प्रकाश ढकाल
पोखरा, भदौ २२ ।
एउटै नामसँग धेरै पहिचान जोडिएको शहर पोखरा । पर्यटन, शिक्षा, संस्कृति, साहित्य, स्वास्थ्य लगाएतका क्षेत्रमा राजधानी मान्छन् पोखरालाई । सरकारका हरेक गतिविधीसँग प्रत्यक्ष जोडिन्छ र हरेक प्रतिष्पर्धामा अब्बल ठह¥याउँछ आफुँलाई । यही पोखराको विशेषता हो । अझ बढी जोडिन्छ शिक्षामा । यसको प्रमाण पुनः जुटाएका छन् यहाँका शैक्षिक संस्थाहरुले । यो बर्षपनि पोखराका दुई शैक्षिक संस्था देशकै उत्कृष्ट घोषित भए । शिक्षा मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय शिक्षा पुरस्कारबाट पोखराको जनप्रिय क्याम्पस र सामुदायिक विद्यालयतर्फ पोखराकै शितलादेवी मावि उत्कृष्ट शैक्षिक संस्थाको रुपमा सम्मानित हुँदैछ । प्राकृतिक सुन्दरताको बीचमा शैक्षिक गुणस्तर कायम गरेको जनप्रिय क्याम्पस लगातार दोश्रो पटक सबैको प्रिय बन्यो । निजी क्याम्पसले थिचेपछि सरकारी क्याम्पसको अवस्था खस्किँदै गएको पछिल्लो अवस्थामा पनि बिद्यार्थीको मन तान्न सक्नु चानचुने कुरा होइन । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पस देशभरका ९ सय ४५ क्याम्पसमध्येबाट अब्बल ठहरिएको हो । शिक्षा मन्त्रालयले शैक्षिक नतिजा, बिद्यालयको प्रशासनिक क्षमता, ब्यवस्थापन समिति, गोष्ठी तथा सेमिनार, अनुसन्धान लगाएत छ वटा सूचक र ५० भन्दा बढी उपसूचक बनाएर उत्कृष्ट शैक्षिक संस्था छनौट गर्छ ।
उत्कृष्ट भएको जनप्रिय क्याम्पसले २ लाख ५० हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र पाउने छ । पठनपाठनसँगै भौतिक पूर्वाधार निर्माणमा क्याम्पसले उल्लेख्य फड्को मारेको छ । क्याम्पसमा चारवटा सुविधासम्पन्न भवन छन् भने खेलमैदान, शौचालय, क्यान्टिन, स्टेज र पुस्तकालय ब्यवस्थित छ । २०६९ सालमा पश्चिमाञ्चलमै पहिलो पटक क्याम्पसले शैक्षिक तथा भौतिक क्षेत्रमा गरेको प्रगतिसँगै गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको सहायक क्याम्पस प्रमुख कृष्ण गुरुङले जानकारी दिए । यहाँका विद्यार्थी धेरैपल्ट नेपाल टप समेत भएका छन्, शैक्षिक गुणस्तरकै कारण हाम्रो क्याम्पस विद्यार्थीको रोजाईमा पर्छ, उनले भने–क्याम्पसको सफलतालाई जोगाउँदै निरन्तर गुणस्तरीय शिक्षामा कुनै कमी हुन दिँदैनौं । ३ हजार ७ सय जना अध्ययन गर्ने क्याम्पसमा बर्षेनी करिब २० प्रतिशतले छात्रबृत्ति पाउँछन् । विद्यार्थीलाई छात्रवृत्ति लगायतका सुविधा थपिएको र निरन्तर मूल्यांकनमार्फत क्षमता अभिवृद्धि भएकैले क्याम्पसमा विद्यार्थीको आकर्षण बढेको गुरुङको भनाई छ ।
पुरस्कार बापत प्राप्त रकम पनि छात्रबृत्ति कोषमा जम्मा गर्ने उनले जानकारी दिए । दश जोड दुई र स्नातकतर्फ शिक्षा, मानविकी, विज्ञान र व्यवस्थापन विषय पढाई हुन्छ भने स्नातकोत्तरतर्फ ब्यवस्थापन संकाय मात्रै छ । त्यसमा सबैभन्दा राम्रो बिविए कार्यक्रम छ । हामीले हाम्रा विद्यार्थी कहाँ छन् भनेर बर्षेनी अध्ययन गर्छौं, विविए कार्यक्रम संयोजक मेखराज पौडेलले भने–हामीले उत्पादन गरेका जनशक्ति बेरोजगार भएर बस्नुपरेको छैन । पढाई सकेर निस्केका अधिकांश विद्यार्थीहरु बैंकिङ क्षेत्रमा कार्यरत रहेको उनी सुनाउँछन् । क्याम्पसमा आगामी बर्षदेखि स्नातकमा सूचना व्यवस्थापन (बिआइएम) र कम्प्युटर एप्लिकेसन (बिसिए) कार्यक्रम सञ्चालको तयारी गरिएको प्रशासन प्रमुख महादेव पालिखे बताँछन् । यस्तै नयाँ र स्वायत्त कार्यक्रमको रुपमा पर्वतीय पर्यटन व्यवस्थापन बिषय समेत पढाई हुँदैछ । यसका लागि परिषदमा पेस गरिसकेको र निर्णय हुने वित्तिकै काम सुरु हुने उनले बताए । शिक्षा दिवसको अवसरमा अघिल्लो बर्षदेखि मात्रै उत्कृष्ट क्याम्पसलाई सम्मान गर्न थालिएको हो । पहिलो बर्षमा नै जनप्रिय नेपालको सर्बोत्कृष्ट विद्यालय बन्न सफल भएको थियो ।

SHARE