२०८१ वैशाख २३ गते | 5th of May 2024

बढ्दो अपराध : सर्वेन्द्रको मौनता र खरेलको सम्झना

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज १० गते ८:३७

-सूर्य बस्याल

मंगलबार पोखरामा फेरि एउटा बालिकाको बलात्कारपछि हत्या भयो । अब सायदै कुनै यस्तो बार नहोला, जुन दिन नेपालमा बलात्कार र हत्या नभएको होस । देशनै हल्लाएको कञ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको दुई महिना बित्नै लाग्दा जसरी दिनहुँ त्यही प्रकृतिका अपराधको ग्राफ दिनहुँ बढिरहेको छ त्यसले साँच्चै नेपालमा प्रहरी छ कि छैन, गृह मन्त्रालय कहाँ छ र सरकार के गर्दैछ भन्ने प्रश्न खडा भएको छ । त्यसमा पनि सबैभन्दा प्रमुख प्रश्न भने अहिलेका प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल र उनको नेत्तृत्व क्षमतामाथि उठेको छ ।

सर्वेन्द्र खनाल प्रहरी संगठनकै सबैभन्दा काबिल अधिकृत थिए । जबसम्म उनी अधिकृतमात्रै थिए भन्नुपर्ने अवस्था आएको छ । दिनहुँ देशमा घटिरहेका अपराधको घटना नियन्त्रण गर्न प्रहरी जसरी असफल बनिरहेको छ । त्यसको जिम्मेवारी सर्वेन्द्र खनालकै हो । चाहे प्रहरी कञ्चनपुर घटनामा असफल होस वा प्रहरी पोखरामा घटेका घटना नियन्त्रणमा असफल होस । त्यसको जिम्मेवार खनाल नै बन्नुपर्छ । किनकि प्रहरी संगठनको कमान हातमा लिएका सर्बेन्द्रले किन आफ्नो जिम्मेवारी पूरा गर्न चुकिरहेका छन् भन्ने प्रश्नको जवाफ उनले दिएका छैनन् । ‘सत्य, सेवा, सुरक्षणम’को मूल मन्त्र बोकेको प्रहरी कञ्चनपुर घटनायता सबैभन्दा असत्य, असुरक्षाको प्रतिक बनेको छ ।

सेवाको त कुरै नगरौं । प्रहरी संगठनकै उच्च अधिकारीहरुको अपराधमा संलग्नता, घुस काण्ड र मनोमानीले अहिले प्रहरी संगठनको मुखमा कालो पोतिएको छ । त्यो कालो हटाउने जिम्मा खनालकै हो । तर, खनालको मौनता हेर्दा खनााल कालो हटाउनुभन्दा पनि बरु मुखमा कालै होस कसैले त चिन्दैन भन्ने मनोदशामा छन् कि भन्ने महसुस हुन थालेको छ ।

यी मूल मन्त्रमै प्रहरी संगठन असफल भइरहेकै समयमा सर्बेन्द्र खनाल भने नेपाल प्रहरी दक्षिण एसियामै उत्कृष्ट प्रहरी भएको दाबी गरिरहेका थिए । तर, जनताको नजरमा भने प्रहरी अहिले विश्वकै असफल प्रहरी बनेको छ । सर्बेन्द्र खनाल प्रहरी प्रमुख बनेपछि जनतामा अब प्रहरी संगठन र प्रहरी आचरणमा सुधार हुन्छ कि भन्ने आशा र भरोसा थियो । किनकि उनले विगतमा जसरी प्रहरी संगठनमा रहेर उत्कृष्टकार्य गरेका थिए ।

कुनैबेला ‘सर्बेन्द्र खनाल जहाँ सफलता त्यहाँ’ भन्ने प्रहरी संगठनभित्र चर्चित भनाई थियो । काम र परिणामले उनलाई सफल वनाएको थियो । उनले जिम्मेवारी लिएर गएपछि ठूला अप्रेसन हुनु, चर्चा चुलिनु र पुरस्कृत हुनु सामान्य जस्तै बनेको थियो । समकालीन प्रहरीभित्र इमान्दार, शालिन, मिलनसार, लगनशील र निडर अधिकृतको रुपमाखनालकोको नाम सवैभन्दा अगाडि आउँथ्यो ।

प्रहरीले चाहेमा जस्तो सुकै अपराधलाई नियन्त्रण गरी सुरक्षित र समुन्नत समाज निर्माणमा महत्वपूर्ण सघाउ पुग्न सक्छ भन्ने सर्वेन्द्र खनाल नै अहिले प्रहरीको नेत्तृत्वमा रहँदा बढ्दो अपराधको ग्राफ र उनको मौनता अहिले अत्यासलाग्दो छ । विस २०७२ साल असारमा अपराध महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका खनालले काठमाडौं उपत्यकामा हुने गरेका अपराधहरुको अनुसन्धानमा नयाँशैली र चमत्कारी परिवर्तन देखाएका थिए । संगठित अपराधमा संलग्नलाइ पक्राउ गर्ने, वर्षौंसम्म नसुल्झिएको अपराधमा संलग्नलाइ पक्राउ गर्ने, चर्चित हत्याकाण्डमा संलग्न आफ्नै संगठनका पुर्व अधिकृतलाइ समेत कानुनको कठघरामा उभ्याउने देखि सभासद बनाइदिन्छु भन्दै राजनीतिक म्याच फिक्सिङको आडमा पैसा कमाउन खोज्नेसम्मलाइ पनि पक्राउ गरेर प्रहरी संगठनमा एउटा आइकन बनेका थिए खनाल ।

राष्ट्रिय स्वाभिमानसंग जोडिएको फुटवल खेलमा फष्टाउदो ‘म्याच फिक्सिङ’, पेट्रोल पम्पमा स्वचालित रिमोट कन्ट्रोल, राजनीतिक पार्टीको आडमा गुण्डागर्दीका नाइके कुमार घैटे इनकाउन्टर, नक्कली चिकित्सक पक्राउ, कुख्यात लागूऔषध कारोवारीहरुमाथि कारवाहीले खानलको वाहवाही भएको थियो ।

सरकारकै उच्चतहका कर्मचारीहरुको मिलिमतोमा हुने गरेका घटनाहरुलाई एकपछि अर्को गरी सार्वजनिक गर्ने र घटनामा संलग्न ब्यक्तिलाई पक्राउ गरी कारवाहीको अभियान चलाउने निडर स्वभावका खनाल प्रहरी संगठनको नमूना प्रहरी अफिसरको रुपमा चिनिन्थे । मिडियाका हिरो थिए । खनालले सिक्री लुट्नेदेखि पकेटमारी गर्ने गिरोहसम्मको नेटवर्क तोडेका थिए ।

देशलाई आर्थिक रुपमा खोक्रो बनाउने हुण्डी कारोबारीसम्म उनले त्रास सिर्जना गरेका थिए । यिनै सफलताका कारण उनले प्रहरी संगठनको नेत्तृत्व सहजै पाए उनकै जस्तो चर्चा र ख्याति कमाएका रमेश खरेललाई पछाढि पार्दै । तर, अहिले यी कथा बनेका छन् । अहिले हेर्दा सर्बेन्द्रको नेत्तृत्वमा प्रहरीसंगठन सबैभन्दा निकम्मा बनेको छ । तर, पनि उनी मौन छन् डरलाग्दो आश्चर्य बोकेर । हिजोको त्यो हिरो सर्बेन्द्र खनाल आज किन यति कमजोर बनेको छ । जनताको प्रश्न यही छ अहिले ।

देशमा यति धेरै बलात्कार, हत्या र अपरहणका घट्ना घट्दा हामीले भगवान जस्तै मान्दै आएका प्रहरी आइजीपी सर्बेन्द्र खनाल कुन दुलोमा बसेका छन् ? के गर्दैछन् ? किन यति चुप छन र किन यति कमजोर बनिरहेका छन् ? प्रहरीको आइजीपी मध्ये सबैभन्दा नालायक र असफल सर्वेन्द्र नै हुन् भनेर जनताहरुले बोल्न थालिसकेका छन् र खनालको नियुक्तिसँगै राजीनामा दिएका रमेश खरेललाई सम्झिरहेका छन् । अब खनालजीले राजीनामा दिएर नयाँलाई बाटो खोल्ने हो कि भन्ने आवाज पनि उठिरहेको छ । साँच्चै यति असफल भएर अब नेत्तृत्वमा बस्न मिल्ला र खनालले ? सधै प्रहरी संगठन यसरी नै चल्ला र ? कि प्रहरीको ‘सत्य, सेवा, सुरक्षणम’को मन्त्र नै फेर्ने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *