२०८१ वैशाख २१ गते | 3rd of May 2024

अर्थमन्त्रीको श्वेतपत्र : अध्यादेशमार्फत आएको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक चाँडै ल्याईने

खुल्लामन्च
 प्रकाशित: २०७८ साउन २६ गते १४:१६

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले   मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ गराउँदै अध्यादेशमार्फत आएको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक चाँडै ल्याउने बताएका छन्।   वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा रहेका छन भन्ने विषयमा तथ्याङ्कीय झलक प्रस्तुत गरिएको उनले बताए। अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने बताउँदै कोभिड १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गरे। मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेको जानकारी दिए। उनले हालसम्म करिब १ करोड डोज खोप नेपाल भित्रिएको तथ्याङ्क पनि प्रस्तुत गरेका छन्।

अर्थमन्त्री शर्माले अघिल्लो सरकारले अर्थतन्त्रको संरचनामा परिवर्तन गर्न नसकेको बताएका छन् । अघिल्लो सरकारले २०७४ मा जारी गरेको आँकडा र अहिलेको आँकडलाई तुलना गर्दै  उनले अर्थतन्त्रको संरचनामा परिवर्तन हुन नसकेको बताएका हुन् ।  अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७३/७४ को कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग एवम् सेवा क्षेत्रको योगदान क्रमशः २६.८ प्रतिशत, १४.६ प्रतिशत र ५८.६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा यी क्षेत्रहरुको योगदान क्रमशः २५.८ प्रतिशत, १३.१ प्रतिशत र ६१.१ प्रतिशत रहने अनुमान  भएको उल्लेख गरे । यसबाट अर्थतन्त्रको संरचनामा उल्लेखनीय परिवर्तन नआएको प्रष्ट हुने उनको भनाइ छ । “आर्थिक समृद्धिको प्रमुख आधारको रूपमा रहेको औद्योगिक क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनमा न्यून रहनु र त्यसमा पनि उत्पादनमूलक उद्योगको योगदान हाल ५.१ प्रतिशत मात्र हुनुले अर्थतन्त्रको आधार कमजोर रहेको समेत जनाउँछ,” अर्थमन्त्री शर्माको श्वेतपत्रमा भनिएको छ, “दिगो आर्थिक वृद्धिको आधार उत्पादनमूलक औद्योगिक क्षेत्रको विस्तार हुनुपर्नेमा यसतर्फ ठोस प्रगति हुन सकेको छैन ।”

उनले थपे, “उत्पादनशील क्षेत्रमा आन्तरिक तथा बाह्य लगानीको अपर्याप्तता, उत्पादनमुखीभन्दा व्यापारकेन्द्रित लगानी, उच्च उत्पादन लागत, सरकारको पुँजीगत खर्च गर्ने क्षमतामा कमी, आर्थिक वृद्धि र रोजगारी सिर्जनाबीचको कमजोर सम्बन्ध, आर्थिक वृद्धिको लाभका असमान वितरण, अनौपचारिक क्षेत्रको हिस्सा नघट्नुजस्ता समस्या अर्थतन्त्रमा लामो समयदेखि रहँदै आएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *