एजेन्सी, कात्तिक ७ ।
अभिनेता आर्यन सिग्देलले नयाँ फिल्ममा अभिनय नगरेको झन्डै एक वर्ष हुन लागेको छ । पछिल्लो समय आफ्नो ब्यानरका फिल्ममा मात्रै अभिनय गर्ने घोषणा गरेका आर्यनलाई निर्माताले निरन्तर नै ‘फिल्म अफर’ गरिरहेका हुन्छन् । तर, उनी बाहिरी ब्यानरका फिल्ममा अभिनय गर्न रुचि नै देखाउँदैनन् ।
किन त आर्यन फिल्म खेल्दैनन् रु केही समयअघि त उनी धमाधम फिल्म गर्थे । वसन्त निरौलाको होस् या नेत्र गुरुङको, ‘आको बात छैन’ थियो । तर, पछि गएर उनी निकै ‘चुजी’ बने । कतिपयले आर्यनलाई फिल्म नपाएर खाली बसेको पनि भन्ने गरेका छन् । खासमा कुरा त्यसो होइन । उनले थुप्रै फिल्म ‘रिजेक्ट’ गरेका छन् । यसको मुख्य कारण हो, पछिल्ला फिल्म लगातार फ्लप हुनु । आफू अभिनित अलबिदा, नाइके, आवेगलगायतका फिल्म असफल भएपछि उनी अत्तालिएका हुन् । त्यसपछि नै उनले उप्रान्त बाहिरी ब्यानरका फिल्म नगर्ने घोषणा गरेका हुन् ।
आर्यन श्याम अर्यालको मरिनामा भने अभिनय गर्ने छन् । मरिनाको सुटिङ डिसेम्बरबाट मात्रै सुरु हुने बताइन्छ । बाहिरी ब्यानरका फिल्म नगर्ने घोषणा गरे पनि उनले ‘छक्का पञ्जा’मा भने अभिनय गरे । त्यसमा ‘निजी’ कारण भएको बताइन्छ । छक्का पञ्जामा अथिति भूमिका निर्वाह गरेका आर्यन नोभेम्बर रेन र क्लासिकपछि अब तेस्रो फिल्म निर्माणको तयारीमा छन् । दिनेश राउतको निर्देशन रहने उनको फिल्मको अधिकांश सुटिङ अस्ट्रेलियामा गरिने जानकारी आएको छ ।

SHARE