२०८१ वैशाख ८ गते | 20th of April 2024

चर्चित लेखक राजन थपलियाको डिजिटल किताब “फिफ्टी फाइभ इयर्स” सार्वजनिक

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर ५ गते २२:०७

न्यूयोर्क । पछिल्लो किताब “१००% लाईफ्” को सफलता पछी चर्चित लेखक राजन थपलियाको डिजिटल किताब “फिफ्टी फाइभ इयर्स” सार्वजनिक भएको छ । पुस्तक ४३ वर्ष जेल जीवन बिताएर रिहा भएका बन्दीको सेरोफेरोमा लेखिएको हो । लेखकले गतसाता पुस्तकको प्रोमो सार्वजनिक गर्नुभएको थियो ।

लेखक थपलियाका अनुसार यस पुस्तकमा लामो समय जेल जीवन बिताई गह्रौं मन लिएर रिहा भएका डेनियल ज्याक्सनलाई प्रस्तुत गरिएको छ। यस पुस्तकमा जीवनको आशा समेटिएको छ । जीवनमा केही गर्न सक्दिन भन्ने सोच्नेहरुका लागि ‘फिफ्टी फाइभ यिअर्स’ले उत्साह प्रदान गर्छ ।

डिप्रेसनको शिकार भएका तथा जीवनमा असफल भएकाहरुलाई पनि उत्कृष्ट साहित्यले जीवन जिउन उत्साह दिन सक्छ । जीवनमा हार खाएकाहरुका लागि यस पुस्तकले नयाँ आशा देखाउँछ ।

चाहेको कुरा प्राप्त गर्न तपाईलाई उमेरले छेक्दैन र जुनसुकै उमेरमा पनि तपाईले चाहेको कुरा प्राप्त गर्न सक्नुहुन्छ भन्ने ‘फिफ्टी फाइभ यिअर्स’ ले प्रमाणित गर्छ । तपाईसँग इच्छाशक्ति छ भने आफूले गर्न चाहेको काम पूरा गर्न तपाईलाई इश्वरले पनि रोक्न सक्दैन भन्ने पुस्तकको सार हो ।

१८ बर्षको उमेरमा प्रहरीको हत्या गरेर जेलमा परेका बु्रकलिनका डानियल ज्याक्सनको बाल्यकालको सपना र उनले भोग्नुपरेको यथार्थबीचको मनोविज्ञानलाई कथामा देखाइएको छ । काल्पनिक पात्र डानियलको आत्मकथालाई कथामा प्रस्तुत गरिएको छ भने कथाको अन्त्यमा आत्मकथा लेखेर मरिसकेका डानियल र उनकी प्रेमिकाबीचको दर्दनाक क्षण समेत चित्रण गरिएको छ ।

अमेजन किन्डलमा उपलब्ध यो कथाको मूल्य ५ डलर राखिएको छ । ब्रान्स एण्ड नोबल, इबे, एप्पलको आइबुक लगायतमा पनि यो कथा छिट्टै उपलब्ध हुने कथाकार थपलियाले जानकारी दिएका छन् । ईबुकमा बजारमा आएको थपलियाको यो १२ औं कृति हो । थपलियाका यसअगाडिका ११ पुस्तक प्रिन्टमा समेत उपलब्ध छन् ।

हालै उनको पुस्तक शतप्रतिशत जीवन अर्थात् हण्ड्रेड पर्सेन्ट लाइफ बजारमा आएको थियो । जेलबाट छुटेपछि पनि आफ्नो बाल्यकालको सपना पूरा गरेका काल्पनिक पात्र डानियलको कथाले जीवनमा केही गर्न नसकेको भन्दै निराश हुनेहरुलाई समेत उच्च मनोवल प्रदान गर्ने लेखकको अपेक्षा छ ।

तत्कालका लागि कथाका रुपमा सार्वजनिक गर्न लागिएको इबुक सोहि शिर्षकमा निस्कन लागेको उपन्यासको सार कथा हो । तत्कालका लागि कथाका रुपमा सार्वजनिक गर्न लागिएको ‘ फिफ्टीफाइभ यिअर्स’ को उपन्यास भर्सन चाँडै सार्वजनिक हुने लेखक थपलियाले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *