२०८३ असार २८ गते | 12th of July 2026

लस एन्जलसमा अध्ययनरत दुई ढकाल विद्यार्थीहरुद्वारा गोरखाका विद्यालयमा शैक्षिक सामग्री तथा छात्रवृत्ति सहयोग

खुल्लामन्च
 प्रकाशित: २०८३ असार २८ गते ३:४०

गोरखा/लस एन्जलस – अमेरिकाको लस एन्जलसमा अध्ययनरत दुई नेपाली विद्यार्थीले आफ्नो जन्मभूमिका सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति प्रदान गर्दै उदाहरणीय सामाजिक अभियानको सुरुआत गरेका छन् ।आर्केडिया हाईस्कूल, आर्केडिया लस एन्जलसमा कक्षा १२ मा अध्ययनरत कृतन ढकाल र आयुष ढकालले ‘प्रोजेक्ट लाखे’ मार्फत संकलित सहयोग रकम गोरखाका विद्यार्थीहरूको शैक्षिक उन्नयनका लागि प्रयोग गरेका हुन्।

दुवैले अमेरिकामा रहेका विभिन्न सामुदायिक कार्यक्रम तथा आफू अध्ययनरत विद्यालयका स्वयंसेवी गतिविधिमा सहभागी भएर संकलन गरेको रकम नेपाल ल्याई सामाजिक कार्यमा खर्च गरेका हुन्। उनीहरूको यो पहलले विदेशमा रहेका नेपाली युवाले आफ्नो गाउँ–समाजप्रति निर्वाह गर्न सक्ने जिम्मेवारीको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

परियोजनाको पहिलो चरणअन्तर्गत गोरखा नगरपालिका–१० स्थित श्री रत्नराज्य माध्यमिक विद्यालय लाई स्मार्ट बोर्ड, १२० थान विद्यालय झोला (स्कूल ब्याग), अध्ययनका लागि आवश्यक सहयोगी पुस्तक तथा कक्षा ११ मा अध्ययनरत पाँच जना विद्यार्थीका लागि एक वर्ष बराबरको छात्रवृत्ति उपलब्ध गराइएको विद्यालय प्रशासनले जनाएको छ।

यस अवसरमा कृतन ढकालले आफूहरूले आधुनिक शैक्षिक वातावरणमा अध्ययन गर्ने अवसर पाए पनि आफ्ना अभिभावक र पूर्वजले अध्ययन गरेको विद्यालयप्रति उत्तरदायित्व महसुस गर्दै सहयोगको अभियान सुरु गरिएको बताए। उनले आगामी दिनमा पनि ‘प्रोजेक्ट लाखे’ मार्फत शैक्षिक सहयोगलाई थप विस्तार गर्दै अन्य सामुदायिक विद्यालयसम्म पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए।

स्थानीय स्तरमा पनि उनीहरूको यस योगदानको प्रशंसा गरिएको छ। विद्यालयले यस्ता अभियानले विद्यार्थीमा अध्ययनप्रति थप प्रेरणा जगाउनुका साथै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *