२०८१ वैशाख २१ गते | 3rd of May 2024

चलचित्र निर्देशक दीपक श्रेष्ठ कहाँ छन्, कसैलाई थाहा होला ?

खुल्लामन्च
 प्रकाशित: २०७८ पुष २६ गते १:५५

ज्योतिकुमार श्रेष्ठ/न्यूयोर्क  – शुरुमा बिसं. २०४७ सालमा मदनकृष्ण हरिवंश लगायत कलाकार टोली धरान गणेश टाकिज हलमा “शिखर साँझ” कार्यक्रम लिएर आउँदा कार्यक्रम उद्घोषक कारणवश कार्यक्रममा आउन नसक्ने भएपछि राम्रो उद्घोषकको खोजी भयो । कसैले दीपक श्रेष्ठको नाम सिफारिश गरेपछि उनी सो टीममा १३ शोमा ३५ दिन नेपालको विभिन्न सहरहरुमा उदघोषक भएर हिडे ।

त्यसबेला उनि शारीरिक रुपमा हिरो थिए । उनलाई त्यसबेला धरानेहरु हिन्दी फिल्म “लव स्टोरी” का नायक कुमार गौरवको नामले पनि चिन्दथे । उनी झण्डै कुमार गौरव जस्तै देखिन्थे ।

कार्यक्रम उद्घोषकको रुपमा सबैले उनलाई तारिफ गरेपछि उनि नेपाल टेलिभिजनको उद्घोषक हुन हौसिए । सुर्रिएर उनि एकपटक नेपाल टेलिभिजनको कार्यालय सिंहदरवारमा तत्कालीन महाप्रवन्धक नीर शाहलाई भेट्न गए । नीर शाहले उनलाई तल देखि माथि सम्म हेरिसकेपछि के लाग्यो कुन्नी भोलिपल्टै देखि काम शुरु गर भनेर बाँटो लागे ।
यो कुरा बि.सं. २०४८ सालको हो । उनले नेपाल टेलिभिजनमा प्रस्तोता (उद्घोषक) को रुपमा ७ वर्ष सम्म “संगीत सन्ध्या” कार्यक्रम संचालन गरे ।

त्यसपछि लोकप्रिय गायक रामकृष्ण ढकालका ‘गड फादर’ भनेर चिनिने फिल्म निर्माता गोपाल कर्माचार्यले राजेश हमाल र दीपाश्री निरौला अभिनीत चलचित्र “गाउँले” निर्देशन गर्न प्रस्ताव गरे । शुरुमा दीपक श्रेष्ठ निर्देशक बन्न अन्कनाए तर गोपाल कर्माचार्यले उनलाई हौस्याए । त्यसपछि उनले दु:ख; पापी मान्छे; हिम्मत; तक़दीर लगायत ३० वटा जति चलचित्र निर्देशन गरे । “तक़दीर” चलचित्रमा उनले सर्वोत्कृष्ट निर्देशकको नेफ्टा अवार्ड पनि प्राप्त गरे ।No description available.

कमर्शियल फिल्मका निर्देशक दीपक श्रेष्ठको पछिल्लो फिल्महरु कम चल्न थालेपछि उनलाई फिल्म निर्देशनको प्रस्ताव आउन कम हुदै रोकियो पनि ।
शुरुका दिनहरुमा उनी “बलेका आगो” थिए, निर्माता; कलाकार; गायक संगीतकार सबै ताप्न आउँथे, पछि आगो निभ्न थालेपछि सबैले मुन्टो बटारे । कतिसम्म भने छोरीको बिवाहको निम्तो दिन २ पटक सम्म राजेश हमालको घर पुग्दा पनि हमालले भेट गर्न चाहेनन् उनीसंग । समय आफ्नो पक्षमा नभएपछि ७ वर्ष सम्म उनी गुमनाम भए । कतिले लख काटे – उनलाई ‘डिप्रेशन’ भयो । तर उनी सामान्य अवस्थामा नै थिए ।

निरुता सिंह र दिलिप रायमाझीसंग काम गर्दा ‘कम्फर्टेबल’ मान्ने निर्देशक श्रेष्ठले कतिपय निर्माताहरुसंग संझौता गरिएको रकम भन्दा पनि कम रकम लिएर पनि काम गरे । अझ यिनी निर्देशकको पारिश्रमिक मात्र लिएर पनि चलचित्र बनिसकेपछि हलसम्म पुऱ्याईदिने सहयोग पनि गर्दथे ।

७ वर्षको गुमनाम जीवनबाट उनी एकदिन झल्यास्स ब्युझिए र फेसबुकमा छापिएको कथाकार मन्दिरा मधुश्री “मासुको मुल्य” कथामा उनको आँखा गाडियो । कथा लामो थियो तर नसकुन्जेल पढिरह्यो । फेरि पढ्यो, फेरि पढ्यो, एकछिन घोरिएर बस्यो, उनको टाउको हल्लियो । के सोच्यो कुन्नी, मन्दिरा मधुश्रीलाई मेसेन्जरबाटै सम्पर्क गरेर भन्यो – “मन्दिराजी, “मासुको मुल्य” को म फिल्म बनाउँछु ।” कथाकार मन्दिरा मधुश्रीलाई “के खोज्छस् कानो आँखो” भनेजस्तै भयो । दीपक श्रेष्ठ जस्तो राम्रो निर्देशकले प्रस्ताव गरेपछि उनलाई के चाहियो र ! उनले एकै श्वासमा “हुन्छ” भनिदियो ।

अहिले यो कथा फिल्म बनेको छ । फिल्मको नाम “घिन्ताङ” राखिएको छ । “चालीस कटेसी रमाऔंला” म्युजिक भिडीयोका चर्चित नायक गौरव पहाड़ी र अर्का प्रसिद्ध नायिका केकी अधिकारी अभिनीत चलचित्र “घिन्ताङ” को शुटिङ भर्खरै सकिएर ‘पोष्ट प्रोडक्शन’ को काम भैरहेको छ ।
घिन्ताङबाट ‘कमब्याक’ भएका निर्देशक दीपक श्रेष्ठ भने यतिखेर पारिवारिक भेटघाट नेपाली फिल्मको बजार बुझ्न न्यूयोर्कमा छन् । अब उनि छिट्टै नेपाल फर्किएर “घिन्ताङ” लाई न्यूयोर्कमा ‘प्रिमियर शो’ गर्ने तयारीमा रहेका छन् ।

न्यूयोर्क स्थित नेवा: गुठीले निर्देशक दीपक श्रेष्ठलाई गत डिसेम्बर १८, २०२१ का दिन नेपाली चलचित्रमा योगदान पुऱ्याएको भनि सम्मान गरेको छ । अब उनले एउटा नेवारी संस्कृति र संस्कारमा आधारित रहेर छोटो चलचित्र बनाउने भएको छ ।

निर्देशक श्रेष्ठले अहिलेसम्म करिव ७० वटा जति नेपाली म्युजिक भिडीयो पनि निर्देशन गरेका छन् ।
नेपाली चलचित्रमा उनको ‘कमब्याक’ को खबरले दर्शकहरु उत्साहित छन् । उनको ‘कमब्याक’ फिल्म “घिन्ताङ” सफल रहोस् !