प्रेममा धोका पाउनु कम्ता पीडादायी हुँदैन । धोकाले बनाइदिएको घाउ निको पार्न र पीडा कम गर्नका लागि प्रेमका घाइतेहरुले विभिन्न उपाय अपनाउँछन् । कतिले प्रेमगीत लेख्छन् त कति रोएरै मन पखाल्छन् भने कति गुप्तबास त कति भ्रमणमा निस्कन्छन् । बेलायतकी युवतीले अन्तिम विकल्प रोज्दै पीडा भुलाउनका लागि धनसम्पत्ति बेचेर दुनिया घुम्न निस्किएकी छिन् ।
बेलायतको म्यानचेष्टर सहरकी बासिन्दा केटी कोलिन्सले प्रेममा धोका पाएपछि केवल हुँदाखाँदाको जागिर मात्र छाडिनन् घर तथा धनसम्पत्ति बेचेर दुनियाको भ्रमणमा निस्किन् ।
३० वर्षकी केटी एक एयरपोर्टमा पब्लिक रिलेसन अफिसरको जागिर गर्थिन् । उनी एक युवकसँग प्रेममा थिइन् र उनीहरुको प्रेमजिवन निकै रोमान्चक तरिकाले बितिरहेको थियो । तर एक दिन अचानक उनको ब्वाफ्रेण्डले उनलाई धोका दियो र केटीसँग ब्रेकअप गर्यो ।
प्रेममा धोका पाएपछि निकै निरास तथा उदासी बनेकी केटीले जागिर छाडिन् र आफ्नो घरपनि बेचिन् । जागिर छाड्दा उपदान तथा अन्य रकम राम्रै प्राप्त भएको थियो । उक्त रकम लिएर उनी एसियाका विभिन्न देशको भ्रमणमा निस्किइन् । त्यसक्रममा उनले नेपाल, भारत तथा थाइल्याण्ड लगायतका देश घुमिन् ।
प्रेमीबाट धोका पाएपछि आफु निकै दुखी भएको र सुरुमा दिनहुँ एक्लै बसेर रुने गरेको भन्दै उनले तर एकदिन आफुले सबैकुरा भुलेर विश्वको भ्रमण गर्न निस्कने सोँचाइ बनाएको र सोही मुताबिक जागिर छाडेको, घर बेचेको र प्राप्त पैसाले भ्रमणका लागि टिकट बुक गरेको बताएकी छिन् ।
नेपालमा उनले ४ दिनको हिमालयन पदयात्रा गरेको बताएकी छिन् र आफ्नो यात्राका क्रममा खिचेका विभिन्न सुन्दर तस्वीरहरु पनि आफ्नो ब्लगमा राखेकी छिन् ।
Source : OnlineKhabar

SHARE