काठमाडौ – उद्योग विभागमा २०८१ फागुनसम्म ९ हजार ९ सय ६३ उद्योग दर्ता भएका छन् । सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण २०८१/८२ का अनुसार उद्योग विभागमा २०८१ फागुनसम्म ९ हजार ९ सय ६३ उद्योग दर्ता भएको उल्लेख गरिएको छ । उद्योग विभागमा दर्ता भएका उद्योगमध्ये ठुला १५ प्रतिशत, मझौला २२ प्रतिशत र साना उद्योगको ६३ प्रतिशत हिस्सा रहेको छ । पछिल्लो अवधिमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी साना उद्योगको हिस्सा बढी देखिएको छ । ठुला उद्योगहरूमा भन्दा पनि साना उद्योगमा लगानी गरी दर्ता गर्ने बढेको आर्थिक सर्वेक्षणले देखाएको छ ।
चालु आर्थिक वर्षको फागुनसम्मको अवधिमा कुल स्वीकृत लगानी ३२ खर्ब ४८ अर्ब ७ करोड रहेको छ । आर्थिक सर्वेक्षणका अनुसार ठुला ८३ प्रतिशत, मझौला १० प्रतिशत र साना उद्योगको ७ प्रतिशत हिस्सा रहेको छ । फागुनसम्म दर्ता भएका करिब १० हजार उद्योगबाट २०८१ फागुनसम्म ७ लाख ३१ हजार ५ सय ६० रोजगारी सिर्जना हुने अनुमान सरकारले गरेको छ । उद्योग विभागका अनुसार पछिल्लो पाँच महिनामा मात्रै २६८ नयाँ उद्योग स्थापना भएको छ । जसमध्ये माघ महिनामा ४९,फागुनमा ५२,चैतमा ४९,वैशाखमा ६९ र जेठमा ४९ उद्योग स्थापना भएका छन् । २०८२ लागेसँगै उद्योग दर्ता बढेको देखिन्छ । वैशाख महिनामा मात्रै ६९ उद्योग दर्ता भएर वैशाख र जेठ महिनामा मात्रै ११८ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षमा फागुनसम्म उद्योग विभागमा थप ४ सय ३८ उद्योग दर्ता भई १ खर्ब ७१ अर्ब ३६ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । यस्ता उद्योगको सञ्चालनबाट २३ हजार ६४ रोजगारी सिर्जना हुने अनुमान रहेको छ ।उद्योग विभागमा दर्ता भएका जम्मा ४ सय २७ परियोजनामा ४४ अर्ब ६६ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ । २०८१ फागुनसम्म उद्योग विभागमा दर्ता भएका ६ हजार ९ सय ८२ परियोजनामा ५ खर्ब ८० अर्ब ८४ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको देखिएको छ ।आर्थिक सर्वेक्षण अनुसार २०८१ फागुनसम्म दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै उत्पादनमूलक उद्योगमा ३५.८४ प्रतिशत हिस्सा रहेको छ । त्यस्तै, सेवामूलक २५.७९ प्रतिशत र पर्यटन उद्योगको २३.१० प्रतिशत हिस्सा रहेको छ । सबैभन्दा न्यून भने पूर्वाधारसम्बन्धी उद्योगको ०.७६ प्रतिशत रहेको छ ।
फागुनसम्म लगानीका आधारमा ऊर्जामूलक उद्योगमा ५६.५५ प्रतिशत, उत्पादनमूलक उद्योगमा २०.९६ प्रतिशत, पर्यटनमूलक उद्योगमा ९ प्रतिशत र सबैभन्दा न्यून खनिज उद्योगमा ०.२९ प्रतिशत लगानी स्वीकृत भएको छ । त्यस्तै गत फागुनसम्म स्वीकृत वैदेशिक लगानीमध्ये सेवामूलक क्षेत्रमा २९.३ प्रतिशत, ऊर्जामूलक क्षेत्रमा २५.५, पर्यटन क्षेत्रमा २४ र उत्पादनमूलक क्षेत्रमा १४ प्रतिशत लगानी रहेको छ। खनिज क्षेत्रका उद्योगमा सबैभन्दा न्यून १.५ प्रतिशत विदेशी लगानी स्वीकृत भएको छ ।
२०८१ फागुनसम्म विदेशी लगानी स्वीकृत भएका परियोजनामध्ये कुल लगानीका आधारमा सबैभन्दा बढी लगानी चीनको ४४ प्रतिशत र भारतको १९.४ प्रतिशत रहेको छ। यसैगरी स्वीकृत लगानी सङ्ख्याका आधारमा समेत सबैभन्दा बढी चीनको ४०.९ प्रतिशत र भारतको १२.६ प्रतिशत रहेको छ ।