गोकुल ढकाल /लस एन्जलस – सबैभन्दा धेरै सदस्य संख्या बनाएर एनआरएनए एनसिसी अमेरिका संसारकै सबैभन्दा ठुलो एनसिसी बनेको छ । अहिले आफुसंग सम्बन्धित सबै कुरा थांती राखेर एनआरएनएको आसन्न निर्वाचनमा उम्मेद्वारी घोषणा गर्ने क्रम बढ्दो छ । करिब २१ हजार सदस्य बनाएर ठुलो एनसिसी बनेको अमेरिकाको एनसिसीको रथ हांक्ने नेताको चर्चा र राजनीति शुरु भएको छ । नेताहरु गाडी हांक्दै, सुट्केश बोक्दै र संगै खांदै गरेका तस्विरहरुले अमेरिकी नेपाली समुदायमा चुनावी रौनकता ह्वात्तै बढेको छ ।
कृष्ण लामिछाने :
गोरखामा जन्मिएका कृष्ण लामिछाने लामो समयदेखी डालसलाई कर्मक्षेत्र बनाएर सामुदायिक सेवामा लागिपरेका पात्र हुन । ठमेलका पुर्व पर्यटन व्यवसायी, डालसमा ग्यांस स्टेशन, ब्युटी शैलुन, रेस्टुरेन्ट र अन्य व्यवसायमा आबद्ध सफल व्यवसायी लामिछाने अमेरिकामा सबैभन्दा धेरै नेपाली बसोवास गर्ने टेक्सास नेपाली समाजका अध्यक्ष रहिसकेका छन । नेपाली कांग्रेसको प्रवासी संस्था नेपाली जनसम्पर्क समिती, अमेरिकाका संस्थापक महासचिव लामिछानेसंग अहिलेपनि जनसम्पर्कको आधिकारिक दस्तावेज र कर कागजहरु रहेका छन । मतलब, कुनै बेला अमेरिकाको सबैभन्दा ठुलो र अहिले टुक्रा-टुक्रा र तहस नहस भएको नेपाली समुदायको संस्था जनसम्पर्क समितीमा उनको दबदबा पनि छदैंछ ।
एनआरएनए अमेरिकाका पुर्व बोर्ड अफ डाईरेक्टर लामिछानेलाई एनआरएनए एनसिसीका सचिव गौरीराज जोशी, सल्लाहकार हरिबोल भन्डारी, बुद्धी सुवेदीसंग नजिक रहेका ठानिएका तर गौरी जोशी र हरिबोल भन्डारीका निकट मानिएका एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठी,एउटा जनसम्पर्क समितीका अध्यक्ष धनन्जयनरसिंह केसी, नेजस नेता प्रमोद सिटौला, सम्भवत; एउटा प्रवासी मन्चका अध्यक्ष प्रभु थापा, एनआरएनए अमेरिकाका सल्लाहकार संजय थापा लगायत नेपाली अमेरिकन समुदायमा शक्तिशाली उपस्थिती रहेका ब्यक्तित्वहरुका साथ र सहयोग लामिछानेलाई हुनेछ । आगामी निर्वाचनका लागि आफ्नो शक्तिशाली उपस्थिती राखेका लामिछाने ‘फकाउन र मिलाउन जान्ने नेता’ का रुपमा चिनिन्छन । आगामी आईतवार डालसमा लामिछानेले आफ्नो उम्मेद्वारीको औपचारिक घोषणा कार्यक्रम राखेका छन ।
बुद्धी सुवेदी :
चितवन निवासी बुद्धी सुवेदी विस्किन्सन राज्य र त्यस वरपर आफ्ना ब्यवसायमा राज गर्दै नेपाली सामुदायिक संघ-संस्थामा आबद्ध रहेर एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागी अध्यक्ष पदका तयार अर्का शक्तिशाली उम्मेद्वार हुन । नेपालमा प्राध्यापन सेवामा लागेका र एनआरएनए अमेरिकाका वर्तमान उपाध्यक्ष सुवेदी वरिष्ठ उपाध्यक्ष पदमा उठेर चुनावी समिकरण मिलाउने भनेर गरिएको शंका तोड्दै गत हप्ता आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेर नेपाल हानिएका छन । एनआरएनए अमेरिकाको सदस्यता वितरण समितिका संयोजक सुवेदीले सबैभन्दा ठुलो एनसिसी बनाएको जस पनि लिनेछन ।
सुवेदीलाई एनआरएनए एनसिसीमा आगामी कार्यकालका लागि महासचिवमा उठ्ने घोषणा गरेका डा. केशव पौडेल, राजनीति जानेका डा. यादव पन्डित, नेजस नेता बिष्णु सुवेदीको साथ र सहयोग रहनेछ । ‘कम बोलेर, भित्र जानेका’ सुवेदी बिभिन्न कारणहरुले एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि शक्तिशाली उम्मेद्वार हुन ।
डा. अर्जुन बन्जाडे :
डालसमा कलेजमा अध्यापन गराउने अर्घाखाँचीमा जन्मिएका डा. अर्जुन बन्जाडे एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका अर्का शक्तिशाली उम्मेद्वार हुन । गत निर्वाचनमा नचाहेर पनि ‘स्याक्रिफाईस’ गरेका डा. बन्जाडेले आफ्नो उम्मेद्वारीको औपचारिक घोषणा अर्को हप्ता डालसमा गर्दैछन । एनआरएनए अमेरिकाको गत निर्वाचनमा जसलाई साक्षी राखेर डा. बन्जाडेले स्याक्रिफाइस गरेका थिए, ती मध्य अती नै कमको मात्रै साथ पाउंदैछन । नेका प्रवक्ता विश्वप्रकाश शर्मा, डा. केशव पौडेल, डा. यादब पन्डितका सहपाठी डा. बन्जाडेले दुर्भाग्यबश ती समकालिनहरु सम्भवत: दुर रहनेछन, यसपाली ।
बुद्धी सुवेदीलाई वरिष्ठ उपसभापती बनाएर डा. बन्जाडे अध्यक्षका शक्तिशाली उम्मेद्वार बन्ने समिकरणको आशांक २०० प्रतिशत सकिएको छ । एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष बन्जाडेले नै चाहेको पदमा साथ दिनुको सट्टा आफ्नो उम्मेद्वारी घोषणा गरेर सुवेदी अहिले डा. पौडेलसंग पशुपतिनाथ दर्शन गर्न जन्मभुमी पुगेका छन ।
आफुलाई त्यो बेला सहयोग गरे वापत डा. बन्जाडेलाई एनआरएनए अमेरिकाका वर्तमान अध्यक्ष सुनील साहले भने धोका नदिने भएका छन । तर, यता डा. पौडेल र साहबिचको पुरानो दाजुभाई प्रेममा भने तुषारापत भईरहेको छ । यसका साथै एनआरएनए अमेरिकाका वर्तमान सदस्य सिपी पौडेल, प्रवक्ता ओम भट्टराई, अर्को जनसम्पर्क समितिका अध्यक्ष आनन्द बिष्ट, सदस्यता भेरीफिकेशनका वर्तमान संयोजक डा. राजन पन्त लगायत राजनीति जानेकाहरुको सहयोग डा. बन्जाडेलाई रहनेछ । नामका अगाडी ‘डा. पदवी’ रहेका कारण पनि पकेटबाट सदस्य नबनेका मतदाताहरुको नजरमा डा. बन्जाडे पर्नेछन ।
तिलक केसी :
मिलवाकी नेपाली समाजका संस्थापक अध्यक्ष तिलक केसी पनि एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि उम्मेद्वार हुने जनाएका छन । आगामी शनिवार केसीले ‘एनआरएनए अमेरिकाको अध्यक्ष पदमा, आफ्नो उम्मेद्वारी घोषणा गर्दैछन । प्युठानमा जन्मिएका केसी मिलवाकीमा स्थापित नेपाली व्यवसायी हुन । एनआरएनए अमेरिकाका वर्तमान बोर्ड अफ डाईरेक्टर केसी विद्धान र वाकपटुकतामा माहिर मानिन्छन । उपाध्यक्ष पदमा उम्मेद्वारी दिने आशा गरिएका केसी खै किन हो अध्यक्षमा आकांक्षा राखेका छन । केसी कमजोर छन भनेको होईन । एनआरएनए आईसिसीका प्रभावशाली उपाध्यक्ष डा. बद्री केसीमा निकट केसी टुक्रा-टुक्रा परेको जनसम्पर्क र तीनका तीन उम्मेद्वारीको नतिजा तलमाथी हुंदा बिजयी हुनपनि सक्नेछन । चुनाव न हो, के हुन्छ के भन्न सकिन्छ र ? महात्वाकांक्षी केसी कुटील मानिन्छन, कुन बाटो हिड्दा कांडा पन्छिन्छ, केसीलाई थाहा छ ।
फोटो स्रोत : तिलक केसी
नेपालको राजनीतिक असरले टुक्रा-टुक्रा परेको अर्को नेपाली सामुदायिक संस्था प्रवासी मन्चको एउटा पक्षको सहयोग त अवश्य केसीलाई हुने नै छ । बांकी केसीको ब्यक्तिगत सम्बन्धले निर्धारण गर्नेछ । शक्तिशाली वा सम्भावित बिजेताको फुर्को नलगाए पनि कम शक्तिशाली नेता चाहीं केसी होईनन ।