२०८१ वैशाख २१ गते | 3rd of May 2024

एनआरएनएको नाममा तितर बितर जनसम्पर्क समिती

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत १ गते १६:४५

गोकुल ढकाल – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको लागि कुदाकुद अवस्थामा नेपाली जनसंपर्क समिती भने छिन्न भिन्न भएको छ । सन २०१४ मा टेक्सासको डालासमा सम्पन्न ‘एकताको अधिवेशन’ भनेर नामाकरण गरिएको साधारण सभाले निर्वाचित गरेको कार्यसमिती अहिले गन्जागोल भएको छ । स्पष्टरुपमा दुई खेमामा बिभक्त हुने कांग्रेसी रोग पनि एकताको त्यो अधिवेशनले उपचार गर्न सकेन । नव-निर्वाचित कार्यसमितीमा केही महिना देखिएको उत्साह देउवा र पौडेल खेमामा पून: विभाजित बन्न पुग्यो ।

लुखुर लुखुर बल गरेर हिड्दै गरेको नेजस अमेरिकाले डालसपछी २०१७ भर्जिनियामा आयोजना गरेको साधारण सभालाई ‘अबैधानिक’ भन्दै नेजसका प्रभावशाली नेताहरु बिष्णु सुवेदी र प्रमोद सिटौला लगायतको समुह समाबेश भएनन । प्रभावशाली सदस्य हरिबोल भन्डारी ‘राजधानीमा तनाव भए गिरिजाबाबु विराटनगर पुग्ने बानी’ जस्तै नेपालमै अल्झिए । यसबाट संस्थामा पौडेल-देउवाको छायां भुतले नेजसलाई तर्साइरह्यो । भर्जिनिया साधारण सभामा ‘हराएर पाईएको बि पि को ऐतिहासिक मुर्ती’ न्यूयोर्कको चोकमा शालिक बनाएर राख्ने महत्वाकांक्षा पनि ओझेलमा पर्‍यो ।

गुट र उपगुटका लम्बेतान फेसरिस्तहरु कोरिंदै गए । जन्मभुमीमा आईपरेको महाभुकम्पको संकटमा दिलोज्यान दिएर लागेको नेजस अमेरिका भुकम्पपीडितको नाममा अमेरिकाबाट संकलित पैसाको सन्तोषजनक वितरण गर्न सकेन । समस्यामा परेका जन्भभुमिका परिवारलाई बांड्नुको सट्टा संकलित रकम पार्टीलाई बुझाएर विवादित बन्यो ।

भुकम्पको कम्पनले थर्केको संस्थामा आपसी कारवाहीका प्रकृया चले । नेपालको जस्तै घिनलाग्दो राजनीतिले प्रताडित नेजसको रोग क्यान्सर जसरी फैलदैं गयो । पक्ष विपक्षको आपसी आरोप प्रत्यारोपमा नेपालको राजनीतिको पाराजस्तो आँफै अध्यक्ष घोषणा गर्ने काम भयो । नेजसको विवाद बखत २०० भन्दा बढी नेता अमेरिका आए । तिनीहरु नयूयोर्कको सेकुवा, डालसको भुटन, बाल्टिमोरको बियर, लस एन्जलसको भात, कार्यकर्ताका खादा र सानफ्रान्सिस्कोको हावा खाएर फर्के । एउटा महाग्रन्थ बन्ने नेजसको हालत सुध्रिएन ।

भुकम्प, नेपालको चुनाव, माऊ पार्टीको महाधिवेशन, पार्टीभित्रको गुट जनसम्पर्क समिती अमेरिकाको समुन्द्रका दुई किनारे धारले समयमा संस्थाको अधिवेशन गर्न सकेन । सात बर्षको यो अवधीमा अहिले नेजस टुक्रेर दुई चिरामा बिभक्त छ । पार्टीका नजिर जे जस्ता भएपनि ‘चाहेको भए संस्थाको साधारण सभा’ हुन सक्ने कदम तर्फ दरिलो पाईला चालिएन । अमेरिकी नेपाली समाजको कुनै बेलाको सबैभन्दा ठुलो संस्था अहिले हावाले उडाएको खरको छानोको घर जस्तो उजाड छ । घर छ, परिवारका सदस्य छन तर बास छैन, न आश छ । त्यो शक्तिशाली संस्था नेजसको नाम अहिले कतिले बिर्सिसके, कती सम्झेर पनि दिक्क मान्छन त धेरै सुन्नै चाहंदैनन ।

आश मरेपछी एनआरएनए अमेरिकाको चुनावतिर :

अहिले आनन्द बिष्टको संयोजनमा २०१४ मा डालसमा निर्वाचित समिती सकृय छ । केही सहयोगीहरुको बलमा टिकिरहेको छ । महासचिव मुनिन्द्र नेम्वाङ्गजस्तो ब्यक्तित्व त्यहीं अल्झिन विवश छ । भद्रगोल संस्थाको संगठन विभागका प्रमुख बेद खरेल पनि अल्झिएरै बसेका छन, शायद बाध्यता वा संस्थाप्यार होला । नेजसका प्रभावशाली खरेल अधिवेशन भए अध्यक्ष बन्ने अभिलाषा सहित नुन पिरो सहेरै बसेका छन ।

नेजसका संस्थापक महासचिव कृष्ण लामिछने एनआरएनए अमेरिकाको अध्यक्ष पदका प्रत्यासी बनेका छन । वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका धनन्जयनरसिंह केसी पून: अर्को जनसम्पर्क होलेर अध्यक्ष बनेर संपर्क बढाई रहेका छन । एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि क्यालिफोर्निया च्याप्टरमा उनको आफ्नै प्यानल छ । पुर्व संयोजक बिष्णु सेवेदी र प्रमोद सिटौलाको केसीलाई साथ रहेको छ ।

हरिबोल भन्डारीलाई नेजस भन्दा एनआरएनए प्यारो छ । २०१४ को नेजस महाधिवेशनमा महासचिव पदका प्रत्याशी बिनोद भट्ट कृष्ण लामिछनेको प्यानलबाट अर्को महासचिवको दौडमा छन । उपाध्यक्ष सिपी पौडेल आईसिसीमा लड्ने फ्लायर फ्यांकिरहेका छन भने एनआरएनए अमेरिकाका अध्यक्ष पदका अर्का प्रत्यासी डा. अर्जुन बन्जाडेको रथ हांकिरएका छन । सबैभन्दा धेरै मत ल्याएका एनआरएनए अमेरिकाका प्रवक्ता ॐ भट्टराई ‘म पनि आउंदैछु’ भनेर बन्जाडे रथमा ध्वजा हल्लाईरहेका छन ।

प्रखर वक्ता सन्तोष पहारी एनआरएनए अमेरिकाको निर्वाचनमा सदस्य पदका लागि होमिएका छन । विश्वराज बास्तोला लगायतका च्याप्टर सभापती कसको प्यानलमा जाने भनेर च्यांखे थापिरहेका छन । जोशिला संजिव श्रेष्ठ सम्भवत: बन्जाडेको समुहबाट वरिष्ठ उपाध्यक्ष पदमा चुनावमा होमिदैंछन । नेजसका उपाध्यक्षहरु भगवान मैनाली, धर्म श्रेष्ठहरु पनि एनआरएनएको च्याप्टर सल्लाहकारमा चित्त बुझाईरहेका छन । सल्लाहकार उत्तम कार्की पनि बाटो कुरेर बसेका छन ।

त्यसो त, निरिह जनसम्पर्कका प्राय नेता कार्यकर्ताहरु कमसे कम संस्थागत सकृयताको लागि भन्ने बाहनामा एनआरएनए अमेरिकाको निर्वाचनमा होमिने क्रम भने जारी छ । यो फेहरिस्त लामो हुने आगामी दिनले देखाउनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *