पोखरा, माघ २५ ।
एउटै उर्जा जीविकोपार्जनका लागि दीर्घकालीन नहुने भन्दै पोखरामा वैकल्पिक उर्जाको सम्भाब्यताबारे छलफल गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले कोइका र छन्बुक विश्वविद्यालयको सहयोगमा जिल्ला स्तरीय सरकारी कार्यालय तथा अन्य सरोकारवालाबीच छलफल गरेको हो । वैकल्पिक उर्जाविना देखिएको समस्या, कार्यान्वयन पक्ष लगाएतका बिषयहरुलाई जनस्तरमा पु¥याउने र जिल्लास्तरबाट आएका सुझावलाई सरकार समक्ष पेश गर्ने उद्देश्यले कार्यक्रम गरिएको नास्टका इन्जिनियर रोशन पाण्डेले जानकारी दिए । जिल्ला तहमा गरिने यस्तो कार्यक्रमले नेपालमा वैकल्पिक उर्जाको सम्भावना, भइरहेको प्रयास, सम्भाव्यता अध्ययनमा देखिएका समस्या, आउँदा दिनमा तय गर्नुपर्ने नीति र कार्यान्वयनको संभावनाका बारेमा छलफल गरि सरकारलाई सुझाव दिने उनले बताए ।
कार्यक्रमका सहभागीहरुले एउटै उर्जामाथी निर्भर हुँदा नेपालमा भारतीय नाकाबन्दी पछिको समस्या आईपरेको भन्दै विकल्पका रुपमा उर्जाको खोजी गर्नु जरुरी भएको बताए । जलविघुत मुख्य उर्जाको स्रोत भएपनि त्यस अनुसार उत्पादन गर्न नसकेकोले उर्जाको वैकल्पिक स्रोतको रुपमा अन्य क्षेत्र खोजी गर्नुपर्छ, कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले भने–अब घरघरमा बैकल्पिक उर्जाको सचेतना फैलाउने र बढी सदस्य भएका ठाउँमा वेष्ट इनर्जी प्लाण्ट जडानको अवधारणा सुरु गर्नु जरुरी छ । उनले आबाशिय सुविधा भएका विद्यालय, आर्मी ब्यारेक, प्रहरी कार्यालय, कारागार जस्ता ठाउँमा बायोग्याँसबाटै विद्युत उत्पादन गर्ने र इनर्जीका रुपमा प्रयोग गर्न सकिने सुझाव दिए । प्रमुख जिल्ला इन्जिनियर नारायण श्रेष्ठले चाहीँ साना जलविद्युतबाट कास्कीलाई लोडसेडिङ्ग मुक्त बनाउन सकिने धारणा राखे । केन्द्रीय प्रशारणमा १५÷१६ घण्टा लोडसेडिङ्ग छ, उनले भने–बरु साना र लघु जलविद्युतमा त्यस्तो समस्या देखिएन, हामी स्थानीय रुपमै सक्षम हुनुपर्छ, केन्द्रको मुख ताक्न छोडौं । यसका लागि सरकारले पनि अनुदानको ब्यवस्था गरिदिनुपर्ने उनको भनाई छ ।
यस्तै जिल्ला विकास समिति कास्कीका उर्जा इन्जिनियर कौशल जिसीले कास्कीमा सौर्य उर्जा र बायोग्याँसलाई बढी प्राथमिकताका साथ अगाडी बढाउनुपर्ने सुझाव दिए । कास्कीमा बायो ग्याँस निकै सफल देखिएको छ, उनी भन्छन्–यसलाई अझै विस्तार गरी उर्जा संकट घटाउन सकिन्छ । उनले सौर्य उर्जा तथा बायोग्याँसलाई गाउँ र सहर सबैको लागि महत्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनमा सबै सरोकारवालाले सहयोग गर्नुपर्ने बताए । निमित्त स्थानीय विकास अधिकारी नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम इन्जिनियर कविता पाण्डेले सञ्चालन गरेकी थिईन् । कार्यक्रममा इन्जिनियर रोशन पाण्डेले नेपालमा वैकल्पिक उर्जाको प्राथमिकीकरणका बिषयमा कार्यपत्र प्रश्तुत गरेका थिए । कार्यपत्र प्रश्तुत गर्दै उनले सरकारले १ बर्षभित्रै लोडसेडिङ्ग अन्त्य गर्ने लक्ष्य लिएकाले त्यसलाई सम्बोधन गर्नका लागि पनि बैकल्पिक उर्जालाई प्राथमिकता दिनुपर्ने बताए । नाष्टले वैकल्पिक उर्जाका सम्भाब्यता अध्ययन गरी मन्त्रालयलाई प्रतिबेदन पेश गर्नेछ ।

SHARE