२०८१ वैशाख १३ गते | 25th of April 2024

कर्णालीमा स्वास्थ्य अनुसन्धान थालनी

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १५ गते ६:३१

जुम्ला, १५ कात्तिक । पिछडिएको क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्वास्थ्य क्षेत्रको अनुसन्धान अघि बढाएको छ ।

यस प्रतिष्ठानले कर्णालीमा स्वास्थ्य सेवा तथा शिक्षाको प्रभावकारी सञ्चालन गरिरहेको बेला स्वास्थ्य अनुसन्धानको थालनी गरेको बताएको हो । प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्लेले स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्य शिक्षा दिँदै आएकामा यो वर्षबाट स्वास्थ्य अनुसन्धानलाई अघि बढाइएको बताए ।

“हामीले कर्णालीको मुगु, जुम्ला र कालिकोटमा सर्वे सम्पन्न गरिसकेका छौं, अब प्रतिष्ठानको कार्य क्षेत्रअन्तर्गत तत्कालीन पिछडिएको नौ जिल्लामा स्वास्थ्य सर्वेक्षण थाल्छौं” उपकूलपति वाग्लेले भने ।

प्रतिष्ठानले सबै जिल्लाको स्वास्थ्य अवस्थाको तथ्यांक लिन्छ र सोहीअनुसार उपचार सेवाको मार्ग खोल्न अनुसन्धान प्रक्रिया अगाडि बढाउने उहाँको भनाइ छ ।

उनले कर्णालीमा विद्यमान रोगको अवस्था, स्वास्थ्यसँग सम्बन्धित आहार, सरकारी स्वास्थ्य संरचनाको सेवा प्रवाहजस्ता महत्वपूर्ण विषय सर्वेक्षणमा आउने बताए ।

प्रतिष्ठानले अस्पतालको सेवाअन्तर्गत १०० श्ययाको अस्पताल सञ्चालन, १७ जना विशेषज्ञ डाक्टरसहित १५० जना जनशक्तिले सेवा र सस्तो दरमा ठूला शल्यक्रिया जुम्लामा गर्दै आएको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार गतवर्ष २९ हजार ९३४ जना बिरामीले सेवा लिएकामध्ये दुई हजार ४९१ को ठूलो शल्यक्रिया भएको थियो ।

त्यसैगरी विपन्नलाई निःशुल्क उपचार, स्वास्थ्य बीमा शुरु, स्टाफ नर्स चौंथो र हेल्थ असिष्टेन्ट तेस्रो ब्याज सञ्चालन गरिहेको उहाँले बताउनुभयो । उहाँका अनुसार ऐनले व्यवस्था गरेबमोजिम ४५ प्रतिशत पिछडिएको क्षेत्रका व्यक्तिले अध्ययन गर्ने अवसर प्राप्त गर्दै आएका छन् ।

अस्पताल निर्देशक धर्मराज गोसाईंले ६ नं। प्रदेशकै उत्कृष्ट सेवा दिइरहेको हिमाली क्षेत्रमा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासमा साझा चिन्तन आवश्यक रहेको औंल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *