पोखरा, माघ ५ ।
शहरीकरणका नाममा जग्गा ब्यापारीहरुले मनपरी जमिन चिरेका छन् । बसाइँ सराइको चापले दिन प्रतिदिन प्लटिङमा अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ । सरकारी निकायलाई नै चुनौति दिनेगरी भएका यस्ता प्लटिङ गर्नेमाथी कारबाही हुन सकेको छैन । पोखरा २९ हेमजा स्थित सुईखेत नजिक स्विकृती बिनै अहिले धमाधम प्लटिङ गरिएको छ । नियमन गर्ने दायित्व पाएका निकाय नगरपालिका र नगर विकास समितिले थाहा पाएपनि प्लटिङ रोक्नका लागि कुनै पहल गरेको छैन । जथाभावी प्लटिङ रोक्न सरकारले गत वर्षदेखि लागू गरेको जग्गा विकास कार्यविधिमा राजमार्गदेखि ५० फिटभित्र र खोला किनारदेखि १० मिटर नजिक घर बनाउन नपाईने उल्लेख छ । तर हेमजामा ब्यबसायीहरुले राजमार्गको मापदण्ड नपु¥याई खोला आडैमा प्लटिङ गरेका छन् । स्थानीय भन्छन्–‘बर्खाका बेला घट्टेखोला रोडसम्मै उर्लेर आउँछ । माथीबाट ढुंगासहित खहरे ओर्लिन्छ ।’
जथाभावी प्लटिङ भएपनि सरकारी निकायले कारबाही गर्न नसकेको उनीहरुको गुनासो छ । प्लटिङ गरेपनि त्यस ठाउँमा घर बनाउँदा निकै जोखिम हुने स्थानीयले सुनाए । सरकारले ल्याएको प्लटिङ मापदण्ड सरकारी पक्षकै हेलचेक्र्याईँका कारण कार्यान्वयनमा आउन सकेको छैन । शहरी क्षेत्रमा नियमविपरीत भइरहेको प्लटिङमा नगरपालिकाले खेलाँची सोचिरहेको छ । सामान्य सरकारी नियम समेत पालना नगरी भएका प्लटिङका जग्गा धमाधम किनबेच भैरहेका छन् । यसको रोक्का राख्न सक्ने अधिकारवाला निकाय मौन छ ।
ब्यवसायी ओम पुन लगाएतको टीमले १५ रोपनी क्षेत्रफलमा हेमजामा प्लटिङ गरेका हुन् । ब्यवसायी पुनले कुनैपनि निकायबाट प्लटिङका लागि स्विकृति नलिएको स्विकारे । ‘घडेरी बनाउने जिम्मा ठेकेदारलाई दिएको हो । चाँडै सक्ने हतारोले घर गएका बेला स्विकृतिको काम नसकी ठेकेदारले डोजर चलाएछ, उनले भने–अहिले काम रोकेका छौं । स्विकृति लिएर मात्रै अगाडी बढ्छ ।’ ठेकेदारलाई दोष देखाएपनि नियोजित रुपमै प्लटिङ गरिएको नगरपालिका बताउँछ । ‘स्विकृति नलिई प्लटिङ गरेको थाहा पाएपछि हामीले दुईपटक सम्म डोजरको चावी नै खोसेका हौं । धेरै पल्ट निवेदन पनि बुझाएका छौं, नगरपालिकाका इन्जिनियर सुरेन्द्र पौडेल भन्छन्–हामीलाई अटेर गरेर अझै प्लटिङ गरिरहेका छन् ।’ उनका अनुसार हाल प्लटिङ भैरहेको जग्गाको फुकुवा नदिन वडा कार्यालयलाई नगरपालिकाले निर्देशन दिएको छ ।
पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनालले कानुन विपरित काम गर्ने अधिकार कसैलाई पनि नभएको बताए । ‘जग्गा खण्डिकरणको स्विकृति नगर विकास समितिसँग लिनुपर्छ । हामीसँग कसैले स्विकृति लिएका छैनन्, उनले भने–स्विकृति नलिएका ठाउँमा प्लटिङ गरे कारबाही हुन्छ ।’ उनले तत्काल काम रोक्न निर्देशन दिने प्रतिबद्धता जनाए । नगरपालिकाले मापदण्डको ख्याल नगरी प्लटिङ गर्नेलाई कानूनी दायरामा ल्याउन नसकेको उनको भनाई छ । पोखरा उपत्यका क्षेत्रभित्र प्लटिङ गर्दा पोखरा उपत्यका नगर विकास समितिसँग सिफारिस लिनुपर्छ । सोही सिफारिका आधारमा नगरपालिकाले स्विकृति दिन्छ । आफ्नै जग्गा भएपनि मनपरी खण्डिकरण गर्न पाईँदैन ।
स्वीकृति लिएर जग्गा प्लटिङ गर्दा पनि प्लटिङ क्षेत्रमा जाने सडक कम्तीमा ८ मिटर चौडा हुनुपर्ने ब्यवस्था छ । यस्तै प्लटिङ गरिएका जग्गाभित्रका सडक कम्तीमा ६ मिटर चौडा हुनुपर्ने, स्थानीय निकायले तोकेबमोजिमको न्यूनतम जग्गा हुनुपर्ने, खुला क्षेत्र छोड्नुपर्नेछ । आफ्नो प्लटिङमा सबै मापदण्ड पूरा भएको प्लटिङ ब्यवसायी पुनले बताए । नगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगाना यस्ता ब्यवसायीलाई प्लटिङको स्विकृति नदिने बताउँछन् । ‘सार्वजनिक जग्गा मिचेर प्लटिङ गर्न मिल्दैन । पहिले खोलाको मापदण्ड नापेर ब्यक्तिगत जग्गा नापी हुन्छ, उनले भने–त्यसपछि पनि प्लटिङ गर्न मिल्ने भए स्विकृती दिन्छौं । नभए कारबाहीको दायरामा ल्याउँछौं ।’ भूकम्पपछि भएको प्लटिङमा केही कडाइ गरेपनि पूर्ण कार्यान्वयनमा आउन नसकेको उनले बताए ।
पोखरामा पछिल्लो समय प्लटिङ कार्य केही मथ्थर भएको छ । बैंकले दिने लोनमा ब्याजदर बढी हुने र लोन दिन नमानेपछि जग्गा किनबेच केही घटेको ब्यवसायीहरु बताउँछन् । यसबाहेक नगरपालिकाले पनि जग्गा चिर्ने काममा कडाई गरेको छ । यद्यपी प्लटिङ कार्य पूर्ण रुपमा रोकिएको भने छैन ।

SHARE