एजेन्सी, कात्तिक ७ ।
बिस्तारै जाडो बढ्ने क्रममा छ । जाडोमा धेरै बालबालिका निमोनियाको सिकार हुने गरेको विगत छ । नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्यु गराउने संक्रमणहरूमध्ये निमोनिया पनि मुख्य रूपमै देखिने गरेको छ । डेढ दशकअघिसम्म नेपालमा प्रत्येक वर्ष पाँच वर्षमुनिका ४० हजार बालबालिकाको मृत्यु निमोनियाकै कारण हुने गथ्र्यो भन्दै बालरोग विशेषज्ञ डा। गणेशकुमार राईले निमोनियाबारे जान्नैपर्ने केही सुझाब दिएका छन् स्
किन हुन्छ निमोनिया ?
विशेषगरी, रुघाखोकी बिग्रिएर नै बालबालिकालाई निमोनिया हुने गरेको छ । रुघाखोकी बिग्रिएपछि हुने ब्याक्टेरिया र भाइरसको संक्रमणले नियमोनिया गराउँछ । कहिलेकाहीँ बच्चाले विभिन्न किसिमका केमिकल मिसाएका खाना खाए भने पनि निमोनिया हुन सक्छ । अहिले पनि नेपालमा वार्षिक करिब १० हजार बालबालिकाको मृत्यु निमोनियाकै कारण हुने गरेको अनुमान छ । कुपोषण तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकामा निमोनियाको संक्रमण बढी हुन्छ ।
निमोनियाबारे केही भ्रम
आममानिसमा रुघाखोकी लाग्नेबित्तिकै बच्चालाई निमोनिया हुन्छ भन्ने भ्रम छ । तर, रुघाखोकी लाग्दैमा निमोनिया नै हुन्छ भन्ने छैन । रुघाखोकी सामान्य अवस्थामै ठीक पार्न सकियो भने निमोनिया हुन पाउँदैन । कतिपयले सामान्य रुघाखोकीमै बच्चालाई निमोनियाको एन्टिबायोटिक चलाइदिने गर्छन् । तर, यो गलत तरिका हो ।
निमोनिया हुनुअगावै बच्चालाई एन्टिबायोटिक खुवाउनु पर्दैन । सामान्य रुघाखोकी लाग्दैमा निमोनियाको एन्टिबायोटिक खुवाउनुको कुनै औचित्य छैन । बरु, त्यसले बच्चालाई शारीरिक रूपमा कमजोर बनाउँछ । धेरैजसो रुघाखोकी ६–७ दिनमा आफैँ ठीक हुछ । सामान्य ज्वरोको औषधिबाहेक अन्य घरेलु उपचार गर्दा नै निको हुन्छ । तर, निमोनिया लागेकै शंका भएमा तत्काल चिकित्सकलाई देखाई एन्टिबायोटिक अनिवार्य लिनुपर्छ । चिकित्सकको सल्लाह लिएर जाँचपछि मात्र एन्टिबायोटिक खुवाउनुपर्छ ।
निमोनियाका मुख्य लक्षण
निमोनिया भएको बच्चालाई ज्वरो धेरै आउने गर्छ । श्वास फेर्न गाह्रो हुने तथा छिटो–छिटो श्वासप्रश्वास हुने गर्छ । बच्चालाई खोकी लाग्ने, कोखा हान्ने हुन्छ । साधारणतया बच्चालाई रुघा लागेको तीन दिनपछि मात्र निमोनिया सुरु हुनसक्छ । आमाको दूध पनि खान नसक्ने हालतमा बच्चा पुग्यो भने निमोनिया कडा भइसकेको हुन सक्छ । यस्तो अवस्थामा बच्चाले खानेकुरा पनि खान सक्दैन ।
रुघाखोकीको औषधि आफूखुसी नदिनु
रुघाखोकी लाग्नेबित्तिकै बच्चालाई आफूखुसी कफसिरप दिने प्रवृत्ति अधिकांश अभिभावकमा देखिन्छ । तर, कफसिरपले बच्चालाई थप समस्यामा पार्न सक्छ । यसको सट्टा घरेलु उपचार लाभदायी हुन्छ । कफसिरपको साटो बच्चालाई थोरै मह, तुलसी पत्ता, बेसार, अदुवा थोरै मिसाएर खुवाएमा राम्रो हुन्छ । ज्वरो नै आएको छ भनेचाहिँ पारासिटामोल खुवाउनु उत्तम हुन्छ ।
पूर्वसजगता यस्तो हुनुपर्छ
बच्चालाई निमोनिया हुनबाट जोगाउन पूर्वसजगता आवश्यक पर्छ । कतिपय कुरामा गहिरो ढंगले विचार पु¥याउनुपर्छ । बच्चालाई केही खुवाउनुअघि आफ्नो हात राम्ररी सफा गर्नुपर्छ । जन्मिएको ६ महिनासम्मको शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्छ भने ६ महिनापछि केही ठोस आहारसँगै आमाको दूध खुवाउनुपर्छ । सरकारबाट दिइने सबै प्रकारका खोप बच्चालाई लगाउनबाट वञ्चित गर्नु हुँदैन ।
बच्चाको नजिक बसेर धुम्रपान गर्दा पनि उसको फोक्सोमा असर पु(याउने खतरा रहन्छ । त्यसैले बच्चानजिक बसेर धुम्रपान गर्नु हुँदैन । कोठाभित्र बच्चालाई न्यानो बनाएर राख्नुपर्छ, तर गुम्स्याउनु भने हुँदैन । यसका लागि कोठाको भेन्टिलेटर सधैँ खुला राख्नुपर्छ, जसले श्वासप्रश्वास सहज बनाउँछ । बच्चालाई भीडभाडमा लामो समय सकेसम्म राख्नु हुँदैन । भीडभाडमा रहँदा संक्रमण नहोस् भनेर विशेष सावधानी अपनाउनुपर्छ ।

SHARE