अमेरिकी प्रवासी नेपाली संस्थाहरुको छाता संगठन एनआरएन, एनसिसी अमेरिकाको चर्चा ब्याप्त छ, अहिले । एनसिसीको आसन्न निर्वाचन, त्यही निर्वाचनमा उठ्ने उम्मेद्वारहरु र समग्र संगठनको बस्तुस्थितिका बारेमा यो जाडो मौसम एनआरएनले तताएको छ । एनआरएनका यिनै बिबिध बिषयहरुमा छलफल गर्न आगामी जनवरी १४ तारिख टेक्सास राज्यको डालसमा सम्पन्न हुनगैरहेको वार्षिक साधारण सभाले प्रवासी अमेरिकी नेपालीहरुको ध्यान खिचेको छ । संगठनको अवस्था, साधारण सभाको औचित्य र तयारीका बारेमा एनआरएन अमेरिकाका उपाध्यक्ष एवम साधारण सभाका संयोजक समाजसेवी राम सि पोखरेलसंग खुल्लामन्च, यूएस खबर, द नेपाल टुडे र हिमालपाटीका लागि गोकुल ढकालले गरेको कुराकानी :

ढकाल : उपाध्यक्षज्यू नमस्कार, आफ्नो बारेमा केही बताईदिनुस् न ।
पोखरेल : म राम सि पोखरेल । विगत १८१९ बर्षदेखी टेक्सास राज्यको डालसमा दुई बच्चाहरु र श्रीमतीसंग ब्यापारिक पेशालाई अंगालेर बसेको छु । नेपाली समाज टेक्सास, डालस लाइन्स क्लब र केही संस्थाहरुको पुर्व अध्यक्षको रुपमा सामाजिक सेवामा पनि आफुलाई संलग्न गराउंदै आएको छु । हाल, एनआरएन, एनसिसी अमेरिकाको उपाध्यक्ष र आगामी पांचौं साधारण सभाको संयोजकको रुपमा सकृय छु ।

ढकाल : ब्यस्त हुनुहुन्छ आजभोली, चटारो छ है डालासमा, के हुंदैछ उपाध्यक्षज्यू ?
पोखरेल : गोकुलजी, सही हो, ब्यस्तता बढेको छ, आजकाल । एनआरएन, एनसिसीको पांचौं साधारण सभाको सम्मेलन टेक्सासको डालस राज्यमा सम्पन्न हुने कार्यसमितिको निर्णय बमोजिम साधारण सभालाई कसरी सफल, सहभागीमुलक, भब्य र प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराहरुमा एकाग्र भएर लाग्ने जमर्कोले थोरै ब्यस्तता बढाएको छ ।

ढकाल : हजुर, एनआरएनको साधारण सभामा प्रवासी नेपाली समुदाय, आईसिसी र तपाईंंहरुका साधारण सदस्यहरुको उपस्थिती कस्तो हुने अपेक्षा गर्नुभएको छ ?
पोखरेल : साधारण सभाको तयारीकै क्रममा साथीभाईहरु संग निरन्तर बिभिन्न माध्यमबाट संपर्क भईरहेको छ । स्थानीय नेपाली समुदाय, यस क्षेत्रमा सकृय बिभिन्न सामाजिक संघ-संस्थाहरु, अमेरिकामा बिभिन्न त्यहाँ र तप्कामा रहनुभएका तमाम नेपाली सामुदायिक सदस्यहरु, पत्रकारवर्ग, एनआरएन अमेरिकाको सिंगो कार्यसमिती, यसका च्याप्टर समितिहरुसंगको निरन्तर संपर्कले सकरात्मक उर्जा मिलेको छ ।
एनआरएन आईसीसीबाट केन्द्रिय उपाध्यक्षद्वय कुमार पन्त र भवन भट्टजी साधारण सभामा सहभागी हुने पक्का भएको छ । यसबाहेक साधारण सभा आयोजक समिती, एनआरएन अमेरिका केन्द्रिय कार्यसमिती र यसका च्याप्टरहरु सभालाई भब्य बनाउन निरन्तर लागिरहनुभएको सुखद खबरले सहभागीमुलक हुनेछ भन्ने कुरामा विश्वाश जागेको छ ।

ढकाल : उपाध्यक्षज्यू, तपाईंंहरुले उठाउनुभएका मुद्दाहरु, संजाले रंगीन प्रचारहरु र प्रवास र नेपाली समुदायको पुल बन्ने सपनाहरु सब अधुरा रहे हैं ? भित्तमा टांसिएर मात्रै बसे त तपाईंहरुका बाचाहरु !
पोखरेल : गोकुलजी, सान्दर्भिक कुरा उठान गर्नुभयो । कुनै पनि संस्थाका दुई एजेन्डाहरु हुन्छन । अल्पकालिन र दिर्घकालिन । एनआरएनमा मेरो वर्तमान संलग्नताले मैले यसै संस्थाको बारेमा भन्नुपर्नेहुन्छ ।
अल्पकालिन मुद्दा र बिषयहरुमा कुरा गर्दा अहिले हामीले एनआरएनको च्याप्टर १५औं बनायौं । अमेरिकामा सामुदायिक सदस्यहरुलाई परेका समस्याहरुमा एनआरएन हतेमालो गर्दै अघि बढेको धेरै उदाहरणहरु छन । प्रचारका लागि मात्र भनेर साधारण सभाको चटारोमा म त्यता जना चाहन्न । तर यती जोड्न चाहन्छु कि, हामी ग्रास रुट सम्म पुग्न सफल भएका छौं । नेपाली सामुदायिक सदस्यहरुका समस्यामा एनआरएन अमेरिका कहिल्यै बिरानो नबनेको कुरा तपाईंहरु संचारकर्म गर्नेहरुलाई के बताईरहनुपर्ला र ?
दिर्घकालिन एजेन्डाहरुका बारेमा भन्नुपर्दा गोकुलजी, समाजमा समस्या परेपछि जाग्ने हो, संस्था । महाभुकम्पताक हाम्रो सिंगो कार्यसमिती राज्यको त्यो पिडामा सहानुभुती दिलाउन अोखतीका पोका, मल्हम पट्टी र राहत सामग्री बोकेर स्वदेशमा खटेको कुरा म लुकाउन चाहन्न । स्वास्थ्य सेवासंग सम्बन्धित हाम्रा आदरणीय अध्यक्ष डा. केशव पौडेल आफ्नो पेशासंग सम्बन्धित जानकार र सहयोगीहरुको हतेमालोसंग निरन्तर स्वदेशमा मल्हम पट्टी लगाउन लागिपर्नुभएको छ । कार्यसमितिका धेरै सदस्यहरु निरन्तर स्वदेश यात्रामा पुनर्निर्माणका लागि आफुसक्दो लागिरहनु भएको छ । निमुखालाई आश्रम, रोगीलाई ओखती, अशिक्षितलाई बिद्धालय र बिरामीलाई अस्पातल लगायतका बिषयहरुमा हाम्रो कार्यसमितिले प्रत्यक्ष रुपमा धेरै कार्यहरु गरेको छ । दिर्घकालिन कामहरु हुंदैछन, निर्माणक्रम जारी छन । सम्पन्न कार्यहरु अबको हाम्रो कार्यावधी र आउने कार्यसमितिको अवधिमा पूर्णताको खबर अबश्य मिल्नेछ ।

ढकाल : गरिएको केही देखिए पनि सामुदायिक सदस्यहरु पूर्णत: खुशी महसुश नभएको सवालमा, यो साधारण सभा तिनै अपूर्ण बाचाहरु ‘पुरा गर्न सकेनौं हजुर, अब म फेरी जितेपछी’ भनि सदस्यहरुसंग माफी माग्न आयोजना गरिएको हो ?
पोखरेल : म यो प्रश्न कसरी लिन्छु भने, लिडरशिपमा आएपछी त्यो स्थानमा पुर्‍याउनुहुने तमाम मतदाताहरुको चाहना बमोजिम काम हुनुपर्छ । धेरै भएका छन, मैले माथी नै बताएं । हो, कामका चरणमा गल्ती हुन्छन । कार्यहरु अधुरा हुन्छन । तर भएका सकरात्मक कुरालाई हामीले भुल्नुहुंदैंन । पुराना, अधुरा र बिरोधका लागि बिरोध खाले कुरा कोट्याउने भन्दा पनि महाभुकम्प पछिको भात्किएको हाम्रो मन र धनलाई पुनर्निर्माणका लागि नै हामी लाग्नुपर्दछ । चुनावमा वाचाहरु हुनु स्वाभाबिक हो, एजेन्डा बिना नै त के भविश्य हुन्छ र ? त्यसकारण लाग्दछ, यो छोटो अवधिमा हामीले सम्पन्न गरेका र सम्पन्न हुन बांकी रहेका कामहरुबाट सदस्यहरु निराश भने कदापी हुनुहुन्न । अत: याचना र प्रयाश्चितका लागि नभई यो साधारण सभा आर्थिक, सामाजिक र पुनर्निर्माणका लागि तपाईं हामी एक हुने थालोको रुपमा जम्मा हुन आयोजना गरिएको हो ।

ढकाल : ठीक छ उपाध्यक्षज्यू, एनआरएनको तपाईंको कार्यसमितिले आलस्का र आईवा जस्ता ठाउंमा किन सम्मेलन गर्न सक्दैन ? नेपालीका कार्यक्रमहरु सदैव डालस, न्यूयोर्क, बाल्टिमोर र क्यालिफोर्नियामा मात्रै हुनुका पछाडि ‘कुछ काला’ त पक्कै होलान ?
पोखरेल : हो, गोकुलजी । सहि भन्नुभो । आलास्का र आईवाजस्ता राज्यहरुमा हामी अझैं गहिरो रुपमा पुग्न सकेका छैनौं । तर पनि आईसिसिसंगको सम्बन्ध बिस्तार, च्याप्टरहरुको गठन, पुर्व अध्यक्ष खगेन्द्र जि सी ज्यूले शुरु गर्नुभएका कार्यहरुका सम्पन्नता, हाम्रा अध्यक्ष डा. पौडेल लगायत कार्य समितिका सदस्यज्यूहरुको बिभिन्न राज्य भ्रमण, बिशेष गरी सदस्यता र एनआरएनको पहुंच सबै नेपाली माझ पुर्याउन हामी लागिपरेका छौं । र पनि, तपाईंले भन्नु भएजस्तो सबैतिर पुग्न र बिस्तार गर्न नसक्नु हाम्रा केही कमजोरी होलान । त्यसतिर हामी लाग्छौं । यो सम्मेलनमा यो बारे अबश्य छलफल हुनेछ ।
जहांसम्म ठुला राज्यहरुमा मात्र सभाहरु आयोजना गरिने सवाल छ, भएका सदस्यहरुबाट मात्र निर्वाचन सम्पन्न हुने भन्दा पनि ठुला राज्यहरुमा स्वाभावत बढी सदस्य हुनेहुनाले त्यही बलमा साना राज्यमा संगठन बिस्तार गरिने हाम्रो योजना मुताबिक यसपाली डालसमा सम्मेलनको आयोजना भएको हो, यो दालमा ‘कुछ काला’ छैन, शंका मान्नै पर्दैन ।

ढकाल : दवावमा कसैका आन्तरिक ईच्छा पुर्ती गर्नाका खातिर ‘विवादका बिच’ भिटो प्रयोग गरेर डालसमै यो सम्मेलन आयोजना हुन पुग्यो रे नि त !
पोखरेल : मिडियामा धेरै कुरा आएका छन । सामाजिक संजालका केही दुरुपायोग पनि नभएका होईनन । बिवाद पटक्कै होईन । चलायमान संस्थाको साधारण सभा आयोजना गर्ने विवादमा एनआरएन अमेरिका छैन । वास्तवकिता के हो भने, एनआरएन बोर्डको बैठकले वार्षिक रुपमा आयोजना गर्नै पर्ने साधारण सभाका लागि समय पनि छोटो रहेको अवस्थामा क्यालिफोर्निया, बाल्टीमोर लगायतका स्थानका नाम आउंदा आउंदै सर्वसम्मतीबाट डलासको बिषयमा निर्णय भएको हो । खुल्ला किताव जस्तो एनआरएनमा संस्थाको साधारण सभा आयोजना जस्तो सामान्य कुरामा कुनै ‘दवाव र भिटो’ को सवालाई छैन ।

ढकाल : भनेपछि शानदार हुनेछ सम्मेलन, उपाध्यक्षज्यू ! प्रवासी नेपालीका मुद्दाहरु सम्बोधन गर्न कम से कम केही प्रयास हुनेछ । वा, चुनावमा उठ्ने मनोकांक्षा भएका उम्मेद्वारहरुको ‘हेरौं माहौल र घोषणा गरौं आफ्नो नाम’ हुनेछ ?
पोखरेल : हजुर, एकदम शानदार हुनेछ । तडकभडकको शानदार होईन कि, ब्यबस्थापन र सहभागीताले शानदार हुनेछ, यो साधारण सभा । प्रवासी नेपालीका मुद्दाहरुका बारेमा सम्मेलनमा छलफल हुनेछन । एनआरएन एउटा ठुलो संगठनको रुपमा जसरी अमेरिकामा स्थापित छ, यसमा सम्पूर्ण सदस्यहरु, संचारकर्मीहरु र शुभेच्छुकहरुको उत्तिकै लगानी छ । संचारकर्मीहरुको बढी छ भन्छु, म त । यती ठुलो संगठनमा सबै मुद्दाहरु सम्बोधित हुन समय लाग्छ । तर यसपाली बिभिन्न फोरमहरुमा हाम्रा समस्याहरुका बारेमा बहस हुनेछन, संस्थाको साधारण सभाको आयोजनाको औचित्य नै त्यही त हो नि, होईन र ? मुद्दाहरुलाई फोरमको स्वरुप दिएर बहस गर्ने थालो न हो, साधारण सभा । न कि उम्मेद्वारी घोषणा सभा ।

ढकाल : त्यही त पैसावालहरुको बोलवाला भयो, एनआरएनमा । बिचार हुने तर अमेरिकामा घर, ब्यापार र दुई चारजना हुक्केहरुलाई पिलाउन नसक्नेहरुको हैसियत र पहुंच बाहिरको भयो, यो संस्था भन्छन । के त्यो सांचो हो, उपाध्यक्षज्यू ?
पोखरेल : एकदमै महत्वपूर्ण सवाल उठाउनुभयो, गोकुलजी । हामी सम्पूर्ण गैर आवसीय साथीहरुले सोच्नुपर्ने कुरा छ, यो । संस्थामा सकरात्मक र नकरात्मक कुराहरु आउंछन । ठुला संस्थामा अनेक आकांक्षाहरु भएका ब्यक्तिहरु हुन्छन नै । सहभागीताले धन, दौलत र प्रचार भन्दैन । फरक फरक चरित्रका ब्यक्तिहरुको छिनोफानो लगाउने ठाउँं त निर्वाचन होनी ।
ब्यक्तिले दिनसक्ने समय र हिंड्नसक्ने सामर्थ्यलाई दौलतको रवाफमात्र भनेर बुझ्न हुन्न जस्तो लाग्छ, मलाई । केही कोही रवाफलाई समाजसेवाको सामर्थ्य ठान्छन तर संस्थामा लगानी शुन्य हुन्छ भने निर्वाचनमा सहि पक्षमा मतजाहेर गरिदिए सबै कुराको किनरा लागिहाल्छ ।
तर, पुनर्निर्माणको यो अवस्थामा रहेको बखत एनआरएन पैसावालाहरुको संस्था हो भन्ने कुरामा चाँहीं म सहमत छैन, गोकुलजी ।

ढकाल : नेपालको संसदीय चुनावजस्तो तडकभडक, प्रचारशैली, आश्वाशन र एउटै बिचार हुनेहरु बिचनै भएका घात र प्रतिघातले धनवालाहरुको मात्रै रहेछ, मनवालाहरुको जमाना गाको नजिर छ, है न र ? कि बिगतका सम्मेलनका कारण एनआरएन र पत्रकारहरु बिचको दुरी बढेको प्रतिफलले उब्जाएको हल्ला हो ?
पोखरेल : चुनाव हो । कम्प्युटरको यो जमानामा मान्छेहरुले आफ्ना बिचार राख्छन । सामाजिक संजालहरुलाई प्रयोग गरेर उम्मेद्वारहरुले प्रचार गर्छन । ट्याग र लाईक गर्छन् । यसलाई संसदिय चुनावसंग कसरी जोड्ने ? घात र प्रतिघात भन्ने कुरा ब्यक्तिको स्वाभावले दिने नतिजा हो । संस्थामा चुनावबारे कसरी जाने भन्ने छलफल जहाँं पनि हुन्छ । त्यती गर्दा गर्दै प्रतिघातहरु हुन्छन भने ब्यक्तिको नैतिकताले अौंल्याउने पाटो हो । हिजो के भए त्यसतिर म जन चाहन्न ।
तपाईंको प्रश्नको आशयका खातिर म गत बर्षको न्यू जर्सी सम्मेलन थोरै जोड्न चाहन्छु । हेर्नुस्, संचारकर्मी र एनआरएन एक सिक्काका दुई हुन । यो बिषयमा बढी लेपन लगाउनु आबश्यक नहोला । न्यू जर्सी सम्मेलन पश्चात जुन कुराहरु बाहिर आए, म त्यसमा सहमत छैन । उदाहरणस्वरुप, हामी मिल्ने साथीहरु बिच पनि कहिलेकाहीं मनमुटाव हुन्छन । चित्त दुख्न सक्छ । काम गर्दा गर्दै एक अर्कामा आंच आउन साक्छ । तर मिल्ने साथीहरु बिचको अन्डरस्ट्यान्डिङ्ले समस्याहरु समाधान हुन्छन ।
मिडियामा जुन कुरा आयो, मैले अघि नै भने त्यो सत्य होईन । सहि कुराको जिम्मेवार प्रस्फुटन र उजागरका लागि संचारकर्म सदैब लाग्छ भन्ने एनआरएनको बुझाई हो । आयोजना, ब्यबस्थापन र सम्पन्नताका लागि केही कमजोरी हुनसक्छन, केही भए, त्यो स्विकार्य छ । तर पाहुना बोलाएर पानी नपिलाई कसैले पठाउंदैन । कमजोरीहरुलाई करेक्सन गर्ने कम्प्रोमाईज पनि गर्न सिक्नुपर्दछ, हामी सबैले ।
तपाईंंको मिडियालाई आधार मानेर म यो हार्दिक अनुरोध गर्न चाहन्छु कि, आदरणीय सदस्यज्यूहरु, शुभचिन्तकज्यूहरु, पत्रकारबर्ग र सम्मेलनमा भाग लिना आउनुभएका पाहुनाज्यूहरु : सहभागीताका लागि आफ्नो नाम रजिस्ट्रेशन गराइदिनुहोला । ता कि हामीलाई थाहा हुनेछ, कति पाहुनाहरु पाल्नुभयो र उहांहरुको सम्मानमा हामी कसरी भरपुर ब्यबस्थापन गर्न सक्छौं ।
गोकुलजी, होटलको एउटा नियम हुन्छ । ७२ घण्टा अगाडी हामीले खानाको लागि लिस्ट दिनुपर्दछ । रजिस्ट्रेशन देखिएन भने हामीले दिएको लिस्टको आधारमा होटेलले खानाको सेवा दिन्छ । न्यू जर्सीमा त्यही भएको हो । यसबारे बढी नजाऔं ।

ढकाल : उपाध्यक्षज्यूको यो अमुल्य समयका लागि हार्दिक आभार । प्रवासी नेपाली समुदायको शक्तिशाली संस्थाको साधारण सभा सफलताको मंगलमय शुभकामना ! अन्तमा केही छ, उपाध्यक्षज्यू ?
पोखरेल :  यहाँंलाई धेरै धेरै धन्यवाद । एनआरएनको बारेमा बोल्ने एउटा फोरम प्रदान गराईदिनुभएकोमा खुल्लमन्च, यूएस खबर, नेपाल टुडे र हिमालपाटीप्रती हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तपाईंहरुका मिडियालाई प्रयोग गर्दै आगामी जनवरी १४, तारिख २०१७, शनिवारका दिन एनआरएन अमेरिकाको पांचौं साधारण सभामा उपस्थित भईदिन सम्पूर्ण एनआरएन अभियान्ताहरु, साधारण सदस्यज्यूहरु, संचारकर्मी मित्रहरु तथा शुभेच्छुकज्यूहरुलाई पून: हार्दिक आमन्त्रण गर्न चाहन्छु ।
आउनुहोस्, तपाईं हामी मिले मात्र समाज बन्छ । समाज बने देश बन्छ र भुकम्पले थिल्थिलिएको हाम्रो मुलुकको पुनर्निर्माण सम्भव छ । एकता, विश्वाश र सहयोगअको लागि एनआरएन, एनसीसी अमेरिकाको ढोका सबैका लागि सधैंका लागि खुला रहनेछ । एकपटकका हामी नेपाली सदाका नेपाली । आफ्न दुई शब्द राख्ने अवसर दिनुभएकोमा यहाँंहरुलाई पून; हार्दिक धन्यवाद ।

SHARE