अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका कृष्ण लामिछाने सायद टेक्सासमा मात्रै हैन अमेरिकामा बस्ने धेरै नेपालीहरु माझ परिचित छन् । व्यावसायिक भन्दा धेरै सामाजिक क्षेत्रमा चिनिएका कृष्णराज लामिछानेले नेपालको हरेक दुःख सुःखमा सथै साथ दिँदै आएका छन् । चाहे व्यक्तिगत रुपमा होस् या संस्थांगत रुपमा उनी सधैं नेपालका हितमा खटिरहन्छन् । नेपालका विभिन्न ठाउँसँगै आफ्नो गृह जिल्ला गोरखामा पनि धेरै सहयोग गर्दै आएका छन् । नेपाली समाज टेक्सास, टेक्सासमा बस्ने सम्पूर्ण नेपालीहरुको साझा संस्था हो । यही संस्थामार्फत विभिन्न कार्यहरु पनि गर्दै आइरहेका छन् । यस संस्थामा बसी विगतमा पनि कार्य गर्दै आएका कृष्ण लामिछाने हालै मात्र अध्यक्ष निर्वाचित भए । उनै लामिछानेसँग नेपाली समाज टेक्सासको भावी कार्यक्रम तथा अन्य विषयवस्तुमा रहेर विष्णुप्रसाद पौडेलले गरेको कुराकानीका केही अंश ;
टेक्सासबासी नेपालीलाई व्यावसायिक रुपमा अगाडि बढाउन तपाईंको योजना के छ ?
हामी दुई तिन हप्ता अगाडि यती चेम्बर अफ कमर्श भन्ने हामीले खोलेका छौं । बासु भण्डारी त्यसको अध्यक्ष बनिसक्नुभएको छ । मन्दिरभित्र एउटा कोठा भाडामा लिएर उहाँको कार्यालय पनि खुलिसकेको छ । स्मल बिजनेस ओनर एसोसियन भन्ने अमेरिकीहरुको छ । पाकिस्तानीहरुको नर्थ टेक्सस बिजनेस एसोसियसन भन्ने छ । स्मल बिजनेस ब्युरो भन्ने पनि छ । हाम्रो व्यावसायिक संस्थामा ९० प्रतिशत ग्यास स्टेसन ओनरहरु हुनुहुन्छ । नेपालीहरुका ३,४ सय वटा ग्यास स्टेसन नेपालीका छन् । त्यसमध्ये पचास प्रतिशतबाटमात्रै बिमा एकैसँग, ग्रोसरी एउटै सँग, चुरोट एउटैसँग, बियर एउटैसँग गरी एकएक पेनी जम्मा गर्यौं भने पनि राम्रो पैसा जम्मा हुन्छ । म आफैं पनि यती चेम्बर अफ कमर्शमा बोर्ड अफ डाइरेक्टर छु ।

नेपाली टेक्सास समाजले नेपालमा भूकम्पबाट क्षतिग्रस्त १२ वटा स्कुल बनाउँदैछ । १ लाख ४० हजार डलर हामीसँग छ । गोर्खामा म पनि एउटा स्कुल बनाउँदैछु । १५ हजार डलर एनएसटीले दिँदैछ । म आफैंले मेरो व्यक्तिगततर्फबाट १५ हजार डलर हाल्दैछु । उपभोक्ताले पनि हाल्दैछन् । ४५,५० लाख भयो भने नेपालमा ८ कोठे राम्रो स्कुल भवन बन्दोरैछ ।
अन्य संघसंस्थाहरुसँग तपाईंको सहकार्य कस्तो हुन्छ ?
म लामो समयदेखि यहाँ बसेको छु । धेरैजनासँग सहकार्य गर्दै यहाँसम्म आएको छु । मसँग व्यक्तिगत रुपमा भन्दा पनि एनएसटीको नेतृत्वका लागि सहकार्य गर्न धेरै संघसंस्था राजी हुनुहुन्छ । दसैंका बेला नेपालबाट कलाकार ल्याएर कार्यक्रम गर्छाैं । त्यसका अलावा यहाँका अरु संघसंस्थाले लोकल कलाकारहरुको प्रस्तुतिका लागि सहयोग गर्नुहुन्छ । इन्द्रेणी कल्चर भन्ने संस्थाले सहयोग गर्दै आएको छ । इन्द्रेणीबाहेक अन्तर्राष्ट्रिय साहित्य समाज लगायत संघसंस्थाले पनि सहयोग गर्दै आएका छन् । त्यस्तै जनसम्पर्क समिति र ओएनएफले पनि सहयोग गर्छ । हेल्थ क्याम्प हामीले महिनामा एकचोटि गर्दै आएका छौं । अब त्यसलाई महिनाको दुईचोटि गर्ने भन्ने योजना छ । हेल्थ क्याम्पमा पनि ल्याब टेक्नोलोजी पनि राख्न खोज्दैछौं ।
यो संस्थालाई राजनीतिबाट कत्तिको टाढा राख्न सक्नुहोला ?
जो मान्छे सामाजिक प्राणी छ, त्यो अलिअलि राजनीतिसँग जोडिएकै हुन्छ । हाम्रो समाजको परिस्थिति नै त्यस्तो छ । म जुन परिवार र समाजमा जन्मे हुर्कें त्यसैको वातावरणका कारणले सामाजिक कार्यमा लाग्न प्रेरणा दियो । राजनीतिक प्रभाव पनि त्यस्तै हुन्छ । तर, म व्यक्तिगत रुपमा राजनीतिक रुपमा कहीं कतै बायस भएर लाग्दिनँ । सामाजिक सेवामा म र मेरो परिवार नै निस्वार्थी रुपमा लागेका छौं । हामीले गर्ने खर्चबाट कटाएर मेरो श्रीमती र छोरीले समेत नेपालमा समाजसेवाका लागि सहयोग गरेका छन् । हामी समाजसेवामा राजनीतिबाट प्रेरित नभईकनै लागेका छौं । मेरो राजनीतिक पृष्ठभूमिले सामाजिक कार्य गर्न असर गर्दैन । म नितान्त सामाजिक सेवामै मेरो कार्यकाल बिताउँछु । मेरो कार्यकाल नेपाली समाज टेक्सास र मन्दिरका लागि समर्पित भएर लाग्छु ।
आफ्नो कार्यकालमा उदाहरणीय काम के गर्ने योजना छ ?
नेपाली भाषाको ड्राइभिङ लाइसेन्सका लागि म स्र्टाटिङ गर्छु । त्यसअगाडि आकस्मिक फन्डका लागि पहल गर्छु । त्यो फन्ड टेक्सासमा बसेका नेपालीका लागि मात्रै नभई अन्तका लागि काम लाग्न सक्छ । जहाँ भए पनि हामी नेपाली नै हौं । युथका लागि एउटा क्लब बनाउने मेरो लक्ष्य छ । स्कुल छोडिसकेका र कलेज नगइसकेकाहरुको लागि एउटा सञ्जाल जरुरी देखेको छु । उनीहरुलाई पनि नेपाली भाषा र संस्कृतिका बारेमा सिकाउन सकियो भने भोलि हामीले नसक्दा र नगर्दा पनि हाम्रै बच्चाहरुले नेपाली भाषा र संस्कृति जोगाउने काम गर्नेछन् ।
नेपाली भाषालाई कम्तीमा पनि यो देशमा रिकगनाइजेसन गर्ने कामका लागि मेरो पहल रहन्छ । गौतम बुद्ध नेपालमा जन्मेका हुन्, नेपाललाई गौतम बुद्ध जन्मेको देश हो भनेर यहाँको राष्ट्रपतिले नै बुद्ध जयन्तीमा सन्देश दिने वातावरणका लागि पहल गर्छु, जसरी दीपावलीमा राष्ट्रपतिको सन्देश आउँछ, त्यसरी नै बुद्ध पूर्णिमा पनि आउनुपर्छ, त्यो सन्देशले नेपाली र नेपाललाई पनि चिनाउनेछ । हाम्रो पहिचान फैलनेछ ।
एनएसटीले भूकम्प पीडितका लागि उठाएको रकम पारदर्शी भएन कि भन्ने गुनासो पनि सुनिन्छ नि ?
यो गुनासो मात्रै हो । पारदर्शी नभएको केही पनि छैन । सबै पारदर्शी छ । त्यो सबै रकमको विवरण वेबसाइटमा राखेका छौं । ७ जनाको फाइनान्सियल कमिटी छ, त्यसले हिसाब पारदर्शी ढंगले राखेको छ । कसैले मिसयुज गरेको छैन । भूकम्प पीडितका लागि उठाएको रकम एनएसटीको खातामा पनि छैन । गन्यमान्य मान्छेहरु राखेर बनाएको कमिटीकै नाममा छ । भूकम्प पीडितका लागि नेपालमा सहयोग गर्न जाँदा पनि हामीले व्यक्तिगत रुपमै खर्च ग¥यौं, टिकट हामीले व्यक्तिगत रुपमै काटेका हौं । स्कुल बनाउने पैसा ६ महिना बैंक खातामा रह्यो भन्ने गुनासो आएको मैले पनि सुनेका हुँ । नेपाल सरकारले स्कुलको मापदण्डसहितको प्रक्रिया सुरु नगरेको हुनाले त्यसलाई खर्च गर्न नपाइएको हो । हामी जे गर्छाैं सतप्रतिशत पारदर्शी भएर गर्छाैं ।

Source : HimalayaKhabar

SHARE