२०८० असोज ५ गते | 22nd of September 2023

नेपालमा पर्यटन प्रवर्धन गर्न सद्गुरुका यस्ता छन सुझाव

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २० गते १५:२२

काठमाडौँ  –  विश्वभर सद्गुरु नामले चर्चित योग प्रशिक्षक जगदीश वासुदेवले पर्यटन प्रवर्धनका लागि नेपाल र भारतले संयुक्त रूपमा काम गर्नुपर्ने बताउनुभएको छ । सिमकोटदेखि लिमीसम्मको नौदिने भ्रमण सकेर काठमाडौँ फर्किनुभएका सद्गुरुले यसका लागि ‘टुरिजम कमिसन’ स्थापना गर्नु उपयुक्त हुने सुझाव दिनुभयो ।

शनिबार काठमाडौँमा पत्रकारसँगको छलफलमा उहाँले यसले दुवै देशका पर्यटन व्यवसायीलाई एक ठाउँमा ल्याउने र सहकार्यको वातावरण तयार हुने बताउनुभयो । “नेपाल र भारतबीच राजनीतिक विषयमा समस्या हुन सक्छन्,” उहाँले भन्नुभयो, “तर व्यवसायलाई यसबाट अलग राख्नुपर्छ । टुरिजम कमिसन त्यसको आधार हुनसक्छ । ” व्यवसाय सफल बनाउन लामो समय लाग्ने भएकाले दुवै देशले समझदारीपूर्ण रूपमा यसका लागि काम गर्नुपर्ने उहाँको सुझाव थियो ।

उहाँले पर्यटनमा रहेको ठूलो सम्भावनाअनुसार नेपालले योजनाबद्ध रूपमा काम गर्न नसकेको बताउनुभयो । विश्वमै सबैभन्दा फरक अनुभव दिनसक्ने देशले त्यसको उपयोग गर्नुपर्नेमा उहाँको जोड थियो । “नेपालले अबको १० वर्षमा कम्तीमा पनि जीडीपीमा यसको योगदान ३० प्रतिशत पु-याउनुपर्छ अन्यथा पर्यटनमा जुन सम्भावना छ, त्यो खेर जानेछ,” उहाँले भन्नुभयो ।
त्यसका लागि नेपालले पर्वतारोहण र पदमार्ग पर्यटनको भरपुर उपयोग गर्नसक्ने उहाँले बताउनुभयो । नेपालमा सजिलै आरोहण गर्न सकिने १२ वटा हिमाल रहेको र त्यसैलाई प्रवद्र्धन गर्नसक्ने उहाँको सुझाव थियो । सगरमाथा आरोहण सबै किसिमका पर्वतारोहीका लागि उपयोगी नहुने भएकाले अन्य हिमाल आरोहणको प्रवद्र्धनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
पर्यटकका लागि नेपालमा पर्याप्त पदमार्ग रहेकाले त्यसको योजनाबद्ध विकासले नेपाललाई समृद्ध बनाउन सहयोग पुग्ने सद्गुरुको भनाइ थियो ।

खासगरी पुराना व्यापारिक मार्गको उपयोगमा यसमा सहयोगी हुने उहाँले बताउनुभयो । “सिमकोटदेखि लिमीजस्ता पदमार्गको विकासलाई नेपालले प्राथमिकता दिनुपर्छ,” उहाँले भन्नुभयो । यद्यपि महत्वपूर्ण पदमार्गसम्म सडक नै पु-याउने पछिल्ला गतिविधिप्रति भने उहाँको चित्तदुःखाइ थियो । काठमाडौँको पछिल्लो स्वरूपप्रति पनि सद्गुरुले कार्यक्रममा गुनासो गर्नुभयो । “मेरै साथीहरू काठमाडौँ आउन चाहन्थे तर अहिले यो एकदमै अव्यवस्थित देखिन्छ,” उहाँले भन्नुभयो, “यसका लागि काठमाडौँबाहिर व्यवस्थित सहर निर्माण गर्नुपर्छ । ” भक्तपुरको परम्परागत सुन्दरताको भने सद्गुरुले प्रशंसा गर्नुभयो । भक्तपुरजस्तो ठाउँ संसारमै अन्य कतै नभएको पनि उहाँले बताउनुभयो । भक्तपुरजस्तै ठाउँ नेपालले अन्यत्र पनि बनाउनुपर्ने उहाँको सुझाव थियो ।

नेपाल आफैँमा स्वर्गजस्तो रहेकाले यहाँको ऐतिहासिकता र सांस्कृतिक सुन्दरताको प्रवद्र्धन र संरक्षण हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “नेपालमा यति सुन्दर ठाउँहरू छन् जुन जोकोहीले पत्याउनै सक्दैनन्,” उहाँले भन्नुभयो । योग र आध्यात्मिक पर्यटनका लागि नेपाल उपयुक्त गन्तव्य बन्नसक्ने पनि उहाँको भनाइ थियो । सद्गुरु योग प्रशिक्षण दिने ईशा फाउन्डेसनका संस्थापक पनि हुनुहुन्छ ।

पर्यटनमा रहेको सम्भावनाको भरपूर उपयोग गरेमा नेपाल एसियाको स्विजरल्यान्डजस्तै बन्ने उहाँले बताउनुभयो । कुनै निश्चित पर्यटकीय गतिविधिले मात्र नेपालले समृद्धि हासिल गर्न नसक्ने भएकाले सबै किसिमको गतिविधिलाई प्रवर्धन गर्नुपर्ने पनि उहाँले बताउनुभयो । भारतका ४० करोड व्यक्ति अबको २५ वर्षमा भ्रमणमा आकर्षित हुने भएकाले त्यसको लाभ लिनेगरी नेपालले योजनाबद्ध विकासमा ध्यान दिनुपर्ने उहाँको सुझाव थियो । विकास र पर्यटनलाई राजनीतिसँग अलग राखेर अघि बढ्नुपर्नेमा सद्गुरुको जोड थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *