पोखरा, जेठ २ ।
पर्वत, कास्की र स्याङ्जाको संगमस्थल पञ्चासे डाँडा सुन्दर र मनमोहक पर्यटकीय गन्तव्य हो । पञ्चासेमा पर्यटकलाई लोभ्याउने धेरै तत्व छन् । सुन्दर पर्यटकीय सहर पोखराबाट झण्डै ३८ किलोमिटरको मोटरबाटोबाट पर्वतको डिमुवा पुगेपछि फेरी कच्चीबाटोमा झण्डै एक घण्टाको जीप यात्रा गरेर पर्वतकै चित्रे गाविसमा पर्ने खोलापारी गाउँ पुगिन्छ । खोलापारीबाट तीन घण्टा पैदल हिँडेर उकालो चढेपछि एउटा सुन्दरताको खानी चुम्न पुगिन्छ, र त्यो हो पञ्चासे डाँडा । २ हजार ५ सय १७ मिटरको उचाइमा अवस्थित पञ्चासे डाँडामा पुग्नेहरू भन्छन्, क्या अनुपम पञ्चासे ।
पर्वत, कास्की र स्याङ्जाको संगमस्थलमा रहेको पञ्चासे डाँडा पुग्नेहरू उकालो हिँड्दाको थकाइसँगै चुचुरोमा एकैछिन आराम गर्छन् र चारैतिरको सुन्दर दृश्य आँखामा कैद गरेर मनमुग्ध हुन पुग्छन् । पञ्चासे लेकमै रहेको बैदान ताल नियालेपछि थप रोमान्चित अनुभव गर्छन्, पर्यटकहरू । समुद्र सतहदेखि २ हजार ५ सय ९ मिटरको उचाइमा रहेको बैदान तालको लम्बाइ १ सय १० मिटर र चौडाइ २० देखि २५ मिटर छ । झण्डै १० मिटर गहिरो यो ताल चारैतिरबाट जंगलले घेरिएको छ । पञ्चकोसी पञ्चासेको नामले समेत चिनिने बैदान ताल पञ्चासे लेकको सबैभन्दा सुन्दर गहना हो ।
तालको छेवैमा बाराही मन्दिर छ । बैदान तालमा रहेको पानीको मूल र निकास नदेखिनु अर्को रमाइलो पक्ष हो । अर्को अचम्मलाग्दो रमाइलो पक्ष के भने, जंगलको छेवैमा रहेको तालमा पात–पतिङ्गर नै देखिँदैनन् । पात तालमा परे पनि तत्कालै चराले फाल्ने गरेकाले तालमा नरहने विश्वास गर्ने गरिएको छ ।
पञ्चासे लेकबाट उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरीलगायतका हिमश्रृंखला, दक्षिणतर्फ पाल्पाको श्रीनगर डाँडा र तराईका फाँट देखिन्छन् । पञ्चासेको भ्यू टावरबाट पोखरातिर फर्किएर नियाल्दा पोखरा बजार र फेवातालमात्रै होइन दक्षिण पश्चिमतर्फ नजर डुलाउँदा पर्वतको कुश्मा, फलेवास, डहरेको लेक, कार्कीनेटा, स्याङ्जाको भदौरे, आँधिखोलालगायतका ठाउँ देखिन्छन् । पञ्चासे लेकमै उभिएर म्याग्दी, गुल्मी र बागलुङका कैयौं मनोरम दृश्य नियाल्न पाउँदा पर्यटकहरू उद्देलित हुन्छन् ।
गुरुङ बसोबास रहेको पञ्चासे ग्रामीण पदयात्राका हिसाबले धौलागिरी र गण्डकी अञ्चलकै सीमित ठाउँमध्ये पर्दछ । पञ्चासे पुग्न कास्कीको फेवाताल, पामे र भदौरेसम्म मोटरमा र त्यसपछि तीन–चार घण्टा पैदल हिँड्नुपर्छ । कास्कीकै लुम्ले, काँडे, भदौरे र देउरालीहुँदै तीन घण्टा तथा पर्वतको कुस्मा, डिमुवा, चित्रे, आर्थरहुँदै दुई घण्टा पैदल हिँडेर पनि पञ्चासे पुग्न सकिन्छ । हिउँदमा पर्वतको डिमुवाबाट चित्रे हुँदै तथा स्याङजाको फेदीखोला, आरुखर्कहुँदै पञ्चासे भञ्ज्याङसम्मै जीप पुग्छ । अहिले पञ्चासे पुग्न मोटरको सुविधा भएपनि पदयात्रा गर्दाको आनन्द अर्कै छ । कैयौं स्वदेशी तथा विदेशी पर्यटक हिँडैरे पञ्चासे पुगेका हुन्छन् ।
यतिमात्र होइन पञ्चासेमा गण्डकी र धौलागिरीका कलेज तथा विद्यालयहरुबाट शैक्षिक भ्रमणमा जाने गरेको भएपनि अहिले त राजधानीका विद्यार्थी समेत शैक्षिक भ्रमणमा जान थालेका छन्
पञ्चासेबाट विभिन्न ठाउँको दृश्यावलोकन गरेपछि पर्यटकहरू रहरअनुसार स्थानीयका घर, भञ्ज्याङका होटल र क्याम्पसाइटमा पाल टाँगेर बस्ने गर्छन् ।
पञ्चासेले ऐतिहासिक र धार्मिक महत्व पनि बोकेको छ । पाँच पाण्डवहरु गुप्तवासमा रहँदा बसोबास गरेका, बाईसे–चौबीसे राजाका किल्ला, सिद्धबाबालगायतका मन्दिर, गुफा र चैत्य पञ्चासे क्षेत्रका दर्शनीय स्थल हुन् । पञ्चासेमा बालाचतुर्दशीमा सतबीज छर्नेहरुको घुइँचो लाग्छ भने अन्य समयमा घुम्न जानेहरुको । पञ्चासेमा रहेको जलाधार क्षेत्रको संरक्षण गर्न ५ हजार ५ सय हेक्टर बन क्षेत्रमध्ये १ हजार ७ सय हेक्टर बन समुदायलाई हस्तान्तरण गरिएको छ । पञ्चासेमा ५ सय ८९ किसिमका फूल, १ सय ५० औषधीजन्य जडिबुटी, ५६ प्रजातिका जङगली च्याउ, ९८ उन्यू र आठ प्रजातिका रेसादार वनस्पति पाइन्छन् । पञ्चासे क्षेत्रको जंगलमा बिभिन्न प्रजाति चराचुरुङगी र दुर्लभ कालो भालुसहितका वन्यजन्तु पाइन्छन् । यस क्षेत्रमा एक दर्जनभन्दा बढी खर्क छन् । यी खर्कहरुमा पर्वत, कास्की र स्याङजाबाट भैंसीहरू चरनका लागि छाडिने बताउनुहुन्छ स्थानीयबासिन्दा सुकबहादुर गुरुङ ।
पञ्चासे पर्यटकीय गन्तव्य बन्दै गएपछि यहाँ बाटोघाटो, धर्मशाला, खानेपानीलगायतका पूर्वाधार निर्माणका काम अघि बढाइएको छ । पर्वतले पनि आन्त्रिक तथा बाह्य पर्यटकहरु भित्रयाउन बृहत् गुरुयोजना बनाएको बताउनुहुन्छ, पर्वत विकास समाजका उपाध्यक्ष नारायण काफ्ले । पर्वतको चित्रे गाविसबाट करिब दुई घण्टाको उकालोमा विभिन्न आकारका सिमसार ताल र खर्कहरुले पर्यटकको मनै रमाइलो बनाउँछन् । सिद्धबाबाको मन्दिरमा पुगेपछि त जो कोहीलाई पनि फर्केरै नजाउँ झैं मोहनी लाग्छ । टोली बनाएर पञ्चासे घुम्न जाने पर्यटकलाई तल चित्रेबाटै पञ्चे बाजासहितको स्वागत हुन्छ । पञ्चे बाजामा नाजगान गर्दै पर्यटकलाई नचाउँदै र हँसाउँदै पञ्चासे डाँडामा पुर्‍याइन्छ ।
७ सय ८४ मिटरदेखि २ हजार ५ सय १७ मीटरसम्मको उचाईमा पर्ने पञ्चासे डाँडाबाट एकैपटक धेरै हिमालको अवलोकन पनि गर्न पाइन्छ । सुर्योदय र सुर्यास्त हेर्ने रहर पनि पञ्चासेले नै पूरा गरिदिन्छ । ५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको पञ्चासे क्षेत्रको जैविक विविधता साँच्चै हेर्न लायक छ ।
पर्यटन क्षेत्रलाई आर्थिक विकासको मेरुदण्डको परिभाषा दिने गरेको राज्यले पर्यटन क्षेत्रलाई उद्योगको मान्यता दिन सकेको देखिदैन । पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन, प्रचारका लागि छुट्याइएको रकम काम गरेर होइन काम मिलाएर खाने तरिका व्यापक छ । त्यसैले होला, जहाँ पुग्यो त्यही पर्यटक लोभिन सक्ने नेपाली भुगोल, प्रकृति र कला–संस्कृति भएर पनि नेपालको पर्यटन व्यवसायले अझै उचित गति लिन सकेको छैन । स्थानीयस्तरकै सक्रियतामा र निजी लगानीमा गरिएका प्रयासबाहेक राज्यको तर्फबाट कुनै अर्थपूर्ण कदम चालिएको देखिंदैन । तर जे भएपनि, राज्यले सदुपयोग गर्न नसकेका पञ्चासेजस्ता सुन्दरताका खानीहरूको प्रचारप्रसार गर्ने दायित्व भने सबैको काँधमा छ ।

SHARE