प्रकाश ढकाल
पोखरा, माघ ५ ।
कास्की ढिकुरपोखरीका कलाधर भुगाईँको दैनिकी कफीसँगै खेलेर वित्छ । कफीलाई गोडमेल गर्ने, छहारी बनाउने र बाँझा जमिनमा विरुवा रोप्ने उनको दैनिकी नै हो । फुर्सदमा उनी गाउँलेलाई सल्लाह पनि दिन्छन् । कफी खेती सुरु गर्नुपर्दा गाउँले पनि उनीसँगै सल्लाह माग्छन् । उनकै सल्लाहले अहिले गाउँभरी कफी विस्तार भएको छ । २०५७ सालतिरै इन्टरनेशनल डेभलोपमेण्ट इन्टरप्राईजेज (आईडिइ) नेपालले कफीका बारेमा सिकाएपछि ढिकुरपोखरीका केही किसानहरुले खेती गर्न थालेका थिए । तर ब्यवसायिक भने हुन सकेको थिएन । ‘केही बर्षअघिसम्म कफीको बोट उम्रिएपनि उखेलेर फालिदिन्थ्यौं, उनले भने–अहिले किसानहरुले बुझ्न थाले । बर्षेनी नयाँ विरुवा रोप्छन् ।’ उनका अनुसार यहाँका किसानहरुले ५ हजारदेखि १ लाखसम्म आम्दानी गर्छन् । ‘कफी बेचेर पैसा आउँछ भन्ने नै थाहा थिएन, उनी भन्छन्–जब पैसामा बिक्न थाल्यो, किसानहरुले खेती बिस्तार गर्न थाले ।’ भुगाईँको बारीमा अहिले ५ सय बढी बोट छन् । उनले बर्षेनी ८ सय किलो चेरी कफी बिक्री गर्छन् । अघिल्लो बर्ष कफी बेचेर उनले ७२ हजार रुपैयाँ आम्दानी गरेका थिए ।
ढिकुरपोखरीकै शोभाखर अधिकारी पनि ब्यवसायीक कफी किसान हुन् । लामो समयको बैदेशिक रोजगारी पछि फर्किएका उनले उन्नत प्रविधि सहित कफी खेती गर्न थाले । ‘सुरुमा कफी रोप्न खाल्डा खन्दा गाउँलेले बौलायो भन्थे । तर कसैको कुरा सुनिन । बिगत सम्झिँदै उनले भने–अहिले राम्रो आम्दानी हुन थालेको छ । जाँगर भए विदेश नै जानु पर्दैन रहेछ ।’ उनकै सक्रियतामा गाउँमै पहिलोपटक प्रशोधन मेसिन भित्रियो । अहिले किसानहरुले उत्पादित कफी प्रशोधन गरेर मात्रै बजारमा पठाउँछन् । ‘प्रशोधन गरेर बजारमा पठाउँदा किसानले राम्रै पैसा हात पार्न सक्छन्, उनले थपे–नत्र बिचौलिया खेल्ने ठाउँ हुन्छ । किसानलाई फाईदा हुँदैन ।’ कफीखेती बाट अरु बाली भन्दा पाँच गुणा बढी आम्दानी हुने उनले बताए । उनका अनुसार ढिकुरपोखरीको वडा नम्बर १ मा मात्रै सय परिवारले कफी फलाएर बेच्छन् । उनीहरुले २०६३ सालमै माछापुच्छ«े उत्तम कफी उत्पादक सहकारी संस्था स्थापना गरेर कफीको विस्तार र प्रवद्र्धन थालेका हुन् । सहकारीमा हाल १ सय १५ जना आवद्ध छन् । उनीहरुले उत्पादन गरेका कफी सहकारीले खरिद गरेर जिल्ला सहकारी संघमा पठाउने काम गर्छन ।
‘कम्तिमा १ सय विरुवा भएका किसान मात्रै सहकारीमा सदस्य हुन पाउँछन्, सहकारीका अध्यक्ष समेत रहेका भुगाईँले भने–सहकारीले आफ्ना सदस्यको कफी बाहिरी किसानको भन्दा धेरै महंगोमा किनिदिन्छ । यसले किसानलाई कफीखेती गर्न हौसला मिल्छ ।’ सहकारीले आफ्ना सदस्यलाई एक किलो चेरी कफीलाई १ सय १० रुपैयाँ दिन्छ भने अरु किसानले ९० रुपैयाँ मात्रै पाउँछन् । अघिल्लो बर्ष ढिकुरपोखरीको वडा नम्बर १ बाट मात्रै १ हजार ८ सय केजी पार्चमेण्ट कफी निर्यात भएको सहकारीले जनाएको छ । यसबाट झण्डै ९ लाख आम्दानी भएको थियो । कफी खेतीका लागि हाल हरियो वन कार्यक्रमले पनि किसानहरुलाई सहयोग गर्दै आएको छ । हरियो वनले सुरुमा ६ हजार विरुवा अनुदानमा उपलब्ध गराएको किसानहरुले बताए ।
कास्कीमा कफिका लागी चाहिने अनुकुल हावापानी र जमिनका कारण यहाँको कफि विदेशी बजारमा समेत लोकप्रिय रहेको बिज्ञहरु बताउँछन् । ‘यहाँको हावापानीमा कफीको उत्पादन निकै राम्रो हुन्छ, हरियो वन कार्यक्रमका लिलाजंग गुरुङले भने–हामीले पनि यसलाई प्रबद्र्धन गरिरहेका छौं । वातावरणीय अनुकुलनका हिसावले पनि यो खेती प्रभावकारी र बढी उपयुक्त छ ।’ कास्कीमा हाल ४० हेक्टर क्षेत्रफलमा कफी खेती हुन्छ । १४ वटा प्रारम्भीक सहकारी र ६० वटा कफी समूह जिल्लामा क्रियाशिल छन् । किसानले उत्पादन गरेका कफी यिनै सहकारीहरुले संकलन र प्रशोधन गर्ने गरेको जिल्ला कफी सहकारी संघका अध्यक्ष आनन्द सुवेदीले जानकारी दिए । बर्षेनी खेती गर्ने दर बढ्दै गएको र किसानले पनि आम्दानी बढाउन थालेका उनले बताए । ‘कफीका लागि लागि बजार पाउन सजिलो छ, सुवेदी भन्छन्–जति उत्पादन गर्न सक्यो उत्ति फाईदा छ । तीन हजार किसानहरु कफी खेतीमा लागेका छन् ।’
आकर्षण बढेपनि कफीमा देखिने सिन्दुरे रोगका कारण किसानहरु चिन्तित हुन थालेका छन् । रोगको प्रकोप बढेपछि भएका बोट पनि मर्न थालेको भन्दै उनीहरुले उपचारका लागि सरोकारवालासँग आग्रह गरेका छन् । सिन्दुरे उपचार नहुने रोग भएकाले ब्यवस्थापनमा ध्यान दिनुपर्ने जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख लोकेन्द्र बोहरा सुझाउँछन् । उनले किसानहरुलाई तालिम र अन्तरक्रिया मार्फत सही ब्यवस्थापनमा सहयोग गर्ने बताए । कफी खेती बढेपछि बाँझो भएका खेतबारी समेत प्रयोगमा आउन थालेको बोहराले बताए । कार्यालयले पनि किसानलाई विरुवा खरिद र ढुवानीमा ५० प्रतिशत अनुदान सहयोग गरेको छ । जिल्लाका सबैजसो ठाउँमा कफि उत्पादन हुन्छ । यद्यपी ढिकुरपोखरी, कास्कीकोट, भदौरेतामागी लगाएतका गाविसहरुमा यसको उत्पादन बढी छ । कास्कीको उत्पादनले जिल्लाको ७० प्रतिशत माग पूरा गर्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

SHARE