पोखरा, माघ १२ ।
नेपालको राष्ट्रिय गौरवको योजनाका रुपमा प्रस्ताव गरिएको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि अर्को महिना अर्थात् फागुनको सुरुवातदेखि नै जग्गा अधिग्रहणको काम शुरु हुने भएको छ । आर्थिक समृद्धि र देशमा बिद्युत बिकासको मेरुदण्ड मानिएको यो आयोजनाका लागि माघ महिनाभित्रै प्रथम चरणको भौतिक निर्माण आरम्भ गरिसक्नुपर्ने योजना अनुसार काम भइरहेको छ । budhigandaki newsयोजना अनुसार धादिङ र गोरखाका केही प्रभावित गाविसबासीको लगत संकलनको काम सकेर क्षतिपूर्ति र मुआब्जाको प्रक्रिया अगाडि बढाइनेछ । धादिङको बुंकोटघाटमा आयोजना गरिएको ‘बुढीगण्डकी वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ’कार्यक्रममा उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आयोजनाको काम द्रुत गतिमा अघि बढ्ने बताएका छन् । रायमाझिले जिल्लाका विस्थापित र प्रभावितहरुको जग्गा अधिग्रहण गर्न कित्ता गणना गर्ने काम भइ रहेको बताए ।
कार्यक्रममा सरकारले यस कामको लागि बजेट विनियोजन गर्ने बित्तिकै निर्माणको काम सुरु गर्ने आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतले जानकारी दिए । सरकारी योजना अनुसार २०१६ देखि यो योजनाको निर्माण कार्य थालनी हुने यस अघिनै घोषणा गरिएको छ । आयोजना स्थलले समेट्ने सबै गाविसहरु धादिंग र गोरखामा पर्ने भूकम्पबाट समेत प्रभावित स्थान हुन् । सरकारले बैशाख १२ गतेदेखि जनताको घर बनाइदिने कार्यको शुभारम्भ गर्दैछ । यसै अवस्थालाई हेरी प्रभावित स्थानका स्थानीयलाई क्षतिपूर्ति र मुआब्जा कसरी दिने भन्ने बिषयमा प्रक्रिया हुँदैछ । बुन्कोटघाटमा आयोजित कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाहरुले आफूहरु आयोजना बन्नेरनबन्ने भन्ने बिषयमा स्पस्ट नभएकोले अन्यौलमा परेको गुनासो गरे । केहि स्थानीय बुद्धिजीविहरुको अनुसार भूकम्प पुनर्निर्माणसंगै तत्काल आयोजनाको लागि प्रभावित स्थानहरुमा मुवाब्जा दिने काम गरेको अवस्थामा सरकारलाई प्रभावित क्षेत्रका बासिन्दाहरुलाई अन्तै सार्न केहि सजिलो पनि छ । अहिले भूकम्पले भत्किएका घरहरु बनाउनेरनबनाउने भन्नेमै पनि आयोजनामा प्रभावित हुने भनिएका स्थानीयहरु दोधारमा छन् । कार्यक्रममा उपस्थित केहि स्थनीयहरुका अनुसार उनीहरु सरकारको पुनरनिर्माण योजना अनुसार नयाँ घर बनाउने कामको थालनी हुनु अघिनै आयोजनाको बिषयमा सरकारी योजना कुरेर बसेका छन् । तर केहिले भने आयोजना बन्ने–नबन्नेमै शंका उब्जिएको बताए ।
कुल एक हजार २०० मेगावाटको सो आयोजनाका कारण प्रमुख रुपमा गोरखाका घ्याच्चेक, फुजेल, नाम्जुङ, बुङ्कोट, अस्राङ, बोर्लाङ, धावा, तान्द्राङ, आरुपोखरी, आरुचनौटे, आरुअर्वाङ सबैभन्दा बढी प्रभावित हुनेछन् । यस्तै धादिङको सलाङ, मैदी, खरी, चैनपुर, सल्यानटार, आगिन्चोक, त्रिपुरासुन्दरी, मार्पाक, मूलपानी, बसेरी, बुडाथुम गाविसको महत्वपूर्ण धान खेत तथा टारहरु पनि प्रभावित हुनेछन् । भीमसेन थापाको बगैँचा, पृथ्वीनारायण साहको न्वागी खाने धान खेत, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, मास र भटमासका लागि प्रसिद्ध मासटार, क्यामुनटार, जोगीटार, सल्यानटारको तल्लो भाग र गोरखा तथा धादिङको प्रमुख व्यापारिक केन्द्र आरुघाट बजार पनि आयोजनाका कारण प्रभावित हुनेछन् । मुलुकमा जारी विद्युत्भार कटौतीलाई कम गर्न महत्वपूर्ण मानिएको करिव रु दुई खर्ब लागतको सो आयोजना काठमाडौँ, पोखरा, नारायणगढ जस्ता महत्वपूर्ण सहरको विद्युत् मागलाई सम्बोधन गर्न प्रभावकारी हुने विश्वास लिइएको छ । कुल २६३ मि अग्लो बाँध बनाउँदा सो आयोजनाले फेवातालभन्दा १५ गुणा ठूलो ताल बन्ने र पर्यटकीय गतिविधिसमेत बढ्ने भएकाले सामान्य आयोजनाभन्दा पनि बहुउद्देश्यीय बनाउनुपर्ने उल्लेख गर्नुहुन्छ बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटा । सरकारले सो आयोजनाका लागि चालु आबमा रु तीन अर्बको बजेट व्यवस्था गरेको छ ।

SHARE