२०८१ वैशाख २० गते | 2nd of May 2024

चक्रब्युहको कोठरीबाट कहिले बाहिर निस्केला एनआरएनए अमेरिका ?

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत ६ गते १६:४८

अमेरिका – आसन्न निर्वाचनको अनिश्चित मिती, बहुचर्चित २०९३ विवादित सदस्यता र एनआरएनए माथी आईसिसीको कर्के नजरका बिच जुम बैठक, उमेद्वारीको प्रचार र फेसबुके लाईभले एनआरएनए अमेरिकाले अमेरिकी नेपाली समुदायमा रौनकता भने थपेको छ । जाडो सकिनै लाग्दा एनआरएने गर्मीले कोही जाकेटले पसिना पुछ्दैछन, कोही रुमाल किन्दैछन त कोही होटेलको कोठामै तातो लगाएर बसेका छन ।

जे होस् माहौल तातेकै छ । आगामी मे महिनामा एनआरएनए अमेरिकाको निर्वाचन हुने भनिए पनि यो जुलाईसम्म जानसक्ने देखिन्छ ।

आईसिसीको निर्वाचन :

एनआरएनए अमेरिकाको निर्वाचन लागि आकांक्षीहरुको लर्कनसंगै सम्भवत: आगामी अक्टोबरमा आयोजना हुने एनआरएनए विश्व सम्मेलनका लागि पनि आकांक्षीहरु देखिन थालेका छन । एनआरएनए वर्तमान अध्यक्ष कुमार पन्तसंग चुनाव हारेका कुल आचार्य पून: अध्यक्ष पदमा लड्नेछन । अराजनैतीक संस्था भनिए पनि एनआरएनए कहिल्यै राजनीतिबाट बाहिर जान भने सकेको छैन । त्यसैले नेपाली कांग्रेसको समर्थन बलमा कुल आचार्यले आफ्नो युद्धरथको तयारी गर्दैछन । शायद आचार्यको समुहका लागि एनआरएनए अमेरिकाका दुई कार्यकालका पुर्व अध्यक्ष डा. केशब पौडेलले महासचिव पदमा उम्मेद्वारी दिने कुरा बाहिर आईसकेको छ ।

दोस्रो कार्यकालका लागि दोधारे मनस्थितिमा रहेका कुमार पन्त पनि युद्धरथ निर्माण गर्ने वा स्वसमर्पण गर्ने भन्ने सोच्दै गर्दा अहिलेका उपाध्यक्ष डा. बद्री केसी पनि एनआरएनए ग्लोबल अध्यक्ष पदका लागि उम्मेदवार हुनेछन । अध्यक्ष पन्तले दोस्रो कार्यकालको रहर नदेखाए संस्थापनको बलले केसी अध्यक्ष पदका प्रत्यासी हुनेछन । बामपन्थी धारका केसीलाई जन्मभुमीमा चिरा चिरा परेका पार्टीहरुको प्रभावले बिजयरथको झन्डा फहराउने स्विच अन होला नहोला, त्यो गर्भको बिषय भयो ।

अमेरिकाको तर्फबाट सोनाम लामा, गौरीराज जोशी, डा. केशब पौडेल, सुनील साह, राजन त्रिपाठी, पुरुषोत्तम बोहोरा, राम सि खरेल, प्रकाश सापकोटा, बेदराज बस्नेत लगायतका उम्मेदवार आकांक्षी रहनेछन ।

चक्रब्युहमा एनआरएनए अमेरिका :

अहिले पनि एनआरएनए अमेरिकाको खातामा फर्जी भनिएको ‘बहुचर्चित २०९३ सदस्य’ संख्याको मुद्दा वा विवाद समाप्त भएको छैन । ‘यो गलत हो र छ’ भनेर एनआरएनए अमेरिकाकै कार्यसमितिका पुर्व सदस्य सुर्य लम्सालले आफ्नै खल्तीबाट ४०औं हजार मुद्दाका लागि खर्चेका छन । अदालतमा विचाराधिन मुद्दाका बारेमा आईसीसीले अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीको संयोजनमा निर्माण गरेको समितिले आफ्नो प्रतिवेदन दुई हप्ता पहिले नै बुझाईसकेको छ ।

गत हप्ता सम्पन्न आईसीसीको बैठकले त्रिपाठी प्रतिवेदन ‘प्राप्त भएको र यो संस्थाको आधिकारिक धारणा भएको’ कुरा सार्वजानिक भईसकेको छ । तर ‘गलत हो भनेर कारवाही’ भने गर्न सक्दैन । जमर्को गर्दैन । एनआरएनए अमेरिकालाई आईसिसीको सम्बन्धन बिच्छेद गरिदिने फुर्ती भने लगाउंछ तर आफ्नो निर्णय सार्वजानिक नगरी गुप्तरुपमा प्रकाशन गर्न लागाउंछ ।

यता सुर्य लम्साल आईसिसीले अल्छी गरेर झारा टार्न खोजेमा आफु ग्लोबल कन्फेरेन्स अगावै नेपालको सर्वोच्च अदालतसम्म पुगेर भए पनि यो मुद्दाको किनारा लगाएरै छाड्ने बताउंछन । ‘जीवनभर कमाएको रकम आफुले एनआरएनए अमेरिकाको शुद्धिकरणको लागि खर्चेको’ बताउने राम्रै कमाई भएका लम्साल ॠण काढेर पनि एनआरएनए अमेरिकामा गडेको कांडा निकाल्ने बताउंछन ।

यदी आईसिसीले त्रिपाठी प्रतिवेदन कार्यन्वयन गर्‍यो र सुर्य लम्साल सर्वोच्च अदालतको ढोका ढकढकाउन जन परेन भने सम्भवत: विवादित सदस्य सम्हाल्ने एनआरएनए अमेरिकाको कार्यमितिका प्रमुखहरु त्यो विवादमा अगाडी हुनेछन । सदस्यता विवादमा उठेको मुद्दाले आईसिसीसंग गरिएका कागजी कवुलनामाको पाना पल्टियो भने धेरैको आईसिसीमा निर्वाचन जितेर नेपाली समुदायको हितमा काम गर्ने सपना चकनाचुर हुनेछ । गफ गर्न माहिर आईसिसी महासचिव डा. हेमराज शर्मा र यो मुद्दालाई नजिकबाट हेरेका उपाध्यक्ष डा. बद्री केसीको भूमिकामा बांकी निर्णय निहित हुनेछ ।

नेपालको राजनैतीक बिभाजनले आगामी अध्यक्ष पद जितिने अभिलाशा पालेका कुल आचार्यसंग चुनाव लड्ने डा. बद्री केसी यो मुद्दा डटेर वाहिर ल्याएर अमेरिकाका प्रतिनिधिहरुको सम्भावित भोट चिढ्याउन भने चाहंदैनन भने त्रिपाठी प्रतिवेदनले दोषी ठहर्याएका सदस्य मुद्दामा विवादित पात्रहरु मुद्दाले बिघ्नरुप रुप लिओस भन्ने चाहंदैनन । आईसिसीमा निर्वाचन लड्ने आकांक्षाले मुद्दाशक्ती भएका पात्रहरुसंग यसलाई थुम्थुमाउन लागिपरेका उपमाहरु छन ।

कहिले निस्केला कोठरीबाट एनआरएनए अमेरिका :

एकजना मित्रले भन्थे, ‘एनआरएनए भन्ने संस्था कोठाबाटै शुरु भएको हो र यो कोठाबाटै चल्छ ।’
कुरा सत्य हो ।
यो कोठरीबाटै चल्छ ।

एनआरएनए अमेरिका पूर्णत: राजनैतीक चिरामा विभक्त छ । कुनै समय अमेरिकामा सबैभन्दा ठुलो संस्था रहेको नेपाली जनसंपर्क समितीका सदस्य या समर्थकहरुको बलमा यो चलेको छ । यसका उम्मेदवार र विजेता अपवाद बाहेक कांग्रेसीहरु समर्थकहरु नै छन । त्रि-चन्द्र कलेजमा टुक्रा-टुक्रा भएर पनि नेविसंघले निर्वाचन जितेजस्तो छ, एनआरएनए अमेरिकाको निर्वाचन, कांग्रेसीहरुकै बोलवाला ।

अहिले त नेजसमा पद भएर पनि अधिवेशन नभएर भूमिकाविहिन भएकाहरु सबै एनाआरएनए अमेरिकाको निर्वाचनमा उम्मेदवार भएर फ्ल्यार फ्यांकिरहेका छन । खैर, नेपाली कांग्रेस या यसका समर्थक सिद्दान्त र प्रकृयाको राजनीति भन्दा कोठारीमा रमाउने खालका हुन्छन । कांग्रेसीहरुको रगतमै ‘गुट र कोठरी’ हुन्छ ।

हिजो नेविसंघमा राजनीति गरेका वा कांग्रेसमा रहेकाहरुको कोठरीबाट यो संस्थाको उम्मेदवारको सुची बन्थ्यो । आज पनि बनेको छ । ‘कांग्रेसमा त्याग गरेको’ नजिर देखाएर प्राध्यापकहरुले सुची बनाएको एनआरएनए अमेरिका हो यो, केही सकरात्मकता बाहेक ।

अनुभव भन्दा प्रकृया बुझेका पात्र भन्दापनि कोठरी निर्देशन मान्ने ब्यक्ती निरन्तर निर्वाचन आयुक्त भएको संस्था हो, एनआरएनए अमेरिका । नर्थ क्यारोलिनाको रेस्टुरेन्टबाट चार जनालाई खाना मगाएर हिल्टन होटलको कोठामा निर्वाचन आयुक्त, संस्थाका संरक्षक र एनआरएनए अमेरिका अध्यक्ष पदका प्रत्यासीहरु संगै रहेर नेविसंघका पुर्व नेताका आदेशिरोपरण गर्नु लगायतका घटनाहरुले पनि बताउंछन, एनआरएनए अमेरिकाको आगामी निर्वाचन, विवादित सदस्य संख्याको मुद्धा र भोली बांड्न पकाईएको खिचडी ।

एनआरएनए ग्लोबल कन्फेरेन्सको लागि उम्मेदवारहरुको आकांक्षामा चल्न सक्ने प्रतिनिधीहरुको छनौटका लागि यसरी नै कोठरीबाट चल्छ, एनआरएनए अमेरिका । सबैभन्दा ठुलो एनसिसी बनेको एनआरएनए अमेरिका कती दिनसम्म चक्रब्युहमा रहला, र कोठे राजनीतिबाट बाहिर निस्केला ?

जय पशुपतिनाथ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *