२०८१ वैशाख २० गते | 2nd of May 2024

यसरी हुदैछ राजकुमार फिलिपको अनत्येष्टि

खुल्लामन्च
 प्रकाशित: २०७७ चैत २९ गते १५:०४

लण्डन-   शुक्रवार ९९ वर्षको उमेरमा निधन भएका महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कारका लागि तयारी भइरहेको छ। अन्तिम संस्कारको औपचारिक शाही समारोह शनिवार एप्रिल १७ का दिन विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्ज च्यापलमा हुनेछ। टेलिभिजनमार्फत् उक्त समारोह देखाइनेछ। राजकुमार फिलिपले आफ्नो अन्तिम संस्कारका बेला धेरै कोलाहल नगर्न अनुरोध गरेको बताइएको छ। उनको शवपेटिकालाई सर्वसाधारणहरूले हेर्न पाउनेगरी राखिनेछैन। बरु त्यसलाई अन्तिम संस्कारको दिनसम्म विन्डसर कासलको निजी च्यापलमा राखिनेछ। अन्तिम संस्कारको औपचारिक शाही समारोह एप्रिल १७ का दिन विन्डसर कासलको परिसरमा अवस्थित सेन्ट जोर्ज च्यापलमा हुनेछ ड्यूकको शवपेटिकामा उनको निजी झण्डा ओढाइनेछ। उक्त झण्डाले उनको ग्रीक धरोहरदेखि ब्रिटिश राजपरिवारसम्मको उनको नाता प्रतिविम्बित गर्नेछ।

शवपेटिकामा पुष्पगुच्छा पनि राखिएको छ। तात्कालिक राजकुमारी एलिजाबेथसँग विवाह गर्ने क्रममा सन् १९४६ मा फिलिपले आफ्नो ग्रीक पदवी त्यागेर ब्रिटिश नागरिक बनेका थिए। त्यस क्रममा उनले आफ्नी आमाको थरलाई पारिवारिक नाम ब्याटनबर्गको अङ्ग्रेजीकरण गर्दै माउन्टब्याटन गराएका थिए। शवपेटिकामा जलसेनाको उनको टोपी र खड्ग पनि राखिनेछ। औपचारिक रूपमा हुने ड्यूकको अन्तिम संस्कार राजकीय भने हुनेछैन।

राजकीय अन्तिम संस्कार विशेषतः राजगद्दी प्रमुखका लागि हुने गरेको भए पनि यसअघि युद्धकालीन समयका प्रधानमन्त्री विन्स्टन चर्चिललाई पनि उक्त सम्मान दिइएको थियो। कोरोनाभाइरसका प्रतिबन्धका कारण अन्तिम संस्कारमा सहभागी हुने व्यक्तिको सङ्ख्या यसअघिको भन्दा निकै कम गरिएको छ।यद्यपि राजदरबारले त्यसमा ड्यूकको ‘इच्छा झल्किने’ तर पनि त्यसमा उनको सार्वजनिक सेवा जीवनको ‘उत्सव र झल्को’ मिल्ने जनाएको छ।

अन्तिम संस्कार हुने दिन उनको शवपेटिकालाई निजी च्यापलबाट विन्डसर कासलको राजकीय प्रवेशद्वारमा सारिनेछ। छोटो दूरी भए पनि सेन्ट जोर्ज च्यापलसम्म ड्यूक आफैँले त्यसलाई परिमार्जनसहित डिजाइन गर्न सघाएको ल्यान्ड रोभर कारमा राखेर लगिनेछ। शवयात्रा आठ मिनेटको हुनेछ। त्यसमा त्यहाँ जनसेना र अन्य रेजिमेन्टहरू पनि सहभागी हुनेछन्। शवयात्रामा प्रिन्सेस अफ वेल्स राजकुमार चार्ल्ससहित राजपरिवारका सदस्यहरू सहभागी हुनेछन्। तर महारानी भने छुट्टै च्यापलसम्म पुग्नेछिन्।

अन्तिम संस्कारका बेला सैन्य तोप पड्काइनुका साथै कर्फ्यूको घण्टी बजाइनेछ। राष्ट्रिय गीतसहित गार्ड अफ अनर दिइनेछ।कोरोनाभाइरससम्बन्धी प्रतिबन्धहरूका कारण इङ्ग्ल्यान्डमा सामाजिक दूरी कायम गर्दै ३० जना मानिसहरू मात्र एक ठाउँमा भेला हुन पाउँछन्।

राजकुमार फिलिपको अन्तिम संस्कारमा सहभागी हुने परिवारजन वा आमन्त्रित व्यक्तिको विवरण अझै सार्वजनिक नगरिएको भए पनि अन्तिम संस्कारका बेला सहभागी हुने मण्डली र सैनिकहरूलाई उक्त सङ्ख्यामा गणना गरिनेछैन। उनका नाति राजकुमार ह्यारी उक्त समारोहमा सहभागी हुनेछन् तर गर्भवती रहेकी उनकी श्रीमती मेगन भने चिकित्सकहरूको सल्लाहमा अमेरिकाबाट आउनेछैनन्।

कोभिडसम्बन्धी नियमका बीच राजपरिवार परिवारका सदस्यहरू यथाशक्य अधिक सङ्ख्यामा सहभागी हुन सकून् भनेर प्रधानमन्त्री बोरिस जोन्सन भने सहभागी नहुने डाउनिङ स्ट्रीटले जनाएको छ। संयुक्त अधिराज्यमा चलिरहेको राष्ट्रिय शोकको अवस्था अन्तिम संस्कार पनि अन्त्य हुनेछ। सबै सरकारी भवनहरूमा सङ्घ र राष्ट्रिय झण्डाहरू आधा झुकाइनेछ। महारानी नबस्ने राजभवनमा पनि झण्डा आधा झुकाइनेछ। राजपरिवारले दुई साताको शोक मनाउनेछ। तर राजपरिवारका सदस्यहरू अन्य गतिविधिमा सहभागी हुन सक्छन्। उनीहरूले आवश्यकताअनुसार शोक झल्किने कालो रङ्गको पहिरन लगाउनेछन्।

राजकुमार फिलिपप्रति सम्मान प्रकट गर्न इङ्ग्ल्यान्ड, स्कटल्यान्ड र वेल्सका मुख्य राजनीतिक दलहरूले अर्को महिना हुने चुनावको प्रचारप्रसार कार्यक्रम अस्थायी रूपमा रोकेका छन्। ( बिबिसी )

Leave a Reply

Your email address will not be published. Required fields are marked *