प्रकाश ढकाल
पोखरा, असोज ३० ।
गाउँघरमै पौरख देखाएर गुजारा गर्थे कास्की भाचोकका जीत बहादुर दमाई । प्रशस्तै नभएपनि दैनिकी गुजार्न सक्ने पुर्खाका जायजेथा थिए । अझै मेलापर्म गए भने साँझ विहान छाक टार्न अचल सम्पत्ति खोट्याउनु पर्दैनथ्यो । उमेर बढ्दै गयो । बिहे गरे । छोराछोरी उमेरमै जन्मिए । विस्तारै घर ब्यवहारले थिच्न थाल्यो । आफुँ अनपढ परिवारमा जन्मे हुर्केकै कारण समाजको हाराहारीमा आउन नसकेको सहजै अनुमान लगाउन सक्थे । त्यसैले छोराछोरीलाई पढाएर आफ्नो पीडा बढार्ने सोच थियो । राम्रो स्कुलमा छोराछोरी पढाउने, मिठो मसिनो खाने र अर्काकै हाराहारी भएर जीवन चलाउने अभिलाषाले पैसा कमाउन साउदी हानिए उनी । दुईपल्ट सम्म नेपाल र साउदी गरे । पैसाको अभाव टरेन अनि तेश्रो पल्ट पनि उनी साउदी नै फर्किए । तर यो पटक उनलाई शुभ साईत परेन । घरमै लालाबाला खेलाएर बस्ने बेलामा जीत बहादुरलाई बुढ्यौलीमा बिदेशिने रहर थिएन । तर भोको पेट, नाङ्गो शरिर र बालबच्चाको भविष्यले विदेश जानबाट रोक्न सकेन ।
तीन बर्षका लागि बाख्रा चराउने काममा गएका जीत बहादुर सात महिना पनि नबित्दै जेलमा परे । बिना कारण १० बर्षभन्दा बढी जेल जिबन बिताए । मैले के अपराध गरेँ अदालतले मलाई पनि भनेको छैन, साहुको उजुरीको भरमा मात्रै मलाई जेलमा हालियो, उनले भने–नखाएको विष लाग्यो, साहुलाई चित्त नबुझेपछि साउदीमा जेल जान कुनै कसुर नै गर्नुपर्दैन रहेछ । पोखरा महेन्द्रगुफाका लक्ष्मण नामका दलालको भरमा गएका उनी साहुको भाईका कारण जेल परेको बताउँछन् । पहिलो बर्ष जेलमा विताएपछि अदालतले ७७ हजार रुपैयाँ जरिबाना सुनायो । मासिक ४ सय नकमाउने जीत बहादुरलाई ७७ हजार चानचुने कुरा थिएन । पैसा तिर्ने हैसियत नभएपछि जेलमै बसेर चुक्ता गरेको उनले बताए । आधाआधी भएपछि अदालतले एम्बेसीको मान्छे बोलाए जेलमुक्त गर्न सक्ने बतायो । मैले हारगुहार गरे तीनजालाई बोलाएँ, उनीहरु सही गरेर गएपछि २७ दिनमा छोडिदिन्छौं भन्यो, उनले भने–अदालतले नै भनेपछि नपत्याउने कुरै भएन, तर २७ दिन कुर्दाकुर्दै कयौं २७ दिन वित्यो, मैले सफाई पाईन । ४० छँदै विदेशिएका उनी ५५ बर्ष नाघिसके ।
अहिले उनी जेलमुक्त छन् तर नेपाल आउन सकेका छैनन् । पासपोर्ट सहितको कागजपत्र कम्पनीले जफत गरिदिएपछि उनी समस्यामा परेका हुन् । जिन्दगी पूरै जेलमा सड्यो, अब आफ्नै माटोमा मर्ने मन छ, उनी भन्छन्–न पासपोर्ट छ न कुनै कागजपत्र, घर फर्किने बाटै बन्द भयो । कागजपत्र साहुले जफत गरेपछि उनले नेपाली एम्बेसीसँग सहयोग मागे तर एम्बेसीले पनि सहयोग नगरेको उनी सुनाउँछन् । न्यायका लागि जीत बहादुरले साउदीको श्रम अदालतमा मुद्धा समेत हालेका थिए । तर मुद्धा पनि सुनुवाई नै नभई तुहियो । उनी अहिले साउदीको रफामा अलपत्र अवस्थामा छन् । केही खाउँ भने पैसा छैन, बाटोमा सुत्छु, बाटोमै फालेका खानेकुरा खाएर सास धानेको छु, टेलिफोनमा उनले भने–मलाई नेपाल फर्काइदिनुस्, म नेपाल फर्किन चाहान्छु । तर उनलाई स्वदेश फर्कनका लागि कहि कतै बाट पहल हुन सकेको छैन । कतारमा रहेका केही नेपालीहरुले उनलाई नेपाल फर्काउन प्रयास गरेपनि कानुनी जटिलताका कारण नसकेको कतार स्थित युवा समाजसेवी प्रकाश परियारले बताए । जीत बहादुरका दुई छोरा र एक छोरी छन् । सात बर्षदेखि परिवारसँग सम्पर्क हुन नसकेको जीत बहादुरले बताए ।
यता जीत बहादुरकी श्रीमती चिनीमाया परियार लामो समयपछि श्रीमानको खबर पाएर खुशी छिन् । उनले जतिसक्दो छिटो नेपाल फकाईदिन आग्रह गरिन् । बैदेशिक रोजगारीमा गएर अलपत्र परेका नेपालीलाई उद्धार गर्न कल्याणकारी कोष छ । यो कुरा न जीत बहादुरलाई थाहा छ, न उनीजस्तै जेलमा जीवन कटाएका हजारौं नेपालीले बुझेका छन् । साउदीका जेलमा रहेका अधिकांश बन्दीहरू गरिब, ग्रामीण र पिछडिएका परिवारका मानिसहरु मात्रै छन् । जीत बहादुरलाई नेपाल फर्काउनका लागि आँफुहरुले पनि पहल गर्ने बैदेशिक रोजगारीका लागि सुरक्षित आप्रबासन (सामी) परियोजनाकी कास्की संयोजक माया गुरुङले जानकारी दिईन् । उनले प्रवासी नेपाली समन्वय समितिमा घटनाको बारेमा जानकारी गराउने र जतिसक्दो छिटो फर्काउनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाईन् । यो क्षेत्रमा काम गर्ने पोखरामा अर्को संस्था पनि छ, अधिकारका लागि जनमञ्च । संस्थाकी पोखरा संयोजक भुवन पराजुलीले पनि बैदेशिक रोजगार प्रवद्र्धन बोर्डसँग समन्वय गरेर फिर्ता बोलाउन सहयोग गर्ने बताईन् ।

SHARE