प्रकाश ढकाल
पोखरा, कात्तिक २० ।
अन्नपूर्ण आधार शिविर घुम्न आएकी कोरियाली नागरिक सिवीको एकरात कुर्चीमै बित्यो । छोम्रोङबाट दोभान बास बस्न पुगेकी उनी होटलमा ठाउँ नपाएपछि बम्बु फर्किन् । बम्बुमा पनि चारवटै होटल भरिभराउ थियो । कुनै विकल्प नभएपछि उनी कुर्चीमै जाग्राम बसिन् । सुरुमा दोभान पुगेको थिएं, त्यहाँ कोठा नपाएपछि दुई घण्टाको बाटो हिडेर बम्बु फर्किएकी हुँ, अलपत्र जस्तै भेटिएकी उनले भनिन्–तर यहाँ पनि कोठा पाईएन, ननिदाईकन रात बिताउनुप¥यो । उनी जस्तै इजरायली पर्यटक गिल पनि सुत्ने कोठा नपाएर खाना खाने कोठामै सुते । सबैजना सँगै हुने भएकाले आफुँले सुरक्षित महशुस नगरेको उनी सुनाउँछन् । अन्नपूर्ण क्षेत्र संसारकै उत्कृष्ट ट्रेकिङ रुट हो, उनले भने–तर यहाँको पूर्वाधारका कारण पर्यटकहरु खुलेर रमाउन सक्दैनन् । पर्यटकका लागि आवश्यक संरचनाहरु थप गर्न उनले सुझाव दिए ।
बिदेशी पर्यटकहरुले सुत्ने ठाउँ नपाउने यस क्षेत्रमा आन्तरिक पर्यटकको झनै बिजोग हुन्छ । पर्यटक बढेसँगै पछिल्लो समय सेन्चुरी अन्नपूर्ण क्षेत्रमा होटल अभाव हुन थालेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले होटल थप्न र कोठा विस्तारका लागि रोक लगाएका कारण पर्यटकले सास्ती ब्यहोर्नुपरेको हो । होटलमा पर्याप्त कोठा नपाएपछि यो रुटमा दैनिक पचास बढी पर्यटकलाई समस्या हुन्छ । उनीहरु केही कुर्चीमा रात विताउँछन् भने केही चाहीँ खाना खाने कोठामै सुत्छन् । पर्यटकलाई असहज भएपछि पटक पटक कोठा थप गर्नका लागि निवेदन दिएपनि एक्यापले सुनुवाई नगरेको होटल सञ्चालकहरु बताउँछन् । पर्यटक आएपछि बाहिरै बस भन्न पनि मिलेन, भित्र राखौं ठाउँ छैन, अन्नपूर्ण बेस क्याम्प स्थित होटल स्नोल्याण्डका सञ्चालक जगन गुरुङ (ब्ल्याक टी) ले भने–कमसेकम कोठा विस्तारको अनुमति दिएपनि पर्यटकलाई सहज हुने थियो । २०४३ सालमा एक्याप स्थापना भएदेखि यस ठाउँमा होटल थपिएका छैनन् । सबैजसो ब्यवसायीहरुले नियममा बसेर ब्यवसाय सञ्चालन गरेपनि केही ब्यवसायीहरुले आँफुखुशी कोठा थप गर्ने गरेको गुरुङले बताए । राजनीतिक पहुँच भएकाहरुले मनपरी कोठा विस्तार गरिरहेका छन्, तर कारबाही हुँदैन, उनी भन्छन्–हामीचाहीँ इजाजत लिएर काम गर्न खोज्दा पनि पाउँदैनौं, एउटै ठाउँमा धेरै ठूलो बिभेद छ ।
पर्यावरणीय हिसावले नयाँ होटल थप्नु चुनौति भएपनि पूराना होटलमा कोठा थपका लागि इजाजत दिनुपर्ने माछापुच्छ«े बेस क्याम्पका होटल ब्यवसायी रामकाजी गुरुङ बताउँछन् । चलिरहेकै होटलमा कोठा बढाउन पाएपनि पर्यटकलाई सास्ती हुन्थेन, उनले भने–धेरैपल्ट सम्म सिफारिस माग्यौं तर सुनुवाई भएन । स्थानीय अगुवा मिन प्रसाद गुरुङ भने कोठा थप्न भन्दा होटल बढाउनु उपयुक्त देख्छन् । बेरोजगारलाई रोजगारी प्राप्त हुने भएकाले नयाँ होटल विस्तारको इजाजत दिनुपर्ने उनको भनाई छ । सँधैभरी एउटै ब्यवसायीले कमाउनुपर्छ भन्ने छैन, अन्नपूर्ण आधार शिविर स्थानीय सामुदायिक स्वरोजगार संघका सचिव समेत रहेका उनले भने–गरिब जनताले पनि होटल चलाउन पाउनुपर्छ । गाउँमै रोजगारी सिर्जना गराउने उद्देश्यले २०६४ सालमा संस्था नै गठन गरेर यहाँका बेरोजगारहरुले ब्यवसाय संचालनको इजाजत मागिरहेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना घान्द्रुकका प्रमुख विदुर कुईँकेलले पर्यटकको चापका कारण होटल थप गर्नका लागि गएको फेबु्रअरीमै प्रकृति संरक्षण कोषमा जानकारी गराईसकेको बताए । त्यस क्षेत्रमा सबै सरकारी जग्गा भएकाले हामीले स्वीकृति दिएर मात्रै हुँदैन, क्याविनेटबाट निर्णय भएर आउनुपर्छ, उनले भने–बिशेष कार्ययोजना सहित सम्बन्धित ठाउँमा पुगेको छ, निर्णयपछि हामी स्विकृति दिन्छौं । कति होटल थप गर्ने भन्ने बिषयमा कुनै निर्णय नभएको भन्दै उनले त्यसको अध्ययनका लागि छोम्रोङमा पर्यटक चेकपोष्ट समेत सुरु गरेको जानकारी दिए । सेन्चुरी अन्नपूर्ण क्षेत्रमा पर्यटकको चाप पछिल्लो समय ह्वात्तै बढेको छ, होटल थप्नैपर्ने दवाव सुरु हुन थालेको छ, उनी भन्छन्–जतिसक्दो छिटो यसलाई सुल्झाउँछौं । उनका अनुसार यस क्षेत्रका प्रत्येक होटलमा ६ भन्दा बढी कोठा बनाउन मिल्दैन । त्यसैले २६ वटा होटलमा हाल ट्रेकरका लागि १ सय ५६ वटा कोठा र ४ सय ९४ बेड छन् । त्यस बाहेक भरियाका लागि ३३ वटा कोठामा १ सय ५५ वटा बेड छ । माथीबाट स्विकृती आएपछि स्थानीय पर्यटन ब्यवसायी, संरक्षण समिति समेतको समन्वयमा होटल थप गर्ने कुईकेलले बताए । अन्नपूर्ण बेस क्याम्पका लागि मात्रै सिजनमा दैनिक झण्डै दुई सय पर्यटक जाने गर्छन् ।

SHARE