प्रकाश ढकाल
पोखरा, कात्तिक ३० ।
ऐतिहासिक जिल्ला गोरखामा नयाँ संरचनाअनुसार ११ वटा स्थानीय तह हुने भएको छ । दुई नगरपालिका सहित थप नौ वटा गाउँपालिका बनाउन जिल्ला प्राविधिक सहयोग समितिले राज्य पुनर्संरचना आयोगमा सिफारिक पठाएको छ । यसअघि नै घोषणा भैसकेको गोरखा नगरपालिका र पालुङटा नगरपालिकामा नजिकका गाविसहरु समायोजन गर्ने र बाँकी रहेका गाविसहरुलाई गाउँपालिकाको अवधारणा अनुसार सिफारिस गरिएको प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी नारायण आचार्यले जानकारी दिए । उनका अनुसार गोरखा नगरपालिकामा ताप्ले र देउराली गाविस समेटिने छन् भने पालुङटार नगरपालिका विस्तार भएर मिरकोट, धुवाँकोट र खोप्लाङसम्म पुग्नेछ ।
बाँकी रहेका ५५ गाविसहरु नौ वटा तहमा विभाजन गरिएको छ । समितिको सिफारिस अनुसार हिमालपारीका सात गाविस सिर्दिबास, बिहि, प्रोक, ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारलाई सिर्दीबासमा केन्द्र हुनेगरी चुमनुब्री गाउँपालिका बनाईने छ । यस्तै उहिया, लाप्राक, गुम्दा, ल्हापु र केरौंजा गाविस समेटेर गुम्दा केन्द्र हुनेगरी धार्चे गाउँपालिका बन्नेछ । उता आरुघाट गाउँपालिकामा मान्बु, थुमी, आरुपोखरी, आरुचनौटे र आरुआर्बाङ गाविस समेटिएका छन् भने केन्द्र आरुचनौटे तोकिएको छ । सुलिकोट गाउँपालिकामा बारपाक सहित स्वाँरा, सौरपानी, ताकुमाझ लाकुरीबोट, ताकुकोट, पन्द्रुङ र पाँचखुवा देउराली छन् । यसको केन्द्र चाहीँ ताकुकोट हुनेछ ।
सहिद लखन थापा गाउँपालिका नाम दिएर बुंकोट, घैरुङ, नामजुङ, ताकलुङ, बक्राङ र मनकामना गाविसलाई समायोजन गरिएको छ भने केन्द्र घैरुङ बन्नेछ । भीमसेन गाउँपालिकामा बगुवा, मसेल, तान्द्राङ, धावा, अश्राङ र बोर्लाङ गाविस छन् । केन्द्र बगुवामा बन्नेगरी सिफारिस गरिएको समितिले जनाएको छ । तल्लो तटिय क्षेत्रका भुम्लीचोक, घ्याल्चोक, ताङ्लीचोक, दर्वुङ, फुजेल र मकैसिङ गाविस जोडेर भुम्लीचोकमा केन्द्र हुनेगरी गण्डकी गाउँपालिका बन्दैछ । यस्तै हर्मी, छोप्राक, थालाजुङ, गाँखु, केराबारी र श्रीनाथकोटलाई पायक पर्नेगरी छोप्राकमा केन्द्र राखेर सुलिकोट गाउँपालिका बनाउन प्रश्ताव गरिएको छ । अजिरकोट गाउँपालिकामा भने खरिबोट, हंसपुर, घ्याच्चोक सिमजुङ, मुच्चोक र जौबारी गाविस छन् । यो गाउँपालिकाको केन्द्र भच्चेक बजारलाई तोकिएको छ ।
राजनीतिक दलको अधिकतम सहमतिबाट स्थानीय तहको संख्या र सीमाना निर्धारण गरिएको समितिका संयोजक आचार्यले बताए । गोरखाको भुगोल नियमित खालको नभएकाले केही गाउँपालिका अपायकजस्तो देखिएको उनको भनाई छ । नामका बिषयमा पनि प्रश्तावित मात्रै भएकाले जनताले अझै उत्तम नाम पेश गरे केन्द्रमा सिफारिस गर्ने उनले बताए । स्थानीयहरुले भने नाममै राजनीति भएको गुनासो गरेका छन् ।

SHARE