पोखरा, माघ ९ ।
पोखराका निर्माण ब्यवसायीहरुले सरकारले ल्याएको भूकम्प सुरक्षा तथा भवन निर्माण मापदण्ड कार्यान्वयनमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् । पोखरा उपमहानगरपालिकाले सरकारको नयाँ मापदण्डसम्बन्धि आयोजना गरेको अभिमुखिकरण कार्यक्रमका बेला निर्माण ब्यवसायीहरुले अहिले आएको मापदण्ड विपरित संरचना निर्माण नगर्ने प्रतिबद्धता जनाएका हुन् । nagarpalika newsनिर्माण ब्यवसायी समिति पोखराका उपाध्यक्ष नारायण गुरुङ्गले मापदण्डले तत्कालका लागि समस्या भएपनि दीर्घकालका लागि निकै प्रभावकारी हुने बताए । साना घडेरी भएकाहरुलाई चाहीँ छुट्टै ब्यवस्था गर्नुपर्छ, उनले भने–केही परिमार्जन बाहेक बाँकी मापदण्ड कार्यान्वयनमा कडाई गर्नुपर्छ, त्यसका लागि हामी पनि सहयोग गर्न तत्पर छौं । उनले निर्माण ब्यवसायीका कारण कुनै घरधनी ठगिए कारबाहीका दायरामा ल्याउने बताए । अर्का निर्माण ब्यवसायी भीम बहादुर शाहीले पनि थोरै जग्गा लिएर घर बनाउनेहरुलाई केही समस्या भएको बताए । साना जग्गा भएकाहरु सुकुम्बासी हुने अवस्था छ, उनले भने–सरकारले यसलाई बिचार पु¥याउनुपर्छ, बाँकी मापण्ड निकै राम्रो छ, कार्यान्वयनमा जोड दिऔं ।
कार्यक्रममा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले मापदण्ड मिचेर संरचना निर्माण गर्ने निर्माण ब्यवसायीलाई कारबाहीको दायरामा ल्याउने बताए । मापदण्ड नमान्ने ब्यवसायी मात्रै होईन निर्माणमा संलग्न सबै कारबाहीमा पर्छन्, उनले भने–संरचना भत्काउन नसकेपछि निर्माणमा संलग्नहरुलाई कालोसूचीमा राखेर लाईसेन्स नै खारेज गरिदिन्छौं । निर्देशिकामा भएका केही बुँदाहरु संशोधन गर्नुपर्ने भन्दै उनले त्यसका लागि मन्त्रालयमा पठाईसकेकाले केही दिनभित्रै निर्णय हुने बताए । निर्देशिका कार्यान्वयनमा तलमाथी गर्ने अधिकार हामीलाई छैन, अधिकारीले भने–केही परिमार्जन भए राम्रो हुन्छ, नत्र घरधनीलाई सहजीकरण गरेरै भएपनि कार्यान्वयनमा कडाई गर्नुपर्छ । त्यसका लागि निर्माण ब्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ । यस्तै नगरपालिकाका बरिष्ठ ईन्जिनियर शारदा मोहन काफ्लेले पनि सिकेका कुरा हुबहु ब्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे । उनले आबश्यक परे अन्य ठेकेदारहरुलाई पनि तालिम दिन सकिने र त्यसका लागि नगरपालिकामा दर्ता गर्न आग्रह गरे । पोखरामा निर्माण ब्यवसायका लागि ४ सय ५० जना ठेकेदारहरुले तालिम लिईसकेका छन् । अभिमुखिकरण कार्यक्रममा तीनदिनसम्म नगरक्षेत्रका करिब ३ सय ५० जना निर्माण ब्यवसायीलाई तालिम दिईएको थियो ।
कार्यक्रमका सहजकर्ता तथा नगरपालिकाका ईञ्जिनियर सुरेन्द्र पौडेलले ठेकेदारहरु ठगी गर्नेतर्फ केन्द्रीत भएकाले त्यस्ता काम गर्न बन्द गर्नुपर्ने बताए । जिल्ला स्तरीय दररेट अनुसार सुहाउँदो पारिश्रमिक लिन उनको आग्रह छ । निर्माण ब्यवसायी समिति पोखराका अध्यक्ष अर्जुन थापाले मापदण्डको तत्काल कार्यान्वयनका लागि सरोकारवालासँग आग्रह गरेका छन् । पोखरा उपमहानगरपालिकाका भूकम्प सुरक्षा तथा घरनक्सा महाशाखा प्रमुख पूर्ण बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सव–ईन्जिनियर नेत्र तिमिल्सीनाले गरेका थिए ।

SHARE