यालयमा आधुनिक किसीमका फर्निचर ब्यवस्था गरिएको छ भने विद्यालयलाई तारबार सहित घेरिएको छ । विद्यालय निर्माण पछि जोगिएको रकम विद्यालयकै नामको अक्षयकोषमा राखिने र आवश्यक परेका बेला प्रयोग गर्ने उनले बताए । गोरखा सदरमुकामबाट करिब २१ किलोमिटरको दुरीमा रहेको यो विद्यालयमा अहिले करिब ६० जना विद्यार्थीहरु बाँकी छन् । भवन निर्माणपछि शिक्षक, विद्यार्थी तथा अभिभावकहरु समेत हर्षित भएका छन् । भूकम्पका कारण हाम्रा विद्यालयहरु थलिएका थिए, विद्यालयका प्रधानध्यापक गुन बहादुर थापाले भने–सहाराको सहयोगले हामी निकै हर्षित छौं, यसको दीगोपनाका लागि हामी कार्ययोजना नै बनाएर अगाडी बढ्नेछौं । भौतिक संरचना पूरा भएकाले शैक्षिक गुणस्तर बृद्धी गरी नमूना विद्यालयको रुपमा स्थापित गर्ने उनको प्रतिबद्धता छ ।
सहारा क्लवले सहयोगी हातहरुसँग समन्वय गरेर विभिन्न सामाजिक काम गर्दै आईरहेको छ । क्लवले एकेडेमी नै स्थापना गरी कठिन परिस्थीतिका बालकहरुलाई आश्रय र शिक्षा दिक्षाको ब्यवस्था मिलाएको छ । क्लवले सञ्चालन गरेको एकेडेमीमा हाल १६ जिल्लाका २८ बालबालिकाहरु आश्रित छन् ।

SHARE