लस एन्जलस – नेवा समाज अफ साउदर्न क्यालिफोर्नियाद्दारा लस एन्जलसमा ‘योमरी पुन्ही’ को अायोजना गरिएको छ । सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरुको निरन्तरतामा लस एन्जलस क्षेत्रमा अग्रणी स्थानमा रहेको नेवा समाजको यो कार्यक्रमले पनि बिगतदेखी निरन्तरता पाउने गरेको छ । संस्थाका नव-निर्वाचित सभापती बिमल श्रेष्ठको पदबहाली पश्चात पहिलो सामाजिक कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण समुदायलाई अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन ।
आगामी आईतवार अर्थात डिसेम्बर २३ तारिख २०१८ का दिन स्थानिय सेरिटोस पार्कमा आयोजना हुने कार्यक्रममा नेवारी जातीको पर्व योमरी पुन्हीमा ‘योमरी-खाना तथा नेवारी खाना’ को सेवा रहने संस्थाका नव-निर्वाचित महासचिव अमितभक्त श्रेष्ठले जनाएका छन । महासचिव श्रेष्ठकानुसार कार्यक्रम बिहान ११:०० बजेदेखी अपरान्ह ४:०० बजेसम्म आयोजना हुनेछ ।
कार्यक्रमबारे जानकारी :
मिती : 23rd December 2018, Sunday
स्थान : Cerritos Park, East Shelter, No 1
ठेगाना : 13234 E 166th St, Cerritos, CA 90703
समय : 11:00 AM – 4 :00 PM
आग्रहित शुल्क : $ 15.00 Only
नि:शुल्क : Under 5 Yrs.
के हो योमरी पुन्ही ?
योमरी पुन्ही वा योमरी पूर्णिमा हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत नेवार समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार (योमरी )बनाएर खाने गर्दछन । योमरी खाइने भएकोले यसलाई योमरी पुन्ही (योमरी पूर्णिमा) पनि भन्ने गरिन्छ । यहि दिन उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रुपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।

नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार योमरी खाने चलन छ । धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसी,भैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष हो । 
नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मार्ग महिनाको शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमरी पुन्ही भनिन्छ । यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर योमरी पुन्ही मनाउने चलन छ । यस दिन नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरि चढाउने गरिन्छ । 
योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रुपमा परिवारमा बाँडेर खाने चलन छ । यस दिन विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । योमरी पुन्हीका दिनदेखि दिन लामो हुने र योमरीको चुच्चो अनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वाश छ ।