२०८३ भदौ १५ गते | 31st of August 2026

ग्रेटर लस एन्जलस नेपाली समुदायद्वारा नेपालका विपद् प्रभावितका लागि सहयोग अभियान

खुल्लामन्च
 प्रकाशित: २०८३ भदौ १३ गते १६:३९

लस एन्जलस, अमेरिका। नेपालमा आएको विनाशकारी प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि ग्रेटर लस एन्जलस क्षेत्रका नेपाली समुदायले संयुक्त सहयोग अभियान सुरु गरेका छन्।

श्री पशुपतिनाथ फाउन्डेसन, यूएसएको संयोजन तथा दक्षिणी क्यालिफोर्नियामा सक्रिय विभिन्न नेपाली संघ–संस्था र समुदायका सदस्यहरूको सहकार्यमा अभियान सञ्चालन गरिएको हो। विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, बेपत्ता तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउनुका साथै आवश्यक राहत उपलब्ध गराउने अभियानको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

अभियानअन्तर्गत संकलित सहयोग रकमको शतप्रतिशत हिस्सा नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यथाशीघ्र प्रत्यक्ष पठाइने बताइएको छ। आयोजकले मानवीय संकटको यस घडीमा आ–आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गर्दै अभियानमा सहभागी हुन नेपाली समुदाय तथा सहयोगी मनहरूलाई आह्वान गरेको छ।

यसैबीच, विपद्मा परी ज्यान गुमाएकाहरूको सम्झनामा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम शनिबार, अगस्ट २९, २०२६ साँझ ७ः३० बजे नर्वाकस्थित मन्दिर परिसरमा हुनेछ।

कार्यक्रममा उपस्थित भई दीप प्रज्वलनमार्फत दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा प्रभावित परिवारहरूप्रति साथ, सहानुभूति र सहयोगको सन्देश दिन सबैमा अनुरोध गरिएको छ।

कार्यक्रम विवरण

* मिति: शनिबार, अगस्ट २९, २०२६
* समय: साँझ ७ः३० बजे
* स्थान: श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर
* ठेगाना: 10843 Kenney Street, Norwalk, CA 90650
* आयोजक: श्री पशुपतिनाथ फाउन्डेसन, यूएसए तथा ग्रेटर लस एन्जलसका नेपाली संघ–संस्था र समुदायका सदस्यहरू

आयोजकले अभियानमा सहभागी हुने सम्पूर्ण संघ–संस्था, समुदायका सदस्य तथा सहयोगी मनहरूप्रति हार्दिक आभारसमेत व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *