फडिन्द्र अकिञ्चन
पोखरा, मंसिर २१ ।
मानव समाजलाई मिहिन तवरले बुझेकाहरू भन्छन् ः प्रेम नै जीवनको सार हो। पारिवारिक जीवन नै सबैभन्दा उत्कृष्ट मानवीय संरचना हो। तर, यही समाजमा प्रेमको आवरणमा हुने अपराधका कथा पनि बग्रेल्ती छन्।
यस्तै कथाको एउटा पात्र बन्न आइपुगिन्ः गोरखा, छोप्राककी रमिला(नाम परिवर्तन) कुमाल। आम किशोरीको जस्तै सपना थियो १७ वर्षीय रमिलाको पनि। विपन्न परिवारमा जन्मिएकी उनी तीन वर्षदेखि पोखरा बस्थिन्। सात कक्षा पढेर स्कूल छाडेकी रमिला लेकसाइडको एक होटलमा काम गर्थिन्। थोरै तलवमा दिनरात काम गर्ने रमिला अन्जानमै स्याङ्जाको पुतलीबजार घर भएका अर्जुनप्रसाद शर्माको प्रेमजालमा परिन्। विवाहित शर्मा अशिक्षित, सोझा र गरिब युवतीलाई प्रेमजालमा पारेर विदेश लैजाने र कमाउने धन्दामा सक्रिय थिए।
कुवेतमा आकर्षक जागिर पाउने र सहरको सम्पन्न मानिससँग घरजाम हुने सपना देखेकी उनी चार महिनादेखि बेपत्ता छिन्। उनीसँग पासपोर्ट छैन, नागरिकतामात्र छ। १७ वर्षीय रमिलाले उमेर बढाएर नागरिकता बनाएको उनका बुबा चेतबहादुर बताउँछन्।
नेपालबाट हिडेको एक हप्तापछि भदौ २ गते रमिलाले भारतीय नम्बरबाट दिदीलाई फोन गरेर भनिन्–‘म काठमाडौं छु।’ रमिलाको कुराले शंका उब्जाएपछि उनको परिवार प्रहरीकहाँ पुग्यो। त्यसपछि सम्पर्कविहीनजस्तै भएकी उनले फेरि असोज ११ गते बाबु चेतबहादुरलाई फोन गरिन्। उनले श्रीलंका छु, कुवेत जाँदै छु भन्ने जानकारी दिएको चेतबहादुर बताउँछन्।
त्यसपछि रमिलाको अत्तोपत्तो छैन। चेतबहादुरको घर गत वर्षको भूकम्पले बस्न नहुने भएको छ। दुई दशकदेखि पर्यटक गाइड उनी प्रहरीले तदारुकताका साथ रमिलाको खोजी नगरेको दाबी गर्छन्। उनले भने–‘हामीले सूचना दिएका छौं, आफ्नै प्रयासले लैजाने मान्छे पक्राउ पनि गरायौं तर छोरीको पत्तो लागेन।’
गोर्खाकै चेतबहादुर गुरुङ(दीपक), उनकी छोरी विनितासँगै रमिला पनि भएको तस्विर शर्माको मोवाइलमा फेला परेको छ। शर्माले रमिला हाल कुवेतमा रहेको बताएका छन्। उनले रमिलालाई समीर रानालाई हस्तान्तरण गरेको बताइरहेका छन्। तनहुँ घर भएका रानाका नाममात्रै आधा दर्जन छन्। माइकल, उदय, समीर, बुद्ध, दया अनेक नाम बनाएर चेलीबेटी तस्करी गर्ने रानासँग एक पटक आफ्नो सम्पर्क भएको रमिलाका बुबा चेतबहादुरले जानकारी दिए।
उनले भने–‘एक पटक कुरा भएको थियो, त्यसपछि फोन अफ छ।’ तनहुँ घर भएका रानालाई पक्राउ गर्न र रमिलाको खोजीमा नेपाल प्रहरीले तदारुकता नदेखाएको उनको आरोप छ। उनले थपे–‘पक्राउ परेका शर्माले राना एक दशकदेखि यो काममा लागेको बताइरहँदा र हामीले नै फोन नम्बरसमेत दिँदा पनि उनलाई खोजिएको छैन।’
विनिताले दिल्लीमा एक अपार्टमेन्टमा रमिलालाई भेटेको बताएकी थिइन्। यसरी शंकास्पद रुपमा लगिएकी रमिलालाई जोसुकैले भेट्न नपाउने बताउँदै उनी गुरुङले भनेको सम्झन्छन्, ‘त्यहाँ धेरै नेपाली केटी छन्, दिल्ली जाऊ, म सबै चिनाइदिन्छु।’
कुमाल परिवारले अनेक जुक्ति लगाएर अर्जुनलाई पक्राउ गराए। रमिलाले फोन गरेको भारतीय नम्बरमा यताबाट दिलमायाले फोन गरिन्। दिलमायाले फोनबाट र रमिलाकी अर्की बहिनी पर्ने सञ्जुले फेसबुकबाट अर्जुनलाई पछ्याइरहे। दुबैले हामीले यहाँ दुःख पाएका छौं, पढलेख गर्न जान्दैनौं, हामीजस्तै अरु धेरै केटी पनि छन् भनिरहे। दिलमाया र सञ्जुलाई के–के गर्नुपर्छ भनी रमिलाकी कान्छी आमा स्याली ह्यारिसले सिकाइरहिन्।
योबीचमा दिलमाया र सञ्जु दुवैसँग अर्जुनले प्रेमको नाटक गरे। अनेक आश्वासनसमेत दिए। थप युवती लिन दिल्लीबाट काठमाडौं आएका अर्जुनलाई प्रहरीले असोज २ गते पक्राउ ग¥यो। घटना कास्कीको भएकाले उनलाई कास्की ल्याइयो। उनी अहिले पुर्पक्षका लागि थुनामा छन्।
रमिलाको केश अनुसन्धान गरिहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश बमले अहिले उनीसँग सम्पर्क रहेको र अर्जुनले रमिलालाई लगेको स्वीकारेको जानकारी दिए। उनले भने–‘तस्करले आजभोलि श्रीलंकाकै बाटो भएर लैजाने गरेका छन्। खोजी जारी छ।’
बालबालिकाको क्षेत्रमा क्रियाशील गोविन्दराज पहारी अपराधमा संलग्न मुख्य अभियुक्त पक्राउ पर्दा पनि बालिकाको अवस्था पत्ता नलाग्नु आश्चर्यजनक भएको बताउँछन्। उनी भन्छन्–‘गरिब, बेरोजगार, सोझा धेरै नेपाली चेली यसैगरी हराइरहेका छन्। देशबाहिर अनुसन्धान गर्ने नेपाल प्रहरीको संयन्त्र नहुँदा यस्तो अवस्था आएको छ।’
गरिब, दुर्गम र अशिक्षित बालबालिका र महिलालाई दलालहरुले ललाइफकाइ भारत र अन्य देश लैजाने गरेका छन्। यसरी लगिएकामध्ये अधिकांश महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाइएको पाइन्छ। थ्री एन्जल्स नेपाल कार्यकारी निर्देशक डा राजेन्द्र गौतम नेपाली र परिवारकै संलग्नतामा दलालहरुले मानव तस्करी गरिरहेको बताउँछन्।
सन् १९९६ सम्म दुई लाख बढी नेपाली महिला बेचिएको एक अनुसन्धानले देखाएको छ। यौन व्यवसाय, घरेलु कामदार, सर्कस, लागुऔषध ओसारपसारमा उनीहरुलाई संलग्न गराउने गरिएको छ। सन् २०१५ को राष्ट्रिय मानव अधिकार आयोगले तथ्याङकले पनि नेपालबाट एक वर्षमा २९ हजार महिला बेचिएको देखाएको छ।
डा गौतम नेपालमा मानव तस्करी रोक्न भारतसँगको खुला सिमाना बन्द गर्नुपर्ने बताउँछन्। उनी भन्छन्–‘खुला सिमाना बन्द भए ६० देखि ८० प्रतिशत मानव तस्करी घट्छ।’ यसबारे जनचेतना फैल्याउँदै, देशमै रोजगारीको व्यवस्था र विद्यमान कानुन कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने उनको सुझाव छ। उनले थपे–‘कानुन उल्लङ्घन गर्नेलाई यहाँ सम्मान गरिन्छ। मानव तस्करीका अपराधीलाई पनि राजनीतिक संरक्षण दिने गरिएको छ।’
गएको भए बेचिइसक्थेँ-दिलमाया
रमिला मेरो काकाकी छोरी हो। पोखरामा हामी सँगसँगैका होटलमा काम गथ्र्यौैं। उसले मलाई आफू काम गर्न विदेश जाने हुँ भनेकी थिई। जानुअघि उसँग फोनमा कुरा भएको हो। त्यसपछि सम्पर्क छैन। कुवेत जाने हो भन्दै थिई। म असार २६ गते चितवन गएँ र साउनभरि त्यही बसेँ। म होटल लाइनमा काम गर्ने केटी भनेर हो कि किन हो, रमिलाको परिवारले मलाई कहिल्यै राम्रो व्यवहार गरेन। मैले कसैलाई भनिनँ ऊ जाँदै छ भनेर। फेरि उ यसरी बेपत्ता हुन्छे भन्ने मलाई के थाहा ? उसले मलाई पनि जाऊँ भनेकी थिइ तर मेरो परिवारले जान दिएन। म पनि गएको भए शायद बेचिइसक्थे होला।
उसले गोरखाबाट पासपोर्ट बनाएको हामीलाई थाहा छैन। नागरिकता भने उमेर बढाएर बनाएकी रहिछ। झापा हुँदै जाने हो, मसँग एक जना केटा साथी छ भनेकी थिई। राम्रो मान्छे छ, मसँग नराम्रो व्यवहार केही गरेको छैन भन्दै थिई। उसका बुबा र कान्छी आमा अस्ट्रेलिया जाँदै छन्। मसँग दुई वर्षपछि अस्ट्रेलिया जान नेपाल फर्कन्छु भन्दै थिई।
रमिला हराएपछि मैले अर्जुनलाई विदेश फोन गर्दा चार–पाँच हजार सकियो। उसँग म पनि विदेश जाने हो भनेर नाटक गरेँ। उसले १५–१६ देखि ३०–३५ वर्षका केटी नौ–दश जना जम्मा गर्न भन्यो। तलब सुरुमा ३० हजार र केही महिनापछि महिनाको ४०÷५० हजार हुन्छ भनेको थियो। अर्जुनलाई नै फोन गर्ने क्रममा त्यहाँ बहिनीसँगै अरु पनि धेरै नेपाली केटी भएको मैले थाहा पाएँ। त्यहाँका अरु मान्छे केटीहरूलाई कुवेत लैजाने कुरा गर्दै थिए।
अर्जुनलाई नेपाल बोलाएर पक्राउ गर्नुअघिसम्म मैले निकै नाटक गर्नुप¥यो। पाँच जना केटी छन्, लिन आऊ भनेर बोलाएको थिएँ। पढ्न–लेख्न पनि जान्दैनन्, पासपोर्ट भन्ने पनि थाहा छैन भनेर ढाँटेकी थिएँ। अब बहिनीको पत्तो लाग्छ कि लाग्दैन तर थप अरु नेपाली दिदीबहिनीको बिजोक नहोस्।

SHARE