२०८३ भदौ २४ गते | 9th of September 2026

नेपाल अमेरिका एकता समाजद्वारा बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग

खुल्लामन्च
 प्रकाशित: २०८३ भदौ २४ गते २:५२

लस एन्जलस, अमेरिका। नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूको राहत र पुनःस्थापनाका लागि नेपाल अमेरिका एकता समाजले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख नेपाली रुपैयाँ सहयोग पठाएको छ।

समाजले दक्षिणी क्यालिफोर्नियामा रहेका नेपाली समुदायका सदस्य तथा सहयोगी मनहरूबाट राहत अभियानमार्फत संकलन गरेको रकम दुई चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको जनाएको छ। नेपाल क्लियरिङ हाउसबाट प्राप्त विवरणअनुसार पहिलो चरणमा ९ लाख रुपैयाँ र दोस्रो चरणमा १ लाख रुपैयाँ गरी कुल १० लाख रुपैयाँ कोषमा जम्मा गरिएको हो।

नेपाल अमेरिका एकता समाजले सञ्चालन गरेको राहत अभियानबाट कुल ६ हजार ५३३ अमेरिकी डलर संकलन भएको थियो। अभियानमा समाजका पदाधिकारी, सदस्य, व्यवसायी तथा समुदायका विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग गरेका थिए।

यसैगरी, प्रभावित तथा पीडित परिवारको राहत र सहयोगका लागि संकलित रकममध्ये ५०१ अमेरिकी डलर श्री पशुपतिनाथ फाउन्डेसनद्वारा सञ्चालन गरिएको ‘गोफन्डमी’ राहत अभियानमा समेत प्रदान गरिएको समाजले जनाएको छ।

समाजले सहयोग रकम पारदर्शी रूपमा वास्तविक पीडितसम्म पुर्‍याउने प्रतिबद्धतासहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष पठाइएको बताएको छ। सहयोग हस्तान्तरणसम्बन्धी आधिकारिक भुक्तानी रसिदसमेत सार्वजनिक गरिएको छ।

नेपाल अमेरिका एकता समाजका अध्यक्ष अर्जुन पौडेल, महासचिव अजित बी. घिमिरे तथा कोषाध्यक्ष अमृत महतोले राहत अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता, समाजका सदस्य, शुभेच्छुक तथा नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

समाजले विपत्तिको कठिन समयमा प्रवासमा रहेका नेपालीले देखाएको एकता, मानवीय भावना र मातृभूमिप्रतिको जिम्मेवारी प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार यस्ता मानवीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

“मानवता, सेवा र एकताका लागि हाम्रो साझा प्रतिबद्धता” भन्ने भावनासहित नेपाल अमेरिका एकता समाजले विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारहरूको पुनःस्थापनाको कामना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *