अमेरिका –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र केही समय अघि सम्म उनका निकट रहेका इलोन मस्क वीचको सम्वन्ध चिसिएको छ । मस्कले हालै आफू राजनीतिबाट अलग हुने घोषणा गरेपछि उनले सञ्चालन गरिरहेका कैयौँ प्रविधि कम्पनीहरूमा उनको संलग्नता बढ्ने अपेक्षा लगानीकर्ताहरूले गरेका थिए। तर राष्ट्रपति ट्रम्पसँगको उनको विवाद सतहमा आएसँगै उनीहरू मस्कको प्राथमिकता फेरि पनि ती कम्पनीहरूमा नपर्ने बुझाइमा छन्।
सार्वजनिक चासोबाट अलग भएर टेस्लासहितका उनका उद्यमहरूको भविष्य बनाउनुको साटो मस्क फेरी पनि आफ्ना ग्राहकबाट बहिस्कारको सामना गर्ने अवस्थामा पुगेका छन्। तर यसपटक चाहिँ ट्रम्पको सरकारबाटै बहिष्कारको खतरा छ। संसारका सबभन्दा शक्तिशाली र सबभन्दा धनी व्यक्तिबीच अचानक ’वाकयुद्ध’पछि अब के होला?
ट्रम्पसँगको विवादले इलोन मस्कको व्यवसायमा कस्तो असर पर्न सक्ला विश्वभर छलफलको विषय वनेको छ । क्ति पयले भनेका छन ,मस्कले आफ्नो ध्यान फोन बन्द गरेर कम्पनीतर्फ नलगाएसम्म उनको व्यवसाय साधारण अवस्थामा फर्कने छैन । कतिपयका बुझाइमा मस्कको व्यवसाय अहिले देखिएको भन्दा पनि ठूलो समस्यामा छ। मस्कले ट्रम्प प्रशासनमा निर्वाह गरेको विवादास्पद भूमिकाले व्यवसायलाई अन्त्यको बाटोमा लगेको उनीहरू बताउँछन्।
अनुभवी प्रविधि पत्रकार कारा स्विशर टेस्लाका हकमा ठिक त्यस्तै भएको बताउँछिन्।
“टेस्ला सकिइसक्यो,“ उनले बीबीसीसँग भनिन्। “त्यो एउटा भव्य कम्पनी थियो। स्वचालित ट्याक्सीको क्षेत्रमा तिनले प्रतिस्पर्धा गर्न सक्थे तर अहिले धेरै पछि परिसके।“टेस्लाले लामो समयदेखि गुगलको मातृ कम्पनी अल्फाबेटले चलाएको वाइमोसँग प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेको छ। वाइमोका चालकरहित ट्याक्सीहरू सान फ्रान्सिस्कोमा केही वर्षदेखि सञ्चालनमा थिए। अहिले ती ट्याक्सीहरू अरू सहरहरूमा पनि विस्तार भइरहेका छन्। यस महिना मस्कको टेस्लाका पहिलो चरणका स्वचालित ट्याक्सीहरू टेक्ससको अस्टिनमा सुरु गर्ने तयारी छ। मस्कले गत साता टेस्लाका मोडल वाई कारहरु चालकबिनै सञ्चालनको परीक्षण भएरहेको बताएका थिए। “टेस्लाका भविष्यका ९० प्रतिशत उत्पादनहरू चालकरहित वा रोबोटमा आधारित हुन्छन्,“ वेडबुस सेक्युरिटिजका विश्लेषक डान इभ्स भन्छन्। तर मस्कको ध्यान बाँडिएका कारण यो परियोजनाको सफलताको सम्भावना पछि धकेलिएको छ।
मस्क र उनका कम्पनीको भविष्य उनले कति ध्यान दिन्छन् भन्नेमा मात्रै सीमित छैन। त्यो कुरा ट्रम्पको निर्णयमा पनि भर पर्छ। ट्रम्पको चुनावी अभियानको खर्च र प्रचार प्रसार दुवैमा सघाएका मस्कलाई अब ट्रम्पले कस्तो व्यवहार गर्छन् भन्ने प्रस्ट छैन। ट्रम्पले मस्कसँग सम्बन्धित कम्पनीका सरकारी सम्झौताहरू कटौती गर्ने सङ्केत गरिसकेका छन्। अहिले मस्कका कम्पनीहरूले सरकारसँग मिलेर ३८ अर्ब अमेरिकी डलर बराबरका परियोजनाहरू सञ्चालन गरिरहेका ठानिएको छ। त्यसको सबैभन्दा ठूलो हिस्सा मस्कको रकेट कम्पनीलाई जान्छ। त्यसको अर्थ ट्रम्पसँगको मनमुटावले स्पेस एक्सको भविष्यमा पनि असर पर्न सक्छ। यद्यपि ट्रम्पको चेतावनी देखावटी मात्रै हुनसक्ने अनुमान पनि गरिएका छन।
विविसीको सहयोगमा