प्रकाश ढकाल
पोखरा, कात्तिक ७ ।
आँखा अगाडी लस्करै सुन्दर हिमश्रृखंला । सिरसिर बतास । पोखरा उपत्यकाको मनोरम दृष्य । छेवैमा फेवाताल । सायदै देखिन्छन् यस्ता दृष्यहरु एकै ठाउँबाट । जुन ठाउँ यति सुन्दर छ, त्यही ठाउँ हाम्रा लागि अपरिचित छ । न राज्यको आँखा पुग्यो, न स्थानीयले चासो देखाए । वरपरका डाँडा जति रिसोर्टले भरिभराउँ हुँदा पनि पुम्दीकोट अहिलेसम्म कुमारी छ । कालाबाङ र शान्ति स्तुपा पर्यटकीय नक्सामा छ । तर पुम्दीकोट स्थानीयको सपनामा छ, जुन अहिलेसम्म विकाउन सकेनन् । वल्लो पल्लो गाउँमा पर्यटक गएको हेरेरै बसिरहे । अब समय फेरियो । यहाँका स्थानीयहरु पनि आफ्नो ठाउँको प्रचार प्रसार र विकासमा जुटे ।
पर्यटकलाई आकर्षित गर्ने संरचना निर्माणको तयारीमा छ, पुम्दीकोट । स्थानीयको सक्रियतामा अहिले त्यस ठाउँमा शिब भगवानको विशाल मुर्ती निर्माणको चरणमा छ । करिब ५ करोड २५ लाख रुपैयाँको लागतमा भगवान शिवको १०८ फिट अग्लो मुर्ती र शान्ति स्मारक बनाउन लागिएको हो । आगामी दुई बर्षभित्र निर्माण सम्पन्न गर्नेगरी आउँदो मंसिरदेखि निर्माणको काम थालिने निर्माण समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिए । समितिले पाँच बर्षे कार्ययोजना समेत सार्वजनिक गरेको छ । २१ करोड रुपैयाँको लागतमा पार्किङ सुविधा सहितको शिवको मुर्ती, शहिद स्मृति पार्क, आकर्षक वाटर फाउण्टेन, बहुउद्देश्यिय भवन, बगैँचा लगायतका संरचना निर्माण गर्ने योजना छ ।
पर्यटकलाई आकर्षित गर्न भ्यू प्वाईन्ट बनाएपनि अहिले यहाँ पर्यटक आउँदैनन्, संयोजक बरालले भने–हाम्रो योजना सकिएपछि हामीले थेग्न नसक्ने गरी पर्यटक ओइरिन्छन् । उनका अनुसार करिब १२ रोपनी जमिनमा संरचना निर्माण गरिनेछ । यसका लागि चालू बर्षमा खर्च गर्नेगरी पर्यटन मन्त्रालयबाट २० लाख रुपैयाँ विनियोजन समेत भैसकेको छ । तत्कालका लागि बीउ पूँजीको रुपमा बजेट विनियोजन भएपनि क्रमागत रुपमा बजेट थप हुँदै जाने उनको विश्वास छ । यो रकम हौसला मात्रै हो, यसलाई टेकेर हामीले सबै योजना पूरा गर्छौं, उनी भन्छन्–बाँकी रकम सरकारी निकाय सहित स्थानिय संघसंस्था, स्थानियवासी, बैदेशिक रोजगारीमा रहेका नेपालीसँग सहयोग जुटाईनेछ ।
आर्थिक संकलनको लागि छिट्टै महायज्ञ समेत आयोजना गर्ने समितिको योजना छ । योजनामा २५ लाख बढी सहयोग गर्ने दाताको इच्छा अनुसार अर्धकदको शालिक समेत राखिने समितिले जनाएको छ । शनिबार भएको पत्रकार सम्मेलनमा उपस्थित भएका पुम्दीकोटकै स्थानीय एवं क्षेत्रीय प्रशासक खगराज बरालले बजेट जुटाउन आफुँले पनि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । म कार्यान्वयन गर्ने निकायमा छैन, तर कार्यान्वयन गराउने निकायमा छु, उनले भने–सम्बन्धित सबै निकायलाई सहयोगका लागि आग्रह गर्छु । उनले पोखरामा आएका पर्यटकको बसाइ लम्ब्याउन पुम्दीकोट सहित आसपासका क्षेत्रमा पर्यटकीय संरचना तयार हुनुपर्ने बताए । अहिलेसम्म प्राकृतिक श्रोत मात्रै दोहन गरिरहेका छौं, उनी भन्छन्–हामीले पूर्वाधार तयार गरेनौं भने अब पर्यटकलाई भुलाउन सक्दैनौं । समुन्द्र सतहदेखि झण्डै १५ सय मिटरको उचाइमा रहेको पुम्दीकोटमा दृष्यावलोकनको लागि यसअघि टावर निर्माण गरिसकिएको छ ।
प्रचारप्रसार र प्रबद्र्धनको अभावमा उत्कृष्ट दृष्यावलोकन स्थल भएपनि छाँयामा परेको पुम्दीकोटलाई आकर्षक स्थल बनाउने माओबादी केन्द्रका नेता रामजी बरालले बताए । हाल पोखरा आउने पर्यटकहरु दृष्याबलोकन गर्न सराङकोट पुग्ने गर्छन् । पोखराबाट करिब १३ किलोमिटरको दुरीमा रहेको पुम्दीकोट पुग्न अहिले सडक सञ्जाल पुगिसकेको छ । होटल तथा रेष्टुरेण्ट स्थापना गर्ने र स्थानीय कला संस्कृति देखाउन सके पर्यटकलाई थप आकर्षित गर्न सकिने स्थानीय अगुवा प्रकाश बरालले बताए । अहिले पनि योजना निर्माणकै चरणमा रहेकाले प्राकृतिक सम्पदामा दीर्घकालीन असर नपर्ने गरी पूर्वाधार निर्माण र प्रयोग गरिने उनको भनाई छ । निर्माण सम्पन्न भएपछि छोटो दुरीको पदयात्राको लागि पोखरामा नयाँ गन्तव्य थपिने स्थानीयको अपेक्षा छ ।

SHARE