२०८१ वैशाख १५ गते | 27th of April 2024

यस्तो छ भुकम्प पछि सरकारी भवनका पुननिर्माणको अवस्था

खुल्लामन्च
 प्रकाशित: २०७७ असोज २४ गते १४:१२

काठमाडौँ – विसं २०७२ वैशाख १२ गतेको भूकम्प एवं पटक पटकको पराकम्पले क्षति भएका काठमाडौं उपत्यकाका सरकारी भवनमध्ये ११ वटा भवनको पुनर्निर्माण सम्पन्न भएको छ । काठमाडौं उपत्यकाको ललितपुरमा ११ र अन्य जिल्ला एक सय गरी जम्मा एक सय ११ वटा सरकारी भवनको पुनर्निर्माण सम्पन्न भएको हो ।काठमाडौं उपत्यका बाहेकका जिल्लाहरूमा भने सरकारी भवन र स्वास्थ्य चौकी निर्माण कार्य लगभग पुरा भएको छ । मुुलुकको प्रमुख प्रशासकीय निकाय सिंहदरबारको मुल भवनमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका विभिन्न कार्यालयकहरूले छुट्टाछुट्टै स्थानमा रहदा ठाँउको कमि भएको र कतिपय अवस्थामा आपसी संयोजनमा समेत समस्या हुने गरेकाले सिंहदरबारकोे पूर्वीभागको प्रवलीकरण छिटो सम्पन्न गर्नका लागि आवश्यक समन्वय भइरहेको मन्त्रिपरिषद कार्यालयका प्रवक्ता शंकर नेपालले जानकारी दिनुभयो ।

पछिल्लो कार्य प्रगतिका आधारमा सम्झौता सकिने अवधि आगामी फागुन अघि नै प्रवलिकरणको कार्य सम्पन्न हुने अपेक्षा गरिएको प्रवक्ता नेपालले बताउनुभयो । काठमाडौं उपत्यकामा भूकम्पले क्षति भएका सरकारी भवनमध्ये ३५ वटा भवनको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन) अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाई (भवन)लाई दिइएको थियो ।जिल्ला आयोजना कार्यान्वयन एकाई (भवन) ले पुनर्निर्माण गर्ने गरी स्वीकृत प्राप्त भएका ३५ सरकारी भवन मध्ये ११ वटाको पुनर्निर्माण सम्पन्न भएको र काठमाडौं उपत्यकामा निर्माणाधिन बाँकी सबै सरकारी भवनको प्रगतिको अवस्था ५० प्रतिशत भन्दा माथि रहेको र निर्माण कार्य सन्तोषजनक रुपमा अघि बढी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपाल प्रसाद अर्यालले जानकारी दिनुभयो ।

महान्यायाधिवक्ताको कार्यालय भवनको निर्माण कार्य ९० प्रतिशत पुरा भएको छ भने सिंहदरबारस्थित रेडियो नेपालको भवन, सिंहदरबारस्थित नेपाल प्रहरीको व्यारेक, राष्ट्रिय समाचार समिति कार्यालय भवन, मत्स्य विकास निर्देशनालयको भवन, कन्द्रिय कारागार भवन, लोक सेवा आयोगको भवन, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डको भवन, शंकरदेव क्याम्पसलगायतका भवनहरुको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । काठमाडौं बाहिरका जिल्लाहरूमा सरकारी भवनहरूको निर्माणकार्य लगभग सकिसकेको अवस्थामा काठमाडौं उपत्यकामा भवन निर्माणमा किन ढिलाइ भयो भन्ने प्रश्नमा प्रवक्ता अर्यालले काठमाडौंमा ठूला खालका भवन निर्माण गर्नुपर्ने भएकाले लागत र समय दुवै बढी देखिए पनि बाहिरी जिल्लाका तुलनामा प्रगति राम्रो रहेको बताउनुभयो ।

सिंहदरबारको पूर्वी भागको प्रवलिकरण कार्य अन्तिम चरणमा पुगेको छ भने सिंहदरबार पश्चिम भागको प्रवलिकरण शुरु भएको र बबरमहलस्थित सडक विभागको भवन, बालमन्दिर, कानुन पुस्तकालय भवन र केशर पुस्तकालय भवनको प्रवलिकरण भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका उपनिर्देशक राजु न्यौपानेले जानकारी दिनुभयो ।भवनको अभावमा सडक विभागले यान्त्रिक तालिम केन्द्र, ललितपुरमा पुराना भवन, केही प्रिफ्यावका घरहरु र ग्यारज प्रयोग गरेरे दुःखजिलो कार्यालय सञ्चालन भइरहेको विभागका महानिर्देशक केशव कुमार शर्माले जानकारी दिनुभयो ।

सुरुमा पुनर्निर्माण गर्ने वा प्रवलिकरण गर्ने भन्ने विषयको टुङ्गो लाग्न नसक्दा निर्माण कार्य केही ढिलो भए पनि पछिल्लो समय कारोना भइरसको सन्त्रासकाबीच सुरक्षा मापदण्ड अवलम्बन गरेर चालु आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी प्रवलिकरण भइरहेको महानिर्देशक शर्माले बताउनुभयो । सिंहदरबारस्थित रेडियो नेपालको भवन निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ भने  पुनर्निर्माण सम्पन्न भएका सरकारी कार्यालयमा यातायात व्यवस्था कार्यालयको भवन एकान्तकुना, जिल्ला पशु सेवा कार्यालय जावलाखेल, जिल्ला वन कार्यालय गोदावरी, महानगरी प्रहरी प्रभाग लगनखेलको महिला बन्दी गृह, जिल्ला प्रशासन कार्यालयको आवास भवन मानभवन, जिल्ला कृषि विकास कार्यालय गोटीखेल, क्षेत्रीय सिञ्चाइ निर्देशनालय गोदावरी, क्षेत्रीय पशु निर्देशनालय लगनखेल, वनस्पति उद्यानको भवन गोदावरी, राजश्व प्रशासन तालिम केन्द्रको भवन हरिहरभवन, जिल्ला कारागार कार्यालय नख्खुको कार्यालय भवन, कारागार नख्खुको सिआरसी र डिआरसी भवन रहेका आयोजना प्रमुख चन्द्रकाजि गुरुङले जानकारी दिनुभयो ।

जिल्लामा भूकम्पले कति सरकारी कार्यालयमा क्षति पुग्यो भन्ने तथ्याङ्क भने कार्यालयमा नरहेको आयोजना प्रमुख गुरुङले बताउनुभयो ।भक्तपुरमा जुद्ध वारुण यन्त्रको भवन निर्माण कार्य भइरहेको र हालसम्म ६ वटा एकीकृत वस्ती विकास सम्पन्न भएको र चालु आर्थिक वर्ष चार वटा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गर्ने लक्ष रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ भक्तपुरका महालक्ष्मी जोशीले जानकारी दिनुभयो ।भुकम्पले पूर्ण रूपमा क्षति भएका ५ सय ४४ स्वास्थ्य चौकी मध्ये १ सय वटाको निर्माण शुरु भएकोमा १३ वटा स्वास्थ्य चौकी भवनको निर्माण सम्पन्न भएको छ । काठमाडौं उपत्यकामा निर्माण गर्नुपर्ने २५ स्वास्थ्य चौकी भवन मध्ये ललितपुरमा ४ वटा स्वास्थ्य चौकी भवनको निर्माण कार्य सम्पन्न भएको छ ।

स्वास्थ्य चौकी भवन निर्माणमा जग्गा व्यस्थापनमा जटिलता देखिएका कारणले काठमाडौंमा स्वास्थ्य चौकी भवन निर्माणमा केही चुनौति देखिएको प्राधिकरणका प्रवक्ता गोपाल प्रसाद अर्याल बताउनुहुन्छ ।चालु आर्थिक वर्षमा काठमाडौं जिल्लामा दक्षिणकाली, धर्मस्थली, लप्सेफेदी, पुकुलाछी, इन्द्रायणी, साँख र नयाँपाटी स्वास्थ्य चौकी भवन गरी ७ वटा स्वास्थ्य चौकी भवन निर्माण प्रक्रिया अघि बढाइएको जिल्ला आयोजना कार्यान्वयन एकाइ काठमाडौंका प्रमुख सुदिप आचार्यले जानकारी दिनुभयो ।

ललितपुर जिल्लाका ग्रामीण भेगमा क्षति पुगेका स्वास्थ्य संस्थाको पुनर्निर्माण हुन नसक्दा स्थानीयवासी गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् ।जिल्लाका ११ स्वास्थ्य संस्थामा भूकम्पले क्षति भएकोमा ४ वटाको. मात्र निर्माण सम्पन्न भएको छ । क्षति भएकामध्ये सबैजसो ललितपुरको ग्रामीण भेगका स्वास्थ्य संस्था छन् । जमिनको लाल पूर्जा नभएका कारण ललितपुर जिल्लाका सातवटा स्वास्थ्य संस्था निर्माणमा अझै चुनौति रहेको छ ।
स्वास्थ्य संस्थाकै नाममा लालपूर्जा भएको जग्गा नभएकाले पुनर्निर्माण अघि बढ्न नसकेको जिल्ला आयोजना कार्यान्वयन एकाई (भवन) का आयोजना प्रमुख चन्द्रकाजी गुरुङले जानकारी दिनुभयो ।स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्डमा १२ हजारदेखि १५ हजारसम्मको जनसङ्ख्यालाई स्वास्थ्य सुविधा दिने प्राथमिक स्वास्थ्य केन्द्रका लागि सात रोपनी, १२ हजारसम्मको जनसङ्ख्यालाई स्वास्थ्य सेवा दिने स्वास्थ्य चौकी भवनका लागि चार रोपनी, सात हजारदेखि १२ हजारसम्मको जनसङ्ख्यालाई दुई रोपनी, तीन हजारदेखि सात हजारसम्मको जनसङ्ख्यालाई डेढ रोपनी र तीन हजारसम्मको जनसङ्ख्यालाई स्वास्थ्य सुविधा दिने स्वास्थ्य चौकीका लागि एक रोपनी जग्गा चाहिने उल्लेख छ ।

२०७२ बैशाख १२ गते शनिबारका दिन गोरखा जिल्ला केन्द्रबिन्दू पारेर गएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पको धक्का र बैशाख २९ मा गएको ७.३ रेक्टर स्केल लगायतका पराकम्पहरूले नेपालमा धेरै जनधनको क्षति पु¥यायो । भूकम्पमा परी ८ हजार ७ सय ९० जनाले ज्यान गुमाए भने २२, ३०० भन्दा बढी घाइते भए । झण्डै ८ लाख निजी घर भत्केको वा क्षति भएको देखियो । २६५६ सरकारी भवनहरूमा ठूलो क्षति र ३६२२ सरकारी भवनमा आंशिक रूपमा क्षति भयो । केन्द्र तथा जिल्लास्तरमा गरी २ सय ३० सरकारी भवनहरु पूर्णरुपमा क्षति पुगेकोमा काठमाडौं उपत्यका बाहेकका स्थानहरूमा सरकारी भवनको निर्माण प्राय सम्पन्न भएकोले अव उपत्यकामा निर्माणहुन बाँकी भवनको निर्माण छिटो सम्पन्न गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

भूकम्पपछिको पुनर्निर्माणमा निजी घर, पुरातात्विक सम्पदा, सरकारी भवन, स्वास्थ्य चौकी, विद्यालयलगातको भवन निर्माणमा सरकारी भूमिका महत्वपूर्ण र प्रभावकारी देखिए पनि निजी तर्फ बनेका आधुनिक एवं साना दुई कोठे घरहरूले भने पुरानो शैलीमा निर्माण हुने ढुङ्गामाटोका घरहरूलाई विस्थापित गरेको र दुई काठाका घरले व्यक्तिको आवश्यकतालाई पनि सम्वोधन नगर्ने हो कि भन्ने चिन्ता भने रहने गरेको पाइन्छ ।( अच्युत अर्याल वाट )

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *