२०८१ वैशाख २२ गते | 4th of May 2024

किन हुदैछ श्रीलङ्कामा खाद्धवस्तुको अभाव ?

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ २९ गते १५:३९

 काठमाडौं –  श्रीलङ्काका सरकारी खाद्य सामग्री पसलहरू रित्तिँदै गएका छन् भने धुलो दूध, अन्न र चामल जस्ता आयातित सामग्रीको सञ्चिति निकै कम छ। सरकारले आपूर्ति अभाव नरहेको भन्दै सञ्चारमाध्यमहरूले भय निम्त्याएको आरोप लगाएको छ। सरकारले सङ्कटकालको घोषणा गरेको र विदेशी मुद्रा सटहीमा सङ्कट देखा परिरहेको अवस्थामा श्रीलङ्काको केन्द्रीय ब्याङ्कका प्रमुखले राजीनामा दिएको अवस्थामा पछिल्लो घटनाक्रम विकास भएको हो।

अगस्ट ३० मा राष्ट्रपति गोटाबय राजपक्षेले अत्यावश्यक सामग्रीहरूको आपूर्तिमा कडा नियन्त्रण गरिएको घोषणा गरेका थिए।

सरकारले व्यापारीहरूलाई खाद्य सामग्री भण्डारण कम गर्न र मूल्य वृद्धि नियन्त्रण गर्न यो कदम चालिएको बताएको थियो। श्रीलङ्काली मुद्राको अवमूल्यन, मुद्रास्फ्रिति र बढ्दो वैदेशिक ऋण भारसँग जुधिरहेको छ।केही समय अघिसम्म दक्षिण एशियाकै बलियो अर्थतन्त्र रहेको उक्त देशको आर्थिक मन्दीप्रति चिन्ता प्रकट भएका छन्। सन् २०१९ मा विश्व ब्याङ्कले श्रीलङ्कालाई मध्यम आय भएको देशमा स्तरोन्नति गरेको थियो। तर यही अवधिमा देशको ऋणको भार पनि बढिरहेको छ।

सन् २०१० मा देशको कूल राष्ट्रिय आयको ३९ प्रतिशत रहेको ऋण सन् २०१९ मा बढेर ७९ प्रतिशत पुगेको विश्व ब्याङ्कले जनाएको छ।आर्थिक सङ्कटका कारण कतिपय अत्यावश्यक खाद्य सामग्रीको मूल्य बढिरहेको छ। श्रीलङ्कामा कोभिड-१९ को नियन्त्रणका लागि लगाइएका कडा लकडाउनका माझ अत्यावश्यक उपभोग्य सामाग्रीहरूको खरिदका लागि मानिसहरू लामो लाइनमा बस्नुपर्ने अवस्था छ। हालैका महिनामा चिनी, प्याज र दालको मूल्यमा निरन्तर वृद्धि भएको छ। मे महिनामा वृद्धि भएको चामलको भाउ त्यसयता निरन्तर ओरालो लागिरहेको छ। सेप्टेम्बर महिनाको सुरुमा चामलको खुद्रा मूल्यमा निश्चित सीमा तोकिए पनि उक्त क्रम रोकिएको छैन।आपत्कालीन नियमहरूले सरकारलाई व्यापारीहरूबाट खरिद गरी खाद्य र अरू अत्यावश्यक सामग्री नियन्त्रित मूल्यमा उपभोक्ताहरूलाई बिक्री गर्न बाटो खोलिदिएको छ। आपूर्ति सङ्कटका बारेमा बीबीसीलाई विज्ञप्तिमार्फत श्रीलङ्काका अर्थमन्त्रीले त्यो ‘कृत्रिम’ भएको बताए। “अवाञ्छित तत्त्वहरूले कृत्रिम रूपमा गराएको अभावले स्वाभाविक रूपमा नै ती सामग्रीहरूको मूल्य वृद्धि गराउँछ,” उनले भने। उपभोग्य सामग्रीको अभाव हुनसक्ने अवस्थाको कडा प्रतिवाद गर्दै उनले जुनसुकै समयमा सबै अत्यावश्यक सामग्री उपलब्ध हुनेमा सरकारले आश्वस्त पार्न सक्ने बताए। राज्यमन्त्री अजिथ निभार्ड कब्रालले खाद्य सामग्रीको अभावबारेका ‘मिथ्या विवरण’मा विपक्षी जिम्मेवार रहेको बताए।

तर चिनी, चामल, दाल र धुलो दूध खरिदका लागि लामो लाइनहरू देखिएका छन्। एक जना ज्येष्ठ नागरिक कुमारादासा भन्छन्, “म यहाँ ४५ मिनेटदेखि लामबद्ध हुँदा मैले एक किलो चिनी मात्रै पाउन सकेँ।” अर्का व्यक्तिले बीबीसीलाई सुपथ मूल्यमा चीनी बेच्ने सरकारी सुपरमार्केट राजधानी कोलम्बो नजिकैको एउटा नगरमा बन्द रहेको बताए।सरकारको नीतिका आलोचकहरूले सामग्रीहरूको अनावश्यक सञ्चिति र मूल्यवृद्धि नियन्त्रण गर्ने अरू कानुनी व्यवस्थाहरू रहे पनि सरकारले ‘गलत नियत’ले सङ्कटकाल घोषणा गरेको बताए।

“(यो सङ्कट) शक्ति सङ्घर्षको प्रतिबिम्ब हो, शक्ति आर्जन गर्ने अपेक्षा लागि राष्ट्रपति र सरकारले अमानवीय ढङ्गले नागरिकको जीवन जोखिममा पार्ने काम गरिरहेका छन्,” विपक्षी दल एसजेबीका इरान विक्रमारत्नेले संसद्‍मा भने।

बिबिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *