वैशाखमा गएको महाभूकम्पपछि नेपालका एक्ला डलर अर्बपति विनोद चौधरी अहिले सामाजिक काममा एकोहोरिएका देखिन्छन् । भूकम्प पीडितका लागि उनले शुरु गरेको सिजी आश्रय अहिले देशकै नमूना सामाजिक कार्यका रुपमा स्थापित भएको छ ।

भूकम्पपछिको नौं महिनासम्म सरकारले खासै काम गर्न नसकिरहेका बेला चौधरी फाउण्डेसनले भूकम्प प्रभावित १० जिल्लामा १७ सय आवास निर्माण गरी भूकम्प पीडितलाई हस्तान्तरण गरेको छ भने ३० वटा विद्यालय भवन निर्माण गरेको छ ।

दिन दुईगुणा रात चौगुणाको रफ्तारमा व्यवसाय विस्तारमा दौडिने चौधरीको प्राथमिकता अहिले फेरिएको हो ? सन्तुष्ट मुद्रामा अनलाइनखबरसँग अन्तर्वार्ताका लागि प्रस्तुत भएका अर्बपतिले जवाफ दिए- मान्छेलाई परिस्थितीले फरक भूमिकामा उभ्याउँदो रहेछ । भूकम्पले मलाई अहिले त्यहि फरक भुमिकामा उभ्याएको छ । प्रस्तुत छ, अनलाईनखबरकर्मी नविन अर्यालले अर्वपति चौधरीसँग गरेको कुराकानी :

भुकम्पपछि चौधरी समूह सामाजिक कार्यमा सक्रिय देखिन्छ । उद्योग-व्यवसाय भन्दा सामाजिक कामलाई प्राथमिकतामा राख्नुभएको हो ?

मान्छेलाई परिस्थितीले फरक ठाउँमा उभ्याउँदो रहेछ । पहिलादेखि नै हामी क्षमता अनुसार विभिन्न सामाजिक काममा सक्रिय रहँदै आएका थियौं । तर, विनाशकारी भूकम्पले हामीलाई थप घच्घच्यायो ।

भूकम्पपछि मुलुकमा जुन नयाँ तहको चुनौती थपियो, त्यो चुनौतीसँग हामी गाँसिनुपर्छ भन्ने संकल्प गर्‍यौं । म आफ्नै दृष्टान्त सुनाउँछु । भूकम्प गएका बेला मेरी श्रीमती र एउटा छोरा काठमाडौंमा थिए । दुई छोरा र म चितवनको मेघौलीमा थियौं ।

मेघौली भूकम्पबाट खास प्रभावित भएको क्षेत्र होइन । अलिअलि कम्पन आए पनि पुरै सुरक्षित नै रहृयो । भूकम्प लगत्तै काठमाडौंमा धरहरा ढलेको, घरहरु भत्किएका खवरहरु आउन थाले । कतिपय गाउँ नै ध्वस्त भएको र धेरै मानिसहरु हताहत भएको पनि खबर मैले त्यही सुनेँ ।

काठमाडौंबाट मानिसहरु घर-घरबाट निस्किएर सुरक्षित ठाउँमा पुगेको खवरले मलाई सबैभन्दा अत्यायो । त्यो बेला मेरो अगाडि दुईवटा विकल्प थिए, परिवारलाई सुरक्षित ठाउँमा लैजाने वा म काठमाडौं फर्किने । मलाई त्यो बेलामा आफ्नो मनले भन्योे, ‘तँ अहिले नै काठमाडौं नफर्किने हो भने पछि कहिल्यै फर्किनुको अर्थ छैन । तँलाई जुन देशले विश्वभरी चिनायो, त्यो देशले तँलाई खोजिरहेको छ ।’

म भूँइचालोको कम्पन आइरहेकै बेलामा मेघौलीबाट काठमाडौं हिडेँ । सडकमा गुडिरहेको बेला पनि धेरै कम्पन आईरहे । गाडी चलाउँदा बत्तिन सक्छ कि भन्ने डर पनि उस्तै थियो । त्रासै-त्रासमा म र छोराहरु काठमाडौं फर्कियौं ।

आपत्को क्षणमा मानिसमा एकाएक मनभित्र संकल्प पलाउँदो रहेछ । उपायहरु पनि आफसेआफ निस्कँदा रहेछन् । भूकम्पपछि हाम्रो सिंगो संस्थामा त्यस्तै किसिमको आत्मविश्वास विकास भयो । देशभरबाट हामीलाई धेरैले विश्वास र समर्थन गरे । विदेशी साझेदारले सहयोगका लागि हात बढाए । त्यसपछि हामीले भूकम्प पीडितलाई कम्तिमा तत्कालका लागि बस्ने बासको प्रवन्ध गर्नुपर्छ भनेर लाग्यौं ।

हामीले बनाईदिएको ‘ट्रान्जिसनल होम’ले धेरैको अनुहारमा मुस्कान छाएको छ । त्योभन्दा ठूलो पुरस्कार, उपलब्धी र सन्तुष्टि अरु केही पनि होइन मेरा लागि । यतिबेला हाम्रो सबैभन्दा ठूलो प्राथमिकता नै सामाजिक कार्य बन्न पुगेको छ । त्यसको मतलव हामीले उद्योग-धन्दा बन्द गरेको होइन । उद्योग-व्यवसायतर्फको हाम्रो विस्तार पनि जारी छ ।

भनेपछि व्यवसायबाट भन्दा सामाजिक कार्यबाट बढी आत्मसन्तुष्टि मिल्दोरहेछ ?

हो । शत्प्रतिशत । ठूला-ठूला उद्योग चलाउँदा प्राप्त भएको सन्तुष्टीभन्दा घरविहिन भूकम्पपीडितहरुलाई आश्रय बनाईदिँदा उनीहरुको मुहारबाट निस्केको खुसीले दिने सन्तुष्टि कैयौं गुणा बढि छ ।

सिजी फाउन्डेसनका उच्च पदाधिकारीहरु सबै जना भूकम्प पीडितलाई आश्रय र विद्यालय बनाउन जुटिरहेका छौं । भूकम्पलगत्तै हामीले प्रभावित क्षेत्रहरुमा राहत पुर्‍यायौं । र, पीडितहरुलाई तत्कालको समस्या टार्न केही हदसम्म भएपनि सहयोग गर्यौं ।

लोकप्रियता बटुल्नका लागि सामाजिक कार्यमा हात हालेको पनि ठान्छन् नि कतिपयले ?

मैले यो काम कुनै लोकपि्रयता कमाउन गरेको होइन । मनले नै घच्घच्याएर यो कार्यमा सक्रिय भएको हुँ । अहिले यति सन्तुष्टि मिलेको छ कि, भूकम्प आउनु पहिलेभन्दा अहिले आफूलाई धेरै भाग्यमानी ठानेको छु ।

मैले जीवनमा धेरै काम गरेँ । विभिन्न सार्वजनिक पद र संघसंस्थामा बसेेँ । निजी क्षेत्रलाई नेतृत्व गरेँ । एउटा अन्तर्राष्ट्रिय स्तरको संस्था नै निर्माण गरेँ । त्यो सबै गर्दा मैले जुन किसिमको माया र स्नेह पाएको थिएँ, त्योभन्दा अहिले पाएको माया र स्नेह धेरै गुणा ठूलो छ । यो काममा नखोज्दा पनि पुरस्कार पाइदो रहेछ । एकजना भूकम्पपीडितको मुहारमा झल्केको खुसी मेरा लागि कुनै महत्वपूर्ण अवार्ड पाउनुभन्दा धेरै खुसीको अवसर हो ।

सरकारले एकैपटक सबै काम गर्न गाह्रो हुन्छ । त्यसकारण केही गरौं भन्ने हाम्रो पनि संकल्प छ र केही गरेर पनि देखाएका पनि छौं ।

भूकम्प पीडितका लागि १० हजार घर र सयवटा विद्यालय बनाइदिने घोषणा गर्नुभएको थियो । अहिलेसम्म १७ सय मात्रै बनेको छ । तपाईंको घोषित लक्ष्य कहिले पूरा होला ?

अहिलेको प्रतिकुल अवस्थामा पनि हामीले आश्रय तथा विद्यालय निर्माणलाई तिव्रता दिइरहेका छौं । हाम्रो लक्ष्य हो, जतिसक्दो चाँडो भूकम्प पीडितलाई घर दिने । हामी बाँकी घरहरु पनि छिट्टै निर्माण गरेर दिने प्रयत्न गर्छौं ।

हालसम्म १७ सय घर र ३० वटा स्कुल बनेका छन् । यति छोटो समयमा यति धेरै घर र स्कुल बनाउन सकुँला भन्ने आफैमाथि विश्वास थिएन । दश हजार घर बनाउने घोषणा गर्नु मजाक होइन । वास्तवमा मैले त्यतिबेला डराई-डराई घर बनाइदिने घोषणा गरेको थिएँ । कतै बाह्य परिस्थितिले अवरोध गर्ने त होइन भन्ने आशंका थियो ।

मान्छेलाई एउटा घर बनाउन त गाह्रो छ । त्यो पनि काठमाडौंमा बनाउने होइन, आफ्नो घरको छेउमा बनाउने होइन । भूकम्पले घर ढलेका छन् । पहाडी क्षेत्रमा अर्को घर बनाउन मिल्ने जग्गाको अभाव छ । तर आँटेपछि भगवानले पुर्‍याउँदा रहेछन् ।

अहिले भूकम्प पीडितलाई कतैबाट आशा नै छैन । यो धेरै डरलाग्दो र दुर्भाग्यपूर्ण अवस्था हो । सरकार र दाताहरुले दिएको पहिलो चरणको राहतपछि कहीँ कतैबाट केही सहयोग नपाएको गुनासो उनीहरुको छ । यस बीचमा सरकार परिवर्तन भयो, अरु के-के भयो । म पुगेका अधिकांश ठाउँहरुमा सुरुमा बाँडेको नगद सहयोग बाहेक अरु ठोस पुनर्निर्माणको काम भइरहेको मैले देखिनँ ।

तर, नेपालीहरुमा धेरै सहने वानी छ । जति दुःख परेपनि मुस्कुराउने बानी छ । उनीहरुलाई परेको पीडा त हामीले देखेका छौँ । एउटा सानो घरले उनीहरुको जीवनमा परिवर्तन आउँछ । हामीले सबैलाई घर पुर्याउन त सकिरहेका छैनौं । तर जतिलाई पुर्‍याउन सकिएको छ त्यसबाट उनीहरुलाई ठूलो राहत मिलेको महसुस भइरहेको छ ।

तपाईले भूकम्पपछिको पुनर्निर्माण अभियानका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सहकार्य गर्न चाहन्छौं भन्दै आउनुभएको छ । कस्तो खालको सहकार्य गर्न खोज्नुभएको हो ?

ढिलै भए पनि पुनर्निर्माण प्राधिकरण बनेको छ । यो खुशीको कुरो हो । सरकार अब भूकम्प पीडितको पुनर्वासका लागि पुनर्निर्माणमा सक्रिय भएर लाग्नुपर्छ । सरकारको काँधमा ठूलो दायित्व छ । भूकम्प प्रभावित सबै जिल्लामा एकैपटक सरकार पुगोस् भन्ने अपेक्षा गरिएको छ ।

यसैपनि विभिन्न कारणले ढिला भइसकेको छ । सरकारले एकैपटक सबै काम गर्न गाह्रो हुन्छ । त्यसकारण केही गरौं भन्ने हाम्रो पनि संकल्प छ र केही गरेर पनि देखाएका पनि छौं । त्यस्ता संस्थाहरुलाई साथमा लिएर सरकार हिँड्नुपर्छ । सरकारले विदेशीबाट मात्र सहयोग लिनुपर्छ भन्ने छैन ।

अहिले पनि विदेशी दाता भन्नुस् वा स्वदेेशी संगठन, जसले सरकारलाई सहयोग गरिरहेका छन्, उनीहरुले प्रभावित क्षेत्रका जनतालाई आवश्यक संरचना छिटोभन्दा छिटो निर्माण हुन् भन्ने चाहना राखेका छन् ।

तर, यो काम समयमै सम्पन्न गर्न सरकार एक्लैका लागि गाह्रो हुन सक्छ । भूकम्प प्रभावितहरुसमक्ष पुगेर काम गर्ने सन्दर्भमा चौधरी समूह सबैभन्दा अगाडि छ । हामीले प्राप्त गरेको अनुभव र हाम्रो संयन्त्रलाई सरकारले उपयोग गर्न सक्छ ।

सरकारसँग सहकार्य गर्नका लागि तपाईसँग कुनै मोडालिटी छ कि ?

अहिले मैले भनिरहेको कुरा सैद्धान्तिक कुरा हो । हामीले पुनर्निर्माण अभियानमा साथ दिन हात अघि बढाएका छौं । भूकम्प पीडितका लागि काम गर्न तत्परता व्यक्त गरेका छौं । सरकारले पनि हाम्रो हात थाम्नुपर्छ । त्यसको लागि हाम्रो हातमा सरकारले भरोसा गर्नुपर्छ ।

निजी क्षेत्रसँग उर्जा र सीप हुन्छ, सरकारसँग शक्ति हुन्छ । हाम्रो स्पिरिट र शीप तथा सरकारको शक्ति मिलाएर अगाडि बढेमा पुनर्निर्माणको कामले गति लिने थियो भन्ने हाम्रो अपेक्षा हो ।

हामीलाई सहकार्य गराउने-नगराउने यो नितान्त सरकारको निर्णय हो । पुनर्निर्माणको कामले तिव्रता पाउनुपर्छ भन्ने हाम्रो चाहना हो । सरकार हामीसँग हात मिलाउन तयार भए हामी त इच्छुक छौं । होइन सरकारले एक्लै गर्छु भन्छ भने पनि हाम्रो शुभकामना छ । binod chaudhary पुनर्निर्माण प्राधिकरणले पीडितको अपेक्षाअनुसार काम गर्छ भन्ने विश्वास तपाईंलाई छ ?

पक्कै पनि ढिला भएको छ । तर मलाई विश्वास छ, प्राधिकरणले भूकम्प पीडितहरुका लागि प्रभावकारी काम गर्नेछ ।

सामाजिक क्षेत्रमा चौधरी ग्रुपको भावी योजना के हो ? चौधरी फाउन्डेसनलाई कसरी विविधिकरण गराउँदै हुनुहुन्छ ?

हामीले धेरै पहिलादेखि ‘सोसियल बिजनेस’ सुरु गरेका हौं । जुम्लामा काम सुरु भइसकेको छ । डोल्पा र डढेलधुरामा सुरु हुँदैछ । हाम्रो ज्ञानोदय छात्रावृत्ति योजना लोकपि्रय छ । आध्यात्मिक यात्रालाई ठोस रुप दिनका लागि अहिले नवलपरासीमा शास्वत धाम निर्माण भइरहेको छ । त्यसलाई जिवन्त आध्यात्मिक केन्द्र बनाउने हाम्रो लक्ष्य हो ।

हामी पोलिटेक्निक अन्तर्गत सिपशिक्षा सञ्चालन गर्दैछौं । त्यो बाहेक ‘सिजी उन्नती कार्यक्रम’ पनि चलाउँदैछौं । सरकारी स्कुलमा अंग्रेजी र कम्प्यूटर शिक्षा दिनुपर्छ भन्ने मेरो मान्यता छ । सरकारी स्कुलमा पढ्ने विद्यार्थीको भविष्य के त ? अब त साक्षरता भन्ने विषयलाई नै पुनः परिभाषित गर्नुपर्ने बेला आइसकेको छ । हाम्रो जमानामा साक्षरता भनेपछि लेख्न-पढ्न जान्ने भन्ने बुझिन्थ्यो । अहिलेको जमानामा तपाईले यदि कम्प्यूटर जान्नुहुन्न, अंग्रेजी जान्नुहुन्न भन्ने साक्षरताको कुनै अर्थ छैन । त्यस्तो जनशक्ति बजारमा बिक्री हुन गाह्रो पर्छ ।

अब शिक्षाको सम्पूर्ण प्रणालीलाई नै परिवर्तन गर्नुपर्ने बेला आएको छ । त्यो परिवर्तन सरकारी स्कुलमा बढि आवश्यक छ । अझै पनि धेरै विद्यार्थी सरकारी स्कुलमा पढ्छन् । सरकारी स्कुलमा पढ्ने विद्यार्थीलाई अंग्रेजी र कम्प्युटर शिक्षाबाट बञ्चित गराउनु मलाई लाग्छ अपराध हो । त्यसो भन्दैमा हामीले एकैचोटी सबै ठाउँमा त गर्न सक्दैनौं । तर, यसतर्फ हाम्रो पाईला अगाडि बढ्दैछ ।

अहिलेको शिक्षा पद्धतिमा परिवर्तन गर्नुपर्ने बेला आएको बताउनुभयो । सिजी सिप शिक्षालाई कसरी अगाडि बढाउनुहुन्छ ?

मैले पनि आफै सुरुदेखि भोकेसनल स्कुलमा पढेको हुँ । सानोठिमीको आदर्श बहुउद्देशीय विद्यालयमा पढेँ । त्यो जमानामा पनि मैले ११ वर्षदेखि नै टाइपराइटर सिकेको हुँ । त्यसकारण म व्यवसायीक तालिममा ठूलो विश्वास राख्छु । अब औपचारिक शिक्षाको मात्रै कुनै अर्थ छैन । यदि तपाईले स्वरोजगारमार्फत आफुलाई स्थापित गर्न गर्न सक्नुभएन भने त्यसको कुनै अर्थ रहँदैन ।

अहिले नेपालको सबैभन्दा ठूलो बेरोजगारी समस्या एसएलसी पास भएकाहरुमा छ । एसएलसी पास भएपछि म पढ्न लेख्न जान्ने भएँ, मैले पैतृक काम गर्न हुँदैन भन्ने मानसिकताको विकास हुन्छ । किसानको बच्चा किसान हुन चाहँदैन, सिकर्मीको बच्चा सिकर्मी हुन चाहँदैन, ड्राइभरको बच्चा ड्राइभर हुन चाहँदैन । सबै अफिसर बन्न चाहन्छन्, टेवुलमा बस्न चाहन्छन् । तर, त्यसका लागि आफुलाई योग्य बनाउन सक्दैनन् । एसएलसीसम्मको शिक्षा र अनुभवले यस्तो योग्यता दिँदैन ।

यो जमातका लागि उत्तम शिक्षा भनेकै व्यवसायिक तालिम हो । हामी आफैं स्वरोजगार बन्न सकिने अथवा सहजै रोजगारी पाउने खालको व्यवहारिक शिक्षा दिने छौं । त्यसैले हामीले छिट्टै सिजी शिप शिक्षा सुरु गर्दैर्छौं । सिजी सिप शिक्षालाई ७५ जिल्लामा पुर्‍याउने लक्ष्य छ । तत्कालका लागि सिन्धुपाल्चोक र गोर्खामा छिट्टै क्लास सञ्चालन हुन्छ ।

हामीले पुनर्निर्माण अभियानमा साथ दिन हात अघि बढाएका छौं । भूकम्प पीडितका लागि काम गर्न तत्परता व्यक्त गरेका छौं । सरकारले पनि हाम्रो हात थाम्नुपर्छ ।

सिजी उन्नती कस्तो परियोजना हो ?

महिलालाई हस्तकलाको ज्ञान, सीप, डिजाइन र प्रोडक्टको बारेमा जानकारी दिएर उद्यमशील बनाई उनीहरुको उत्पादनलाई बिक्री गरिदिएर उनीहरुलाई स्वरोजगार बनाउने योजना हो । महिलाहरुको जीवनस्तरलाई माथि उठाउनका निम्ति यसको परिकल्पना गरिएको हो । यो एकबाट पनि सुरु हुन सक्छ, समूहबाट पनि सुरु हुन सक्छ । यो प्रोजेक्ट अगाडि बढाइरहेका छौँ ।

फरक प्रसंग, तराई आन्दोलन र भारतीय नाकाबन्दीले नेपालको अर्थतन्त्रमा कस्तो असर पुर्याएको छ ?

नाकाबन्दी र बन्द-हडतालले मुलुकको अर्थतन्त्रलाई भताभुंग पारेको छ । मुलुकमा कालोबजारी मौलाएको छ । सरकारमा बसेका जिम्मेवार व्यक्तिहरुले समेत कालोबजारीलाई समर्थन गर्नुपर्ने बेला आउनु भनेको त देशकै लागी दूर्भाग्य हो ।

अहिले जुन समानान्तर अर्थतन्त्र सञ्चालन भइरहेको छ, त्यसलेउ कस्ता विकृतीलाई जन्म दिन्छ भन्ने कुरा पछि समयले देखाउला । तर, कालोबजारीयाले कम्तिमा जनतालाई सेवा त दिइरहेका छन् भन्ने मानसिकता सरकारमा आउनु नै दूर्भाग्य हो ।

उद्योग-व्यवसायको अवस्था चाहिँ के छ ?

यस विषयमा धेरै आँकडाहरु बाहिर आइरहेका छन् । व्यापक नोक्सानी भइरहेको छ । देशले ठूलो कष्ट बेहोरिरहेको छ । यो अवस्थालाई सामान्य बनाउन पनि धेरै समय लाग्छ । निजी क्षेत्र लामो समयसम्म उठ्न नसक्ने गरी थला पर्ने अवस्था आइसकेको छ ।

मुलुकको आर्थिक क्षेत्रमा भूकम्पको भन्दा नाकाबन्दीको ठूलो प्रभाव ठूलो परेको सत्य हो ?

पक्का पनि । भूकम्प प्राकृतिक प्रकोप थियो, जसलाई स्वीकार गर्नुको विकल्प छैन । तर, अहिले व्यहोर्नुपरेको नाकावन्दीले समानान्तर अर्थतन्त्रलाई अस्तित्वमा ल्याएको छ, जुन राष्ट्रिय अर्थव्यवस्थाका लागि घातक छ ।

चौधरी ग्रुपको कुरा गर्दा नाकाबन्दी र तराई आन्दोलनले सबैभन्दा प्रभावित भएको उद्योग व्यवसाय कुन हो ?

हामी पनि नेपालको समग्र अर्थतन्त्रको एक अंश हौं । त्यसैले प्रभावित नहुने भन्ने त कुरै भएन । हाम्रा उद्योगधन्दाहरु निकै कम क्षमतामा सञ्चालन भएका छन् । कच्चा पदार्थको आपूर्तिमा ठूलो व्यवधान उत्पन्न भएको छ ।

यो प्रतिकुल अवस्थाबाट हाम्रा तल्लो तहका कर्मचारीहरुको मनस्थितिमा नकारात्मक प्रभाव नपरोस् भन्ने कुरालाई ध्यानमा राख्दै हामीले संकट व्यवस्थापनमा ध्यान दियौं र यसमा सफल पनि भयौं भन्ने हामीलाई लाग्छ ।

उद्योग व्यवसायमा प्रतिकुल अवस्थाहरु बेला-बेलामा आउछन् नै । तर त्यसलाई कसरी व्यवस्थापन गरियो भन्ने बिषयले नै हाम्रो क्षमता प्रमाणित हुने हो । मलाई खुसी लाग्छ, चाहे माओवादी द्वन्द्वको बेलामा होस् वा अहिले नै, हाम्रो टिम संकट व्यवस्थापनमा खरो उत्रिदै आएको छ ।

उद्योग, होटल लगायत क्षेत्रमा आउन लागेको स्वदेशी विदेशी लगानी अहिलेको अवस्थाबाट कत्तिको प्रभावित होला ?

असर त पर्छ नै । जब सहज आपूर्ति रहदैन त्यस्तो ठाउँमा लगानी गर्न लगानीकर्ताहरु हिच्किचाउनु स्वभाविक हो । तर, आशा गरौं यो अवस्थाको छिट्टै अन्त्य हुनेछ र नेपालमा लगानी गर्न चाहनेहरुले खुसीको खबर पाउनेछन् ।

Source : Onlinekhabar

SHARE