लस एन्जलस – क्यालिफोर्निया राज्य, लस एन्जलसस्थित श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरले यस वर्षको श्रीकृष्ण जन्माष्टमी अवसरमा भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको छ। भोली शनिबार, १६ अगस्ट २०२५, साँझ ६:३० बजेदेखि राति ९:३० बजेसम्म श्री पशुपतिनाथ फाउन्डेशन, USAको परिसर, 10843 Kenney Street, Norwalk मा सम्पन्न हुने ‘मक्खन चोर-कन्हैया’ को कार्यक्रममा असिमित भक्तजनहरुको उपस्थित रहनेछ, सब भक्तजन कन्हैयाका आफन्त, अनी लीलादाताका जन्मदिन !
गोपिनिहरुका प्यारा हाम्रा भगवान, भगवान नारायण श्रीबिष्णु हरिका साक्षात अवतार श्रीकृष्ण भगवानको विशेष पूजा, भजन, तथा मन्दिरका मुल पुरोहित चिन्तामणी गुरुज्यू तथा अन्य पुरोहितज्यूहरुबाट कथा वाचन गरिने कार्यक्रम रहेको छ । भोलीको यो पावन नन्द उत्सवका आयोजकमा आव्यन पौडेल तथा हर्ष र समीक्षा पौडेल रहेका छन्। कार्यक्रमको पौडेल परिवारको हातबाट प्रसाद वितरण गरिनेछ ।
यो धार्मिक अवसर भगवान श्रीकृष्णको जन्मोत्सवको रुपमा मनाइने परम्परागत पर्व हो, जसको उद्देश्य भक्तिभाव, नैतिकता र सत्य धर्मप्रति आस्था जागरण गर्नु रहेको कुरा श्रीपशुपतिनाथ फाउन्डेशनका अध्यक्ष बिमल श्रेष्ठ जनाएका छन्। श्रीकृष्णको साक्षात बिष्णु स्वरुप, श्रीकृष्ण लीला, सत्यको लागि प्रभुको लडाईं, महाभारतको शिक्षालाई आत्मसात् गर्दै समाजमा शान्ति, सद्भाव र सेवा भाव फैलाउने सन्देश कार्यक्रममार्फत प्रवाह गरिने अध्यक्ष श्रेष्ठले जनाए ।
फाउन्डेशनले लस एन्जलस वरपरका सम्पूर्ण नेपाली, भारतीय तथा अन्य हिन्दू समुदायका भक्तजनलाई कार्यक्रममा उपस्थित भई आध्यात्मिक आनन्द लिन तथा सामूहिक भजन–कीर्तनमा सहभागी हुन आह्वान गरेको छ।